औषधि क्षेत्रको समस्या कसरी समाधान हुन्छ ? डा. देवकोटाको संयोजकत्वमा समिति गठन
काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वदेशी औषधि उत्पादकको समस्या कसरी समाधान गर्न सकिन्छ भनि राय सुझाव पेश गर्न सहसचिव डा. विकास देवकोटाको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त समिति गठन गरेको हो ।
समितिमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष जी नारायण क्षेत्री सदस्य रहेका छन् । समितिलाई औषधिका सम्वन्धमा देखिएका समस्या ‘कसरी हल गर्न सकिन्छ ?’ भनेर यथासक्य छिटो सुझाव उपलव्ध गराउन भनिएको संयोजक डा. देवकोटाले बताए ।
गत २२ असारमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय मार्फत बजारमा गइरहेका ह्याण्ड स्यानिटाइजरको दर्ता हुने म्याद तीन महिना थप गरेपछि औषधि उत्पादकहरु आन्दोलित थिए । उनीहरु २५ असारमा आकस्मिक बैठक बसी निर्णय सच्याउन ३ दिनको म्याद दिएका थिए । म्याद गुज्रँदासम्म निर्णयमा फेरबदल नभएपछि २९ असार देखि लगातार औषधि व्यवस्था विभागमा परिसरमा धर्ना दिदै आएका छन् ।
सुझाव समितिमा नराखेको प्रति आयातकर्ता संघको आपत्ति
यसैबीच नेपाल औषधि आयातकर्ता संघले औषधिका विषयमा देखिएको समस्याको समाधानका लागि सुझाव दिन गठित समितिमा आफूहरुलाई नराखेको भन्दै आपत्ति जनाएको छ । उसले स्वदेशी औषधि उत्पादकको मात्रै कुरा सुनेर समस्या समाधान नहुने बताएको छ ।
आयातकर्ता संघका महासचिव पवन आचार्यले भने, ‘मन्त्रालयले एपोनलाई मात्रै राखेर औषधि क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सुझाव माग्दै रहेछ । यो हामीले थाह पायौँ र यसमा हाम्रो प्रतिनिधित्व खोजिएन । यसमा हाम्रो आपत्ति छ । औषधिको ६० प्रतिशत बजार हिस्सा ओगटेको आयात क्षेत्रलाई नजरअन्दाज गरी लिइने सुझाव र गरिने निर्णयहरुले समस्याको समाधान नभई थप समस्या निम्त्याउँछ ।’
सम्पर्क इमेल : [email protected]