स्तनपान प्रबर्धन संरक्षण समितिमा तीन जना विज्ञ डाक्टर मनोनित
काठमाडौँ, ९ साउन । स्तनपान प्रबर्धन संरक्षण समितिमा तीन जना विज्ञ डाक्टर मनोनित भएका छन् । स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको समितिको बैठकबाट रिक्त तीन जना विज्ञ डाक्टर मनोनित भएका हुन् ।
मनोनित हुनेहरुमा गाइने तथा अब्सेप्टीप्स सोसाइटीका तर्फबाट अध्यक्ष समेत रहेका डा हिरा तुलाधर, बालरोग विशेषज्ञहरुका तर्फबाट प्राडा प्रकाश सुन्दर श्रेष्ठ र पोषण विज्ञको रुपमा प्राडा मधु दिक्षित देवकोटा मनोनित भएका हुन् ।
स्तनपान प्रवर्धन गर्नका लागि गठित यो समितिमा अध्यक्ष स्वास्थ्य सचिव रहने व्यवस्था छ । सदस्य सचिव स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह तिंकरी रहेका छन् । सदस्यहरुमा उद्योग मन्त्रालय, श्रम तथा रोजगार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवहरु हुने व्यवस्था छ । यस्तै बालचिकित्सक संघको अध्यक्ष, उद्योग बाणिज्यसंघको प्रतिनिधि समेत हुने व्यवस्था छ ।
यसैगरी विहीबारको बैठकले डा तिंकरीको संयोजकत्वमा अर्को उपसमिति गठन गरेको छ । उक्त समितिमा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदार पराजुली सदस्य सचिव रहेका छन् भने उक्त समितिमा प्रसूति अस्पताल, कान्ति बाल अस्पतालका निर्देशक तथा खाद्य था प्रविधि तथा पोषण शाखा प्रमुख सदस्य सदस्य रहने व्यवस्था मिलाइएको छ ।
स्तनपान प्रवर्धन सम्वन्धी समितिको बैठक भण्डै ५ बर्षपछि बसेको हो । पोषण शाखा प्रमुख पराजुलीका अनुसार यो बैठक २०७२ भदौ २४ पछि विहीबार बसेको दोस्रो बैठक हो । हरेक आमाहरुले पूर्ण स्तनपान गराउने बाताबरणका लागि नीतिगत व्यवस्था गर्नका लागि पनि समितिको पूर्णता आवश्यक भएको र यसले यससम्वन्धी विद्यमान ऐनलाई परिमार्जन गर्नका लागि समेत कार्यको थालनी गर्ने पराजुलीले बताए ।
आगामी १७ देखि २३ साउनसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ ।
सम्पर्क इमेल : [email protected]