‘कोभिडबिरुद्धको खोप छिटो आओस भनेर हामीले सबै विकल्प खुल्ला गरेका छौँ’

डा. तारानाथ पोखरेल – निर्देशक,  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा

कोरोना खोपसंग धेरै नै जोडिएर आउने विषय बनेको छ ‘कोभ्याक्स सुविधा,’ यो खासमा के हो ? यसले नेपालमा खोप पठाउन कसरी काम गरेको छ ?

कोभिड -१९ महामारी शुरु भएपछि विभिन्न देशका एजेन्सीहरु खोपको अनुसन्धान तथा निर्माणमा लागेका थिए । खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरीब देशहरुले समुचित रुपमा पाउन भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाहरुको सहकार्यमा बनेको गाभी एलायन्सको अगुवाईमा कोभ्याक्स एसोसिएसन निर्माण गरेको हो । कोभ्याक्स सुविधा अन्तरगर्त नेपाल सहित संसारमा ९० भन्दा बढी मुलुकले खोप सुविधा लिदैछ ।

कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले कति खोप पाउँदैछ ? कहिले पाउँदैछ ?
कोभ्याक्स सुविधा अन्तरगत नेपालले कुल जनसंख्याको २० प्रतिशत अर्थात ६० लाखका लागि दुई डोजका दरले करीब १ करोड २० लाख डोज खोप निशुल्क रुपमा पाउने छ । यसमा करीब १० देखि १५ प्रतिशत खेरजाने अनुमान गर्दै कोभ्याक्सले थप १८ लाख भाइल खोप थपेर पठाउनेछ । यसहिसावले झण्डै १ करोड ३८ लाख भाइल खोप हामीले पाउनेछौँ ।
हामीले कोभ्याक्स सुविधा अन्तरगर्त ३ लाख ४८ हजार भाइल कोभिसिल्ड खोप पाइसकेका छौँ । गत फागुनको तेस्रो साता सो परिमाणको खोप हामीकहाँ आइसकेको छ । हामीले त्यसबेला १९ लाख २० हजार भाइल खोप पाउने भनिएको थियो । तर हामीकहाँ पठाउने कोभिसिल्ड खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने भएका, माग अनुसार उत्पादन हुन नसक्दा र धेरै देशहरुमा बाढ्नु पर्ने भएकोले थोरै थोरै गरी पठाएको कोभ्याक्सले हामीलाई भनेको छ ।

यतिवेला नेपालमा खोपको निकै माग छ । पहिलो डोज लगाएका ६५ बर्ष माथिका व्यक्तिले दोस्रो डोज लगाउन पाएका छैनन् । कोभ्याक्स सुविधाको खोप अब कहिले आउँछ ?

कोभ्याक्सले हामीलाई कोभिसिल्ड खोप नै दिने भनेर सेरमसंग सम्झौँता गरेको थियो । सोही अनुसार पहिलो चरणमा केही खोप आएको पनि हो । तर बीचमा फेक्ट्रीमा आगलागी भयो, भारतमै महामारीको अवस्था बढी देखियो । सेरमले उत्पादन क्षमता बढाउन सकेन । कोभ्याक्स अन्तरगर्त नै संसारका धेरै देशमा खोप दिनुपर्ने भयो । त्यसले माग पनि अति बढी भयो । हामीले शुरुमा १९ लाख २० हजार भाइल खोप पाउनुपर्नेमा ३ लाख ४८ हजार मात्रै प्राप्त भयो ।अहिले भारतमा महामारी बढेको र सरकारले खोप निर्यातमा प्रतिवन्ध लगाएको अवस्था छ । त्यसैले भारतबाट स्न २०२१ मा खोप पाउने अवस्था कम हुँदै गएको छ । त्यसले कोभ्याक्सले अरु खोप उपलव्ध गराउने तर्फ तयारी गर्दैछ ।

भनेपछि कोभ्याक्सले अब कोभिसिल्ड खोपको सट्टा अरु खोप नै पठाउने हो ?
हो, त्यस्तो सम्भावना बढी देखियो । किनभने कोभ्याक्सले तत्काल कोभिसिल्ड आउने सम्भावना कम भएको भन्दै अरु कुन खोप तपाईँहरुका लागि उपयुक्त हुन्छ भनेर हामीलाई प्रस्ताव राखेको अवस्था छ ।

कुन कुन खोपहरु प्रस्ताव गरेको छ ?
फाइजर, मर्डना, जोन्सन एण्ड जोन्सन, भेरोसेल, एस्ट्राजेनेकाको अरु देशमा उत्पादन भएका खोपहरु छ । फाइजर हाम्रो लागि त्यति उपयुक्त होइन । माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकोले । मर्डना माइनस २० डिग्री तापक्रममा भएकोले थोरै थोरै यो सकिन्छ कि भन्ने छ । अरु विकल्प नहुने र मर्डना पाउने अवस्था भयो भने हामीले नाई भन्दैनौँ । भेरोसेल दियो भने त राम्रै भयो । जोन्सन एण्ड जोन्सन पनि हाम्रो लागि उपयुक्त खोप हो ।

हामीले प्राथमिकता निर्धारण गरी खोपहरु रोजेका छैनौं ?
कोभ्याक्सले तत्कालका लागि कोभिसिल्ड नआउने भयो अरु खोप रोज भनेर जानकारी गराएकोले भर्खरै हो । केही दिन मात्रै भयो इमेल आएको । हामीले छिटै नै जवाफ दिदैछौँ ।

कोभ्याक्सले खोप रोज्न पठाए पनि यो सबै प्रक्रिया टुंगिएर खोप आउन त निकै ढिलाई होला नि ? हामीले कोभ्याक्स पर्खिएर मात्रै बस्ने कि ? खोप ल्याउने अरु विकल्पमा पनि सोच्ने ?
खोप ल्याउनका लागि हामीले सबै विकल्प खुल्ला गरेका छौँ । डोनेसन आउनेलाई पनि छिटो ल्याउनका लागि पहल गरेका छौँ । खरीदका लागि पनि हाम्रो प्रक्रिया अघि बढेको छ । खरीदका लागि सरकारले बजेटको व्यवस्था गरेको छ । हाम्रो तह भन्दा माथिल्लो तहबाट अर्थात उच्चस्तरीय संयन्त्रबाट नै पहल भइरहेको छ । विभागले पनि प्रयास गरेको छ । कुटनीतिक निकायबाट पनि त्यसको प्रयास भइरहेको छ । व्यक्ति फर्म र कम्पनीहरुले पनि प्रयास गरेका छन् । त्यसैले खोप आउन अव ढिलाई नहोला कि ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *