अनमीहरुको गुनासो- ‘तोकिए अनुसार’ नै सेवा गर्‍यौं तर अध्ययन् विदा पाइएन

काठमाडौँ, २० चैत ।  प्रतिभा ढकालले अनमी पदमा स्थायी भएर सरकारी सेवा गर्न थालेको चार बर्ष पुग्यो । उनी अहिले पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र स्याङ्जामा कार्यरत छिन् । सरकारी सेवामा छिर्दै गर्दा उनले बुझेकी थिइन्, तीन बर्ष काम गरेपछि अध्ययन विदा पाइन्छ । सोही अनुसार उनले गतवर्ष नै अध्ययन प्रक्रियामा सहभागी हुने सोच बनाएकी थिइन तर त्यसैबेला देशमा कोरोना महामारी देखा प र्‍यो । उनले अध्ययन गर्ने सोच स्थगित गरिन र सेवामा निरन्तर खटिइन । यसपटक भने उनले पोहोर स्थगित गराएको सोच अर्थात व्याचलर इन नर्सिङ (विएनएस) पढने योजनालाई पुनस्र्थापित गरिन । कलेज तथा प्रतिष्ठानहरुले प्रवेश परीक्षाका सूचनाहरु निकाल्न थालेपछि उनी पनि पूर्व योजना अनुसार नै अध्ययन् विदा स्वीकृति गराउने प्रक्रिया तर्फ लागिन् । तर यतिवेला आएर थाहा भयो कि अब अध्ययन विदा पाइदैन् ।

‘गतवर्ष पुस देखिनै यो सिस्टम काटिएको छ । अब पढ्न चाहने सरकारी कर्मचारीले असाधारण विदा लिनुपर्छ । त्यसमा सेवा अवधी गणना हुँदैन् । मन्त्रालयका अधिकारीहरुले यस्तो भनेपछि मात्रै हामी अन्यायमा परेको थाहा पायौँ,’ अनमी ढकालले गुनासो पोखिन् ।

यता चापाकोट अस्पताल स्याङजामा अनमी पोष्टमा कार्यरत स्टाफनर्स सुस्मिता ज्ञवालीको पनि समस्या उही नै हो । ‘पहिले देखि नै तीन बर्ष सेवा गरेपछि वेतलवी अध्ययन विदा पाइन्छ भन्ने थियो । त्यहि हिसावले हामीले दुर्गम ठाँउमा पनि गएर चौविसै घण्टा सेवा दिइरहेका थियौँ । तर अहिले त सुटुक्क विदा काटिएछ । हामीलाई बल्ल पो थाहा भयो । यो त साह्रै अन्याय भयो,’ उनले भनिन् ।

यता तसर्पु हेल्थपोष्ट धादिङकी अनमी रञ्जना गिरीको पनि भनाई उही छ । ‘हामीलाई अन्याय भयो । हामीले सरकारी सेवामा काम गरेर आफ्नो दक्षतालाई अपग्रेड गर्न चाहेका थियौँ । त्यो सुविधा हाम्रा सबै सिनियरहरुले लिनु पनि भयो तर हाम्रो पालामा आएर रोकिएको भन्ने जानकारी दिइएको छ । यसले त सयौँ हामी जस्ता दुर्गम क्षेत्रमा समेत गएर चौविस घण्टे सेवा दिने स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको छ । हामीले पढेका बखत तलव मागेका थिएनौँ । बेतलवी तर सेवामा कार्यरत रहेको कारण अवधी गणना होस भन्ने मात्रै चाहेका थियौँ । त्यो अहिले छैन भन्छ मन्त्रालय । यसरी त कसरी न्याय भयो त ?’ प्रतिप्रश्न गर्दै उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयले यसो भन्छ …….

यता स्वास्थ्य मन्त्रालयले भने अनमी तथा नर्सहरुको विषयमा आफू गम्भीर रहेको बताएको छ । मन्त्रालयका सहसचिव दामोदर रेग्मीले भर्ना प्रक्रिया चिकित्सा शिक्षा आयोगले शुरु गरेपछि केही समस्या देखिएको सुनाए । उनले आयोगले सरकारी सेवामा कार्यरत अनमी तथा नर्सहरुको लागि कोटा निर्धारण नगर्दा समस्या भएको स्पष्ट पारे ।

‘अनमी तथा नर्सहरुले हामीलाई यो कुरा जानकारी गराईसक्नु भएको छ । समस्या के हो भने आयोगले सरकारी अनमी तथा नर्सका लागि भनेर कोटा छुट्याएन । यदि कोटा छुट्याइएको भए पूर्व स्वीकृति लिएर प्रवेश परीक्षामा भाग लिनसक्नु हुन्थ्यो र पनि मन्त्रालयले यो समस्या समाधानका लागि आयोगसंग लागि निरन्तर सम्वाद गरेको छ,’ उनले भने ।

अनमी गिरीले भने मन्त्रालयले पूर्ववत व्यवस्था नगरे सयौँ अनमीहरुमाथि अन्याय हुने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *