कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु
धरान, ७ साउन । कोरोना संक्रमण समेत देखिएका एक जना ६४ बर्षीय पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोगको उपचार गराईरहेका महोत्तरी गाँउपालिका महोत्तरीका ६४ बर्षीय पुरुषमा मंगलबार कोराना संक्रमण पुष्टि भएको थियो ।
उनको मंगलबार नै मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
प्रजिअ कटुवालका अनुसार मृत्यु भएका पुरुष क्यान्सरको चौथो स्टेजको बिरामी थिए । केही समय अघि मात्रै उनी भारत घर भएकी आफनो छोरीलाई भेटेर फर्केका थिए ।
‘सोमबार उनको नमूना संकलन गरिएको थियो । मंगलबार रिपोर्ट आयो तर उनको सोही दिन नै मृत्यु भयो,’ प्रजिअ कटुवालले भने ।
यो सँगै प्रदेश नं २ कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
यसअघि बारा र रौतहटमा दुई दुई जना र सप्तरी र पर्सामा एक(एक जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
सम्पर्क इमेल : [email protected]