स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सपिङ मल तथा रेष्टुरेन्टमा काम गर्नेलाई पहिले पीसीआर जाँच गराउनु’
काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सपिङ मल, रेष्टुरेन्ट तथा होटलमा काम गर्ने व्यक्तिको अनिवार्य रुपमा पीसीआर परीक्षण गराउन सम्वन्धीत उद्योगका सञ्चालकहरुलाई अनुरोध गरेको छ ।
घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढदै गइरहेको भन्दै त्यस्ता व्यापार तथा उद्योगका कामदारको पीसीआर गरेर नेगेटिभ आएपछि मात्रै काममा लगाउन अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको हस्ताक्षर भएको सूचनामा यस्ता व्यवसायमा सम्लग्न व्यवसायीले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न गराउन भनिएको छ ।
अस्पतालको अग्रपंक्तिमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको पनि अनिवार्य पीसीआर गर्नुपर्ने
यसैबीच मन्त्रालयले अस्पतालका अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पीसीआर परीक्षण पछि मात्रै डिउटीमा खटाउन अस्पताल प्रशासकहरुलाई अनुरोध गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमण हुन जोगाउन तथा उनीहरुबाट अन्य सर्वसाधारणलाई समेत संक्रमण हुनबाट बचाउन यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवाहरु प्रवाहमा कठिनाई हुन नदिने उपाय गर्दै जानु सबै जिम्मेवार निकायको कर्तव्य भएको भन्दै अनुरोध गरेको छ ।
सम्पर्क इमेल : [email protected]