नेपालमा प्रत्येक बर्ष ६९ हजार नयाँ क्षयरोगी थपिन्छन्

काठमाडौँ, ११ चैत । नेपालमा प्रत्येक बर्ष करीब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेका छन् । हाल देशमा नयाँ तथा पुराना गरी करीब १ लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको छ । तर सबै क्षयरोगी उपचारको दायरामा आइसकेका छैनन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्चन भन्छन्, ‘करीब ४१ हजार क्षयरोगी पत्ता नै लाग्न सकेको छैन् । त्यो संख्याको क्षयरोगी पत्ता लगाई उपचारमा ल्याउनु नै अहिलेको प्रमुख चुनौँती हो ।’

क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्पर्ट केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डिआर होस्टेल, एक वटा डिआर होम रहेको केन्द्रले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बार्षिक करीब २ हजार २०० जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन् । तर उपचारको दायरामा भने २० प्रतिशत पनि आउन सकेको छैन् ।

गत बर्षको तथ्यांक हेर्दा औषधि प्रतिरोधि क्षयरोगका ३८४ जना बिरामी अर्थात करीब १७ प्रतिशत मात्रै उपचारको दायरामा आएका थिए । यद्धपी सरकारले दीगो विकास लक्ष्यलाई पच्छ्याउँदै सन् २०३० मा क्षयरोगमुक्त देश बनाउने योजना भने जारी नै राखेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *