सल्यान जिल्ला अस्पताल र जटिल उपचार

डा. प्रदीप शर्मा (एमडीजीपी)

कोभिड -१९ को विश्वव्यापी महामारी असर नेपालमा नपर्ने कुरै भएन । त्यसलाई रोक्नका लागि सरकारले ११ चैत देखि देशव्यापी रुपमा लकडाउन गर्‍यो । यसले आम सर्वसाधारणको जनजीवन ठप्प बनायो । तर,स्वास्थ्यकर्मीलाई भने यो बेला झनै भ्याई न भ्याई भयो ।  किनभने एकातर्फ कोभिड १९ का नयाँ संक्रमितलाई हेर्नुपर्दथ्यो अर्का तर्फ अन्य स्वास्थ्य सम्वन्धी (नियमित सेवा) दिइराख्नु पर्दथ्यो ।

यहि बीचमा सल्यान जिल्ला अस्पतालमा भने उपचारका लागि जटिल केशहरु देखा परे । तर खुशीको कुरा हामीले ती जटिल केशहरु सफल बनाएरै छाड्यौँ । पछिल्ला दिनहरुमा गरेका केही केशहरु यहाँ प्रस्तुत गरेको छु :

……………………………………………………………………

गत २७ असारको दिन थियो । २९ बर्षीया पहिलो गर्भवती रिता विकलाई परिवारले सुरक्षित सुत्केरीका लागि अस्पताल ल्याउनु भएको थियो । हुने क्रममा क्रममा अचानक शिशुको मुटुको गति रोकियो र पेट जोड्ले दुख्न थाल्यो । हामीले तत्काल जाँच पडताल गरिहाल्यौँ । त्यसपछि थाह भयो उनको पाठेघर फुटेको रहेछ ।

तुरुन्त शल्यक्रिया नगरे उनको ज्यान जाने अवस्था थियो । शल्यक्रियाका लागि तत्काल रगत आवश्यक थियो तर उनको श्रीमान् र एक जना हाम्रै स्टाफ (नर्स)ले रगत दिनु भयो । त्यसपछि शल्यक्रिया गरियो । करीब तीन लिटर रगत पेटमा बगेको रहेछ । पाठेघर बीचबाट गहिरोसंग चिरा परेको थियो । त्यसैले पाठेघर काटेर फालिने (Subtotal Hysterectomy ) गरियो।

उनको अत्याधिक मात्रामा बगेकोले अझै ३ पिन्ट रगत जम्मा गर्न लगायौं र दियौं। त्यसपछि अवस्था क्रमिक सुधार भयो।

…………………………………………………………………………

बाईस बर्षीया नेहा विक ३४ हप्ताकी गर्भवती थिइन । तर लगातार ६ घन्टा देखि अचेत भएकी रहेछिन् । गत ४ साउनका दिन अचेत अवस्थामै परिवारले यहाँ (अस्पतालमा) ल्याईपुरयायो ।

हामीले तत्काल रक्तचाप हेरयौँ । तर उनको रक्तचाप अत्यन्त धेरै देखि २००/ १२० थियो । उनलाई Eclampsia को उपचार शुरु गरियो । उच्च रक्तचाप यसरी बढ्दा मिर्गौला, कलेजो, फोक्सो र आँखा लगायतका विभिन्न अंगमा गम्भीर असर गर्न सक्छ । त्यसैले यस्तो केशलाई आईसीयूमा राख्नु पर्ने हुनसक्छ तर आईसीयू हामीसंग थिएन् । आईसीयूका लागि हेलिकप्टरबाट नेपालगंज पठाउनुको विकल्प थिएन । तर मौसम खराब भएकोले त्यो पनि सम्भव भएन।

अब हामीसंग आफै रिस्क लिएर त्यहि उपचार गर्नुको विकल्प थिएन । त्यसैले ती गर्भवती र पेट भित्रको शिशुको निगरानी गर्दै शल्यक्रिया थाल्यौँ । २२०० ग्रामको शिशु निकालियो । शल्यक्रियाको १२ घण्टा पश्चात बल्ल बिरामीको होस खुल्यो । त्यसपछि क्रमिक सुधार हुँदै गयो ।

बेहोस अवस्थामा ल्याउँदा र हामीले केशको गम्भीयर्ता सुनाउँदा आत्तिएका सुत्केरीका आफन्तहरुमा खुशी छायो । अत्यन्त जटिल अवस्थामा ल्याइएकी ती महिलाले नि आफ्नो बच्चाको स्पर्श गर्दा र दुध खुवाउदाको क्षण देख्दा हाम्रा लागि साच्चिकै गौरवान्वित थियो ।

…………………………………………………….

यी त भए पछिल्ला दिनमा भएका दुईवटा जटिल केश । जिल्ला अस्पतालमा अहिले हड्डी भाचिएका शल्यक्रिया पनि नियमित रुपमा भइराखेका छन्। लकडाउन यता मात्र १५ वटा हात कुहिनो भाचिएका बिरामीको शल्यक्रिया गरियो। ति बिरामी त्यो अवस्थामा दाङ वा नेपालगंज जानु परेको भए प्रति बिरामी कम्तिमा ७०/८० हजार सम्म खर्च हुन्थ्यो । तर यहाँ ५ हजार रुपैयाँमै शल्यक्रिया सम्भव भयो।

…………………………………………………………

निक साइमंस इन्स्टिट्युटले जिल्ला अस्पताललाई एमडीजीपी डाक्टर पठाएर सहयोग गरेको छ । सोही सहयोग अन्तरगर्त म एनएसआईका तर्फबाट यो अस्पतालमा कार्यरत छु । म यहाँ आएको पनि साढे पाँच बर्ष पुग्न आट्यो । र यी उपचारहरुको नेतृत्व मैले लिने गरेको छु ।

एनएसआईले एमडीजीपी बाहेक मेडिकल अफिसर, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान बाट एमडीजीपी रेजिडेन्ट विद्यार्थी, अप्रेसन थिएटर तालिम प्राप्त नर्स, एनेस्थेसिया एसिस्टेन्ट, वीएमइटी खटाएका कारण यस्ता जटिल केशहरु गर्न सकिएको हो । हामीकहाँ चिकित्सक, नर्स प्यारामेडिक्स तथा अन्य कर्मचारीबीच राम्रो टिमवर्क छ । त्यसैले जटिल उपचारमा हामी सफल छौँ ।

……………………………………………….

अस्पताल अझै पनि १५ बेडबाट ५० बेडमा स्तरउन्नति हुन सक्या छैन् । यहाँका कर्मचारी ९० प्रतिशत करार सेवाका हुनुहुन्छ । तर पनि हामी ३५ बेडमा सेवा दिई राखेका छौँ ।

यति धेरै सेवा दिएका छौँ तर हाम्रो अस्पतालमा व्यवस्थापन समिति निष्क्रिय छ । सामान्य कुराहरु जस्तै अस्पताल हातामा चौपाया प्रवेश गरेर फोहोर गर्ने, अस्पताल परिसरका रुखको काँटछाँट नगरेर फोहोर हुने समस्या छ । आशा गरौँ अस्पताल विकास समितिको नयाँ नेतृत्वले यी समस्याको समेत समाधान गर्नुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *