‘कोरोनाको परीक्षण र उपचारले स्टार अस्पताल गज्जबले चिनियो’

- नेपाली हेल्थ

पूर्व बैंकर किशोर कुमार महर्जन यतिवेला स्टार अस्पतालको कार्यकारी अध्यक्ष छन् । झण्डै डेढवर्ष अघि अस्पतालको नेतृत्वमा आउँदा उनले अस्पताल सुधारका थुप्रै योजना बुनेका थिए । योजना बुनेका मात्रै थिएनन्, केही योजनाहरु त छिटै कार्यान्वयनको चरणमा समेत प्रवेश गर्दै थियो । तर प्रक्रिया मिलाएर भ्याउदाँ नभ्याउँदै देशमा कोरोना भाइरस (कोभिड – १९) प्रवेश गर्‍यो । यसले उनको टिमले अस्पताल सुधारका लागि अघि बढाएका सबै योजना स्थगित गर्नु मात्रै परेन तत्काल नयाँ योजना अघि सारेर कोभिड बिरुद्ध लड्न बाध्य बनायो । यसै सन्दर्भ जोडेर नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनीसंग केही कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेप : 

कोभिड – १९ आएपछि बढी सुनिने अस्पतालहरुको नामको सूचीमा स्टार अस्पताल अग्रपंक्तिमै छ, खासमा के कारणले यसरी सुनिने बन्नु भयो ?

कोभिड – १९ नआईदिएको हुन्थ्यो भने पनि स्टार अस्पताल नयाँ स्वरुपबाट लम्कन्थ्यो होला । किनभने डेढ वर्ष अघि देखि स्टारमा हामी नयाँ ‘प्रमोटर’हरुको ‘इन्ट्री’ भयो । हामीले ‘इन्ट्री’ गर्दा नै स्टारलाई कसरी चम्काउने भन्ने योजना लिएर आएका थियौँ । अस्पताल कहाँ चुहेको छ ? कता भत्किएको छ ? के मा भ्वाङ परेको छ ? कता कता नयाँ निर्माण गर्नुपर्ने हो ? भन्ने कुराहरु विश्लेषण गरेका थियौँ ।

हामी छिर्दा अस्पतालको ‘विल्डिङ कन्स्ट्रक्सन ले-आउट, ओपिडी, आईसीयू, अप्रेसन थिएटर, इमरजेन्सी लगायतका प्राय युनिटहरु नयाँ लेआउट बनेको थियो । तर हामीले त्यति राम्रो भवन भएपनि अस्पतालमा ‘फुल टाइम’ सिनियर कन्सलट्यान्टहरु अभाव देख्यौँ । न्युनतम साधारण उपकरणहरु भएपनि अत्याधुनिक र विशेष उपकरणहरु भएको पाएनौँ । जो अस्पतालमा बिरामीको संख्या बढाउन र सिनियर डाक्टरलाई फुल टाइम राख्नका लागि पनि आवश्यक थियो ।

हामीले त्यहि ‘साइट’मा ‘फोकस’ गरेर योजना बनाउँदै थियौँ । देशमा कोभिड -१९ को प्रवेश भयो ।

मलाई याद छ त्यसबेला हामीकहाँ सिमित अप्रेशन हुन्थ्यो । कोभिड आएपछि ह्वात्तै घट्यो । फागुनको तुलनामा चैतमा आधा, त्यसपछि बैशाखमा त्यसको पनि आधा, जेठमा झनै आधा भयो ।

अब यसरी भएन….

बैशाखबाट नयाँ रणनीति बनाउन थाल्यौँ । किनभने चैतमा लकडाउन र त्यसपछि बढदोक्रममा संक्रमण देखिन थालेपछि यो झट्टै हराउँछ जस्तो लागेन । केही समय लिन्छ र दुख दिन्छ भन्ने लाग्यो ।  त्यसपछि हामीले जो हामीले साधारण रुपमा अस्पतालको सेवा र क्षमता बढाउने योजना बनाएका थियौँ, त्यसलाई थाँती राखेर हामी कोभिड तिर केन्द्रित भयौँ ।

कोभिड – १९ मा कसरी केन्द्रीत हुनुभयो ?

सर्बप्रथम हामीले परीक्षणलाई फोकस गर्‍यौं । त्यसबेलासम्म पीसीआर सरकारी प्रयोगशालामा मात्रै हुन्थ्यो । तर हामीलाई थाहा थियो सरकारीको क्षमताले मात्रै महामारी रोक्न सक्दैन । हामीले ढिलाई नगरी पीसीआर परीक्षणका लागि ल्याव सेटअप गर्न तर्फ लाग्यौँ ।

हामीले ल्याव त तयार गर्‍यौं तर स्वीकृतिका लागि सरकारलाई कन्भिन्स गर्न समय लाग्यो । भाग्यबस भनौँ जनस्तरबाट सरकारी परीक्षण क्षमताले पुगेन भन्ने आवाज बढ्न थालेपछि सरकारले निजी क्षेत्रलाई पनि परीक्षणमा सहभागी गराउने निर्णय गर्‍यो । हामी कोरोना परीक्षण गर्ने निजी क्षेत्रको पहिलो ल्याव बन्यौँ । यसलाई हामीले राम्रो मार्केटिङको टुलको रुपमा प्रयोग गर्न पायौँ ।

त्यसमा खर्च पनि हामीले गर्‍यौं, मोलिक्युलर ल्याव सेटअप गर्न नै हामीले झण्डै ४ करोड रुपैयाँ खर्च गर्‍यौं । अमेरिकन थर्मोफिसर कम्पनीका मसिनहरु किन्यौँ, आरएनए एक्स्ट्राक्सन किटहरु चाइनाबाट मगायौँ । माइनस २० र माइनस ८० डिग्रीका फ्रिजहरु समेत हामीसंग छ । सरकारको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा नभएका कतिपय उपकरणहरु हामीसंग छ । त्यति व्यवस्थित छ । यसले हामी बढी सुनियौँ होला ।

पीसीआर गर्ने पहिलो निजी ल्याव, राम्रो आम्दानी पनि भयो होला नि ?
सरकारले सुरुमा त ५५०० रेट तोकेको थियो । हामीले त्यहि अनुसार नै योजना गरी क्षमता बढायौँ । लगानी थप्दै गयौँ । तर सरकारले एक महिना पनि नवित्दै पीसीआर खर्च ४४ सयमा झार्‍यो । र, दुई तीन हप्तामा फेरी घटाएर २ हजारमा झार्‍यो । यसले हामीलाई मर्का चाही पर्‍यो । २ हजारमा परीक्षण गर्दा घाटामै जाने भएपछि हामीले आग्रह गरयौँ ‘ब्रेक इभन’मा रहनका लागि भन्दै हामीले ४ सय रुपैयाँ थपेर लिन थाल्यौँ ।किनभने हाम्रो जो ल्यावको संरचना तयार गरेका छौँ, हामीले स्वाब दिन आउनेका लागि जो सुविधा दिएका छौँ ।

संक्रमण नियन्त्रणका लागि जो काम गरिरहेका छौँ, हामीले इन्फेक्सन कन्ट्रोलका लागि ४ सय रुपैयाँ लिएका छौँ । त्यसैले पीसीआर २ हजार र इन्फेक्सन कन्ट्रोल चार्ज रु ४ सय गरी कुल २ हजार ४ सय रुपैयाँमा लिने गरेका छौँ । अहिले चार महिना जति भइसक्यो । हामी ‘ब्रेक-इभन’मा चलिरहेका छौँ ।

अहिलेसम्म कति जनाको परीक्षण गर्नुभयो ?
हामीले असारको २९ गते लाइसेन्स पाएको, साउनमा हामीले पूर्ण क्षमतामा सञ्चालनमा गएको हो । साउन देखि अहिले पुसको पहिलो हप्तासम्म हामीले झण्डै ९३ हजार बढी परीक्षण गर्‍यौं होला । साउन यताको रेकर्ड हेर्ने हो भने सबैभन्दा बढी परीक्षण गर्ने ल्यावहरुको सूचीमा हामी पहिलो हुन्छौँ होला सायद ।

हामीले भन्दा बढी परीक्षण गरेको भन्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले धेरै अघि (फागुन चैत देखि) थियो । अन्यथा हामी नै सबैभन्दा बढी परीक्षण गर्ने बनेका छौँ ।

अर्को कुरा गएको साढे दुई महिना देखि परीक्षण संख्या घटेको छ, तर ल्यावको संख्या बढेको छ । अहिले देशभर सरकारी र निजी गरेर ८० ओटा ल्याव छ । तर यो पछिल्लो समयमा पनि हाम्रो ल्याव दैनिक रुपमा सबैभन्दा बढी पीसीआर गर्नेहरुको सूचीमा पहिलो नम्बरमै पर्दछ ।
अस्पतालबाट उपचार सेवा पनि निरन्तर नै छ पक्कै ।

कोभिड र नन कोभिडको बिरामीको उपचार व्यवस्था कसरी मिलाउनु भएको छ ?
तपाँईलाई अचम्म लाग्ला, कोभिड – १९ सुरु भएपछि कतिपय अस्पतालले बिरामीहरु फर्काए भन्ने सुनियो तर हामीले कहिले पनि बिरामी फर्काएनौँ । हामीले आफै स्वास्थ्य सुरक्षा सतकर्ताको व्यवस्था मिलायौँ । हामी आफैले ‘सेफ्टी प्रोटोकल’ तयार गर्‍यौं, डाक्टर, नर्स जस्ता फ्रन्टलाइनर हेल्थ वर्करहरुलाई भत्ताको व्यवस्था गर्‍यौं । सबैलाई प्रोत्साहन गर्‍यौं ।

शुरुमा हामीले कोभिड उपचारका लागि दुईवटा आइसीयू सहित सातवटा वेड छुट्याएका थियौँ । जुनबेला सरकारले निजी अस्पतालहरुलाई अनिवार्य गरेको थिएन । संयोग भनौँ हाम्रो अस्पतालको संरचना पनि यसरी बनेको छ कि कोभिडका बिरामीका लागि अलग्गै  भर्‍याङ, अलग्गै लिफ्ट प्रयोग गर्न मिल्यो । हामीलाई सजिलो भयो । पछि संख्या बढ्दै गएपछि हामीले अस्पताल परिसर बाहिर होल्डिङ एरिया बनायौँ । शुरुमा एउटा बेड बनायौँ, त्यसपछि दुईवटा, तीनवटा गर्दै छ वटासम्म बनायौँ । पीसीआर टेष्ट नगरी अस्पताल भित्र नल्याउने भनेर ।

माथि कोभिड उपचारका लागि बेडको संख्या पनि बढाउँदै लग्यौँ । कोभिडका लागि नेगेटिभ सक्सन भएको रुम चाहिन्छ । त्यो तयार गर्दै गयौँ । विभिन्न वार्डहरुलाई कोभिड वार्डमा परिणत गर्दै गयौँ । कोभिड उपचार गर्न अस्पताल भित्र २२ बेड बनायौँ । बाहिर छ बेडको होल्डिङ सेन्टर थियो ।

कोभिडका लागि कुल २८ छुट्याइ सकिएको थियो सरकारले त्यसपछि मात्रै सबै अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत कोभिडको लागि छुट्याउन भनेको थियो । हाम्रो एक सय बेडको अस्पतालमा २८ बेड भनेको २० प्रतिशत भन्दा माथि थियो ।

त्यसबेला नन् – कोभिडको बिरामीको संख्या एकदमै घट्यो । किनभने सरकारले पनि सामान्य अवस्थामा घरमै रहनु भन्ने, आम सर्वसाधारणले पनि संक्रमण सर्छ कि भनेर अस्पताल जान डराउने अवस्था बन्यो । त्यसले हाम्रो नर्मल आइसीयू खाली हुन थाल्यो । कोभिड आइसीयूलाई ठूलो डिमाण्ड भयो । त्यसपछि हामीले उल्टयायौँ । नर्मल १० बेडको आइसीयू थियो त्यसलाई हामीले कोभिड आसीयूमा परिणत गर्‍यौं। नेगेटिभ सक्सन फिट गरेर । र हामीले अर्को नयाँ छ बेडको आइसीयू नन कोभिड बिरामीका लागि तयार गर्‍यौं । त्यसमा पनि हामीले राम्रै लगानी गर्‍यौं । तर त्यसको पूर्ण प्रयोग भने धेरै लामो समय भएन । त्यसबीचमा हामीले संक्रमण थप फैलिने हो कि भनेर अर्को ८ बेडको कोभिड आइसीयू समेत तयार गरेका थियौँ । तर ठ्याक्कै त्यहीबीचमा सरकारको नीति बदलियो ।

सरकारले संक्रमणमा परेपनि लक्षण नहुँदासम्म वा गम्भीर अवस्था नभएसम्म घरमै बस्न भन्यो । त्यसले गर्दा जुन हिसावले पहिला कोभिड लाग्ने वित्तिकै अस्पताल जाने चलन थियो, त्यो रोकियो । शुरु शुरुमा कसैलाई कोभिड देखियो भने, पुरै घर घेरेर एम्बुलेन्स पठाएर सिधै उठाएर सरकारी उपचार केन्द्रमा लैजाने चलन थियो तर अहिले त सरकार धेरै उदार भैदियो । पछि एकदमै गम्भीर विरामीहरु मात्रै अस्पताल आउन थाले । त्यो अवस्थामा बिरामी आँउदा अस्पतालमा मृत्यु हुने दर बढ्यो र बेडहरु खाली हुने दर पनि बढ्यो ।

जुन हिसावले १८ बेडको कोभिड आइसीयू बनायौँ कहिले पनि बिरामी भरिएन । अहिले विस्तारै परिस्थिति ठ्याक्कै उल्टा भएको छ । नर्मल बिरामीहरु अस्पताल आउन थाले र ओपिडीमा नन कोभिड विरामीहरुको भिड लाग्न थालेको छ । त्यसले गर्दा ६ बेडको नन कोभिड आईसीयू सधै भरिन थाल्यो र यता कोभिडको १८ बेडको आइसीयू खालि हुन थाल्यो । हामीले कुनै बेला कोभिडको लागि १८ बेडको आईसीयू सहित कुल ४० बेड छुट्याएका थियौँ । अब भने ती बेडहरु नन कोभिडका लागि चाहिन थालेको छ । अहिले हाम्रा तीनवटा अप्रेसन थिएटर मध्ये एउटा कोभिडका बिरामीका लागि प्रयोग गर्नुपर्छ भनेर छुट्याएका थियौँ तर अब त्यो पनि नन कोभिडकै लागि प्रयोगमा ल्याउँदै छौँ ।

हामीले पनि अनुभव बटुल्दै गएका छौँ । अब कोभिडको केश अप्रेसन गर्नुपरेमा तत्काल त्यसलाई प्रयोगमा ल्याउन सक्ने गरी तयार पनि गरेका छौँ । अहिले हामीसंग तीनवटा ओटी छ। त्यो नन कोभिडलाई पनि प्रयोग गर्न सक्छौँ र कोभिडकै बिरामी आएपनि हामीले गर्न सक्छौँ अब हामीले १० बेडको आइसीयूलाई नन कोभिडमा फर्काएका छौँ । ८ बेडको आइसीयूलाई हामी हाई डिपेन्डेन्सी युनिटमा कन्भर्ट  गर्दैछौँ । अब हामीसंग कोभिडको मात्रै आइसीयू भनेर ४ बेड रहन्छ ।

कोरोनाको सेकेण्ड वेव आयो भने ?
यदि देशमा सेकेण्ड वेव आयो भने पनि हामीसंग एचडीयू सहित २८ वटा बेड आइसीयू तयारी अवस्था छ । एक सय बेडको अस्पतालमा यो भनेको सामान्य होइन नि । हामी अहिले कोभिड – १९ परीक्षण र उपचारका लागि खारिएका छौँ ।

अब अस्पतालको स्तरोन्नतीको कुरा कोभिडको कारण स्थगित गरियो भन्नु भयो ? अब कहिले देखि त्यो सुचारु हुन्छ ?
हो म भन्दै थिएँ । अब हामीले कोरोनाको पहिलो वेवलाई सायद नियन्त्रणमा लियौँ । किनभने हामीकहाँ पनि अब नन कोभिड विरामीहरुले बेड भरिन थाले । अवस्था सामान्यउन्मुख हुँदै जाँदा अब हामीले गतवर्ष थाती राखेको अस्पताल स्तरोन्नती सम्वन्धी योजनालाई अघि बढाउन खोजेका छौँ । त्यो योजना अनुसार पूर्ण कार्यान्वयन गर्ने योजना छौँ ।

हामीले तत्कालै विस्तार गर्ने भनेको युरोलोजी सेवा हो । युरोलोजी सम्वन्धी सम्पूर्ण सेवा अत्याधुनिक उपकरणबाट गराउने योजना अनुसार यो सेवा अघि बढाएका हौँ । ओन अफ दि मोस्ट सोफेस्टिकेटेड इक्युपमेन्टहरु जस्तै जमैक डोनर कम्पनीको आरएआरएस लगायतका मेसिनहरु ल्याउँदै छौँ । यसका लागि आवश्यक उपकरणका लागि करीब डेढ करोड लगानी थप्दैछौँ ।

यसैगरी न्युरो लोजीमा न्युरो माइक्रोस्कोप सहित सबै गरेर झण्डै साढे दुई करोड जति लगानी गर्दैछौँ । हामीसंग राम्रो न्युरोलोजीको टिम छ । त्यो टिमले अहिले पनि जटिल शल्यक्रिया तथा उपचारहरु गरिरहेको छ । अझ सुविधाका लागि थप अत्याधुनिक उपकरण भित्र्याउन खोजेका हौँ ।

यस्तै हामीले अर्थो पेडिक्समा पनि मेसिन खरीदका लागि झण्डै डेढ करोडको लगानी थप्दै छौँ । अर्थोमा पनि हामीसंग डाक्टरको राम्रो टिम छ ।

यस्तै हामीले जीआई सेन्टरलाई अझ ठूलो स्केलमा लैजाने योजना गरेका छौँ । जीआईमा पनि हाम्रो ठूलो टिम छ । अहिले पहिलो चरणमा हामीले जीआईका लागि आवश्यक अत्याधुनिक मेसिन खरीदका लागि साढे २ देखि ३ करोड रुपैयाँ लगानी थप्ने योजना बनाएका छौँ ।

जीआईसंग सम्वन्धीत सबैखाले रोगको उपचार गर्न सजिलो होस भन्नका लागि हामीले यी उपकरणहरु थप्न लागेका हौँ ।
त्यसबाहेक एनआईसीयू वार्ड पनि विस्तार गर्दैछौँ । हामीकहाँ अहिले पनि धेरै सर्जरीहरु सुत्केरीका लागि भइरहेको छ ।

यसरी अत्याधुनिक उपकरणहरु थपिँदै जाँदा अस्पतालको सेवा पनि त महंगो हुँदै जाने होला, होइन ?

होईन, हाम्रो उदेश्य आम सर्वसाधारणले यहाँबाट उपचार सेवा लिन सकोस भन्ने नै हो । अहिले पनि हामीकहाँ मध्यम तथा न्युन आय भएका बिरामीहरु उपचार गर्न आएका हुन्छन् । अस्पताल धेरै महंगो पनि छैन । तर यसको अर्थ भिआईपीहरु अन्यत्र उपचार गर्न जानुपर्छ भन्ने पनि होइन । हामीले खर्च गर्न सक्ने बिरामीका लागि सुविधासम्पन्न क्याविनहरु तयार गर्दै छौँ । किनभने अस्पताल सस्टेन पनि त गर्नुपरयो ।

हामीसंग अहिले भएको सिंगल क्याविन प्रयाप्त छैन् । अरुको तुलनामा क्याविनको रेट पनि सस्तो छ । अब हामीले खर्च गर्न सक्नेहरुका लागि सुविधा सम्पन्न क्याविन बनाउँने योनजामा छौँ । अहिले हामीसंग अग्लो र फराकिलो रुफटप छ । त्यो हेलिकप्टर सर्भिसका लागि बनाइएको हो । तर यहाँ संचालन गर्दा छिमेकीहरुलाई पनि डिस्टर्व हुने देखियो ।

रुफटपबाट काठमाडौँको दृश्य हिमालयको दृश्य गजब देखिन्छ ।

हामीले त्यो ठाँउलाई हाईक्लासको लक्जरी क्याविन बनाउने योजना अघि सारेका छौँ । त्यहाँ १६ देखि १८ वटा क्याविन बन्ने देखियो । यसले हामीलाई हेलिकप्टर सर्भिसबाट भन्दा राम्रो आम्दानी दिनसक्छ । यसले हामीले जनरल वार्डहरुको मूल्य पनि बडाउन नपर्न सक्छ । त्यो सोच छ ।

तपाईँका योजनाहरु कार्यान्वयनमा कहिले देखि आउला ?
अघि एउटा कुरा छुटेछ, अब हामी आइभीएफ सेन्टर पनि खोल्ने योजनामा छौँ । भारतको एक पार्टीसंग सहकार्य गरेर यो चलाउने योजनामा छौँ । हाम्रोमा आइभीएफ सेवा लिने महिलाको संख्या प्रति महिना ५० देखि ६० जना हुने योजना गरेका छौँ । कोभिड नआएको भए यो योजना अहिले कार्यान्वयनमा आइसकेको हुन्थ्यो । तर अब यसलाई ढिलाई गर्दैनौँ । अबको तीन महिना भित्रमा सुरु गर्दैछौँ ।

युरोलोजी एक महिना भित्र पूर्ण रुपमा सञ्चालन गर्छौँ । अहिले पनि युरोलोजी केश भइरहेको छ । औषतमा हप्तामा ४ वटा युरोलोजी केश भइरहेको छ । अब नयाँ उपकरण आएपछि हप्तामा १२ देखि १४ केश हप्तामा गर्न सक्छौँ ।

न्युरोलोजी पनि अहिले भैरहेको छ । हप्ताको दुईवटा चारवटा भइहेको छ । हाम्रो पूर्ण उपकरण भएपछि हप्ताको ८ देखि १० वटासम्म हुनेछ ।

अर्थो पेडिक्समा पनि हामीले अहिले हप्ताको एउटा दुईवटा मात्रै गर्ने गर्दछौँ । तर यो पनि नयाँ मेसिनहरु थपेपछि हप्तामा आठ दश वटामा पुग्छ भन्ने छ ।

जीआई पनि विस्तारै आउँदै छ ।

नुवाकोटमा पनि हाम्रो स्टार नुवाकोट भन्ने अस्पताल छ । अब हामीले साप्ताहिक रुपमा यहाँबाट विशेषज्ञ डाक्टरहरु गएर क्याम्प सञ्चालन गर्ने, माइनर उपचार त्यतै गर्ने र मेजर उपचार गर्नुपरेमा स्टार अस्पताल ललितपुरमा आउने गरी व्यवस्था मिलाउँदै छौँ ।

कोभिडविरुद्ध भिड्दै गर्दा तपाईँहरलाई असर मात्रै पारेको छ कि केही फाइदा पनि दियो ?

कोभिडले गर्दा गतवर्ष गर्ने भनिएका यी माथि उल्लेखित सबै काम गर्न सकेनौँ तर यसले हामीलाई फाइदा पनि पुर्‍याएको छ । त्यो के भने, हाम्रो गज्जबले मार्केटिङ भएको छ । कसरी भने अस्पतालमा अहिलेसम्म हामीले ९३ हजार बढीको पीसीआर परीक्षण गराएका छौँ, त्यसमा १२ – १३ हजार हामीले होम सर्भिस दिएको होला बाँकी सबै अर्थात ८० हजार जति सबै शारीरिक रुपमै उपस्थित भएर सेवा लिनु भयो । यदि कोभिड नभएको भए त यी व्यक्तिहरु यसरी आउने सम्भावना थिएन ।

अर्को एउटा उदाहरण दिन्छु, मेरो पुरानो घर पुल्चोक यहाँबाट एक डेढ किलोमिटर मात्रै टाढा होला । छिमेकीहरुले औषधि उपचारको कुरा गर्दा मैले स्टार अस्पताल आउनु, म पनि त्यहाँ छु भन्थें,  यो कुरा म यहाँ आइसकेपछिको, अर्थात गतवर्षकै । तर उनीहरुले यति नजिकको अस्पतालबारे अनभिग्यता प्रकट गर्दथे । कहाँ छ ? कहिले खुल्यो ? कस्तो खालको अस्पताल हो हामीलाई त थाह छैन् । जस्ता शव्द प्रयोग गर्दथे । तर आज पुल्चोकका जनताले मात्रै होइन,  उपत्यकाका तीन जिल्ला सहित वरपरका जिल्लाहरु काभ्रे, नुवाकोट, मकवानपुर धादिङ, चितवन, हेटौडाका जनताको प्राथमिकता बनेको छ हाम्रो अस्पताल ।  त्यहाँभन्दा पर अथवा देशैभरका हजारौँ व्यक्तिले यहाँबाट सेवा  लिइसकेका छन् । उनीहरुका लागि पनि अब स्टार अस्पताल नौलो भएन, अर्थात देशभरमै स्टार अस्पताल परिचित बनेको छ ।

कोरोना परीक्षण मात्रै होइन कोरोना लागेर गम्भीर बनेर आएकाहरुको हामीकहाँ उपचार गरेर ज्यान जोगिएको छ । उनीहरुले पनि हामीलाई सम्झने छन् । यसले हाम्रो पहिचान बढेको छ । एक हिसावले हामीलाई यसले सन्तोष दिएको छ ।


Facebook Comment


थप समाचार