स्तनपान प्रवर्द्धनका लागि साताव्यापी कार्यक्रम गरिदै

8
Shares


काठमाडौँ, ६ साउन ।  शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराई सक्नु पर्ने हो तर नेपालमा अहिले पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधी भित्र स्तनपान गराएको पाइदैन् ।

जन्मेको एक घण्टा भित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो नम्बरमा छ । यो सूचीको पहिलो नम्बरमा श्रीलंका छ । जहाँ ९० सुत्केरीले जन्मेको एक घण्टा भित्रै शिशुलाई स्तनपान गराउँछन् ।  त्यसपछि भुटान ७८ प्रतिशत, तेस्रो मालदिव्समा ६१ प्रतिशत रहेको छ ।

नेपालमा भने ५५ प्रतिशत सुत्केरी आमाहरुले एक घण्टा भित्र आफ्ना शिशुहरुलाई स्तनपान गराउँछन् ।

नवजात शिशुको लागि अर्को महत्वपूर्ण मानिने ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ अर्थात ६ महिनासम्म आमाको दुधबाहेक केही नखुवाउने सार्कका देशहरुमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको श्रीलंकामा छ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ८२ प्रतिशत छन् ।

दोस्रो स्थानमा रहेको नेपालमा ६ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ६६ प्रतिशत छन् ।

जन्मेको दुई बर्षसम्म शिशुलाई दुध चुसाउनेको सूचीमा सार्क देशहरुमा नेपाल पहिलो छ । नेपालका ८२ प्रतिशत आमाहरुले बच्चालाई कम्तमा दुई बर्षसम्म स्तनपान गराउँछन् ।

विश्व स्तनपान सप्ताह मनाउने सन्दर्भमा सोमबार आयोजित तयारी बैठकमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त पोषण शाखा प्रमुख केदार पराजुलीले यो विवरण प्रस्तुत गरिसकेपछि विभागका महानिर्देशक र निर्देशक सहितको टोलीले स्तनपानलाई प्रवर्द्धन गर्ने के कसो गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

सो क्रममा महानिर्देशक डा दिपेन्द्ररमण सिंहले भने, ‘स्तनपान बाल स्वास्थ्यको लागि अत्यन्त उपयोगी र प्रभावकारी विधि हो । शिशुका लागि स्तनपान पोषण हो, औषधि हो । यसले बालमृत्युदर घटाउन मद्धत गर्दछ । कोभिड – १९ को महामारीकोबीच एमआर क्याम्पियन चल्यो, रोटाभाइरस विरुद्धको खोप चल्यो र भिटामिन ए पनि चल्यो अब यो पनि चल्छ । हामीले निकै नै राम्रो काम गरिरहेका छौँ । विश्वले हामीलाई हेरिरहेको छ ।’

महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले भने स्तनपान सप्ताह मनाउनुको कारण स्तनपानको प्रवर्द्धन गर्नका लागि हो । नेपालमा अहिले पनि ४५ प्रतिशत आमाहरुले शिशु जन्मने वित्तिकै स्तनपान गराउन सक्नु भएको छैन् । यसलाई घटाउनु अहिलेको आवश्यकता हो ।’

बैठकले सप्ताहभर अन्तरक्रिया, अनुगमन तथा सचेतनासम्बन्धी विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *