काठमाडौँमा बिहीबार कोरोना संक्रमण देखिएका ५ जना सम्पर्कविहीन
काठमाडौँ, २३ साउन । काठमाडौँमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये ५ जना सम्पर्क विहीन भएका छन् । स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातीसम्म ८२ जनाको व्यवस्थापन भएको र पाँच जनासंग सम्पर्क हुन नसकेको बताएको छ ।
इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले परीक्षणका बेला उपलव्ध गराएका मोवाइल अफ गरेको कारण सम्पर्क हुन नसकेको बताए । ‘बुधबार १६ जना सम्पर्कविहीन थिए । तर विहीबार १० जना सम्पर्कमा आए, फेरी विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्क विहीन छन् । ती आज सम्पर्कमा आउलान कि ?’ उनले भने ।
कोइरालाका अनुसार बिहीबार उपत्यकामा संक्रमितमध्ये ४१ जना प्रहरी भएको, केही स्वास्थ्यकर्मी र केही अख्तियारका बरिष्ठ अधिकारीहरु समेत रहेका छन् । यस्तै विहीबार थपिएका संक्रमितमध्ये ३७ जनामा लक्षण भएको समेत जानकारी दिए ।
टेकुस्थित शुक्रराज अस्पताल, युनिफाइड अस्पताल र पाटन अस्पतालको आइसोलेसन भरिएपछि इडीसीडीले विहीबार आयुर्वेद अस्पताल कीर्तिपुर, केएमसी अस्पताल भक्तपुर र नेपाल प्रहरी अस्पतालमा व्यवस्थापन गरेको छ ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम बढ्दो क्रममा छ । लकडाउन खुलेपछि उपत्यका बाहिरबाट आएकाहरुमा संक्रमणको समस्या बढी देखिएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]