‘बालबालिकामा संक्रमणको जोखिम बढ्यो, स्कुल तत्काल बन्द गरौँ’

डा. आरपी बिच्छा निर्देशक, कान्ति बाल अस्पताल
कोरोना संक्रमणको दोस्रो लहर आएको र यसमा बालबालिका अर्थात कम उमेरका व्यक्तिहरु बढी संक्रमित भएको भन्ने सुनिएको छ, कान्तिमा संक्रमित बालबालिकाको चाप कस्तो छ ?

कान्तिबाटै शुरु गरौँ, अहिलेसम्म हामीकहाँ २२ जना भर्ना भए । अहिले हामीकहाँ दुई जना संक्रमित बालबालिकाको उपचार भइरहेको छ । एक जनाको भने चार दिन अघि मृत्यु भयो । दोस्रो लहरको संकेत भनिएको पनि एक डेढ साता त भयो । तर यो बीचमा संक्रमणमा बालबालिकाको संख्या गतवर्ष भन्दा निक्के बढी छ । संक्रमितहरु अहिले अस्पतालमै आइ नपुगेको हुनसक्छ तर पोजेटिभ दर बढी भइसकेको छ ।

संक्रमणदर पहिले भन्दा बढी भनेको कस्तो थप प्रस्ट्याउनुस न ?

गतवर्ष कोरोना संक्रमण पीक अवस्थामा पुग्दा पनि बालबालिकामा संक्रमण दर निकै न्युन थियो अर्थात ३.७ प्रतिशत थियो । पछिल्लो साताको मात्रै संक्रमणदर हेर्ने हो भने १७ बर्ष मुनिका बालबालिकाको संक्रमणहुने दर डरलाग्दो अवस्थामा छ । दुई साताको तथ्यांक हेर्ने हो भने कहिले १८ प्रतिशत, कहिले १७ प्रतिशत कहिले ९ प्रतिशत कहिले ८ प्रतिशत अर्थात औषतमा १० प्रतिशत भन्दा माथिनै छ । कहिले आजै पनि कुल संक्रमितमध्ये ५२ जना त १७ बर्ष मुनिका छन् । हिजो अस्ती यो दर अझ बढी थियो ।

कोरोना संक्रमण यसपटक बालबालिकामा किन बढ्यो ?
अहिले कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ । त्यसले हुनसक्छ कम उमेरका बालबालिका संक्रमण र असर बढी गरेको छ । फेरी बालबालिकामा लक्षण खास देखिएको छैन् । यसले संक्रमण बढी फैलने अवस्था पनि सिर्जना गर्दछ । अर्को कुरा सबै स्कुलहरु चलेकै छ । त्यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनसकेको छैन् । यो संक्रमण हुने नै भिडभाडबाट हो । त्यसैले पनि स्कुल कलेजहरु अहिले संक्रमण बढाउने माध्यम पनि हुनसक्छ ।

संक्रमणमा परेका बालबालिका गम्भीर अवस्थामा पुग्ने सम्भावना कति हुन्छ ?

तपाईँ हामीले बुझ्नुपर्ने कुरा के भने बालबालिकाको इम्युनिटी पावर कम हुन्छ । यसले स्वास्थ्य अवस्था गम्भीर हुने सम्भावना बढी नै हुन्छ । अर्थात इम्युनिटी कम हुँदा मोटालिटी चान्स हाई हुन्छ । यस तर्फ हामी सबै गम्भीर हुनुपर्छ ।

यो जोखिमबाट बालबालिकालाई जोगाउने कसरी ? तत्काल कसले के गर्ने ?
मैले के भन्छु भने अहिले जसरी स्कुल कलेजहरु सञ्चालन भएको छ । त्यसलाई तत्काल बन्द गरौँ । पढाई बन्द होइन स्कुल तथा कलेज जाने व्यवस्था रोकौँ । अर्थात पहिले जस्तै हामीले घरमै अनलाइन विधिबाट पढाई गरौँ । यो निर्णय लिन सरकारले ढिलाई नगरोस । किनभने अहिले भिडभाड हुने स्कुल कलेजहरुमै हो । लक्षण विना नै संक्रमण हुने र फैलने खतरा रोक्न यो गर्नै पर्छ । पढाई र परीक्षा केही ढिलाई भएपनि हुन्छ । तर संक्रमण नियन्त्रणमा ढिलाई गरियो भने यो भयावह बन्न सक्छ । पछि हामीले पछुताउनु भन्दा समयमै बुद्धि पुर्‍याउँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *