कोरोनाबिरुद्धको खोप भण्डारणका कसरी व्यवस्था मिलाउँदै छ सरकार ?

काठमाडौँ, १३ पुस ।  युरोप तथा अमेरिकी देशहरुमा कोरोनाबिरुद्धको खोप लगाउन शुरु भइसकेको छ । नेपालमा खोप कहिले आउँछ अझै भन्न सकिएको छैन् ।

अझ नेपालमा त खोप ल्याउनु अघि त्यसको भण्डारण गर्ने संयन्त्रलाई चुस्त राख्नु जरुरी छ ।  किनभने विश्व बजारमा अहिले कोरोनाविरुद्ध प्रयोग गर्ने भनिएका तीन किसिमका तामक्रम भएका खोपहरु आएका छन् । एउटा माइनस ७० डिग्री सेल्सिसेस, अर्को माइनस २० डिग्री सेल्सिसेस र अर्को २ देखि ८ डिग्री सेल्सिसेस तापक्रममा राख्नुपर्ने । यी मध्ये २ देखि ८ डिग्री तापक्रममा राख्ने खोप आए नेपालका लागि सजिलो हुने देखिन्छ । माइनस २० डिग्री तापक्रममा रहने खोप आएमा पनि लगभग भण्डारणको व्यवस्था मिलाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर माइनस ७० डिग्रीवाला खोप आएमा भने भण्डारणका लागि सुरु देखि नै तयारी गर्नुपर्ने हुन्छ ।

अहिले मन्त्रालयले माइनस ७० वाला खोप कम्तीमा ३ प्रतिशतका लागि भण्डारण गर्न सकिने गरी कोलचेनको तयारी गरेको जनाएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल भन्छन्, ‘२ देखि ८ डिग्रीवाला खोप एकैपटक २० प्रतिशतका लागि आयो भने पनि हामीले एक साता भित्रै खोप लगाउन सक्ने गरी तयारी अवस्थामा छ । माइनस २० डिग्री तापक्रम वाला खोप आइहाल्यो भने पनि सरकारी र निजी क्षेत्रका स्टोरहरुको प्रयोग गरी २० प्रतिशतका लागि भण्डारण गर्ने क्षमता तयार गरेका छौँ । माइनस ७० डिग्रीवाला आयो भने कम्तीमा ३ प्रतिशतका लागि पुग्ने खोप भण्डारण गर्ने र त्यो फ्रन्टलाइन हेल्थ वर्करलाई लगाउन सक्ने गरी व्यवस्था मिलाउँदै छौँ ।’

उनले अहिले सातवटै प्रदेशमा खोप भण्डारणका लागि वेरहाउसको तयारी गर्ने काम भएको समेत बताए ।

आफूहरुलाई कोभ्याक्सले २० प्रतिशत खोप दिने प्रतिवद्धता जनाइसकेको भन्दै सचिव अर्यालले तर खोप आउन ढिलो भएमा सरकार आफैले सुरुमा २० प्रतिशत खोप खरीद गरी लगाउन सुरु गर्ने बताए । त्यसका लागि जी टू जी मार्फत खरीद गर्न कुटनीतिक नोट, खोप निर्माता कम्पनी र छिमेकका दुई देशसंग भिन्ना भिन्नै रुपमा कुरा गरिएको बताए ।

कोभिड–१९ विरुद्धको खोप आयातका लागि ४८ अर्ब

कोभिड–१९ विरुद्धको खोप आयातका लागि ४८ अर्ब रुपैयाँ आर्थिक सुनिश्चितताका लागि सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा झलक गौतमले सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ रकमको आर्थिक सुनिश्चितता भैसकेको जानकारी दिएका छन् ।

उनले आवश्यक पर्ने रकमको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको पनि जानकारी दिए।

डा गौतमले नेपालको कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाख मानिसलाई खोप दिने योजनाका साथ खोप प्राप्त गर्नेहरुको प्राथमिकिकरण निर्धारण गरिएको पनि जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *