कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना स्वास्थ्यकर्मीमा एकै पटक देखियो कोरोना संक्रमण
जुम्ला १५ असोज । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा आधा भन्दा बढी अर्थात २७ जना (५१.९२ प्रतिशत)मा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना बिरामीमा पनि कोराना संक्रमण देखिएको छ ।
ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालका निमित्त निर्देशक डा अनुप मंगल समालले संक्रमितहरु डाक्टर, नर्स र प्यारामेडिक्स रहेको बताए । उनले सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत स्टाफहरु बढी संक्रमित भएको जानकारी दिए ।
‘अस्तिसम्म कोरोना संक्रमित विरामी पनि थिएनन्, स्टाफलाई पनि केही भएको थिएन । तर परीक्षण गरिएकामा आधा भन्दा बढीमा संक्रमण देखियो । यसले अवस्था डरलाग्दो देखायो । त्यसैले हामीले सुरक्षाका लागि आकस्मिक बाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेका हौँ,’ डा समालले भने ।
उनले अब पाँच दिन पछि अस्पतालका बाँकी स्टाफ र बिरामीको पीसीआर जाँच गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]