‘सूर्तिजन्य पदार्थमा रोक लगाउँ : कोरोनाबाट जोगाउँ’ भन्दै २३ वटा संस्थाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३० बैशाख । कोरोना भाइरस (कोभिड – १९)को संक्रमण बढी रहेका बेला विभिन्न निजी तथा गैरसरकारी संस्थाले सूर्तिजन्य पदार्थ को प्रयोगलाई रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपप्रधान एवं रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण सम्वन्धि उच्चस्तरीय समितिलाई बेग्ला बेग्लै पत्र पठाएर ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा सूर्तिजन्य पदार्थको सेवनकर्ताहरु कोभिड – १९ को उच्च जोखिममा हुने, सूर्ति सेवन गरी जहाँ पायो त्यहि थुक्ने कार्यले रोग फैलने सम्भावना समेत बढ्ने, यसको सेवन गर्नेहरुमा रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने वा घटने भन्दै तत्काल रोक लगाउन माग गरिएको छ ।

पत्रमा विश्व स्वास्थ्य संगठनको चाइना जोइन्ट मिसनले गरेको अध्ययन्, इटालीको राष्ट्रिय स्वास्थ्य संस्थानको प्रतिवेदन, चिकित्सा सम्वन्धी न्यु इग्लाण्ड जर्नलमा प्रकाशित अर्को अध्ययन रिपोर्ट समेत उल्लेख छ ।

यस्तै भारतका विहार, झारखण्ड, तेलंगाना, उत्तराखण्ड, हरियाणा, नागाल्याण्ड, आसाम, उत्तरप्रदेश तथा महाराष्ट्र लगायतका राज्यले लकडाउन अवधीभर सूर्तिजन्य पदार्थको विक्रीवितरणमा प्रतिवन्ध लगाएको उदाहरण प्रस्तुत गर्दै नेपालले त्यहाँबाट पनि सिको गर्न सक्ने उल्लेख गरिएको छ ।

सरकार अहिले बजेटको तयारीमा पनि जुटिसकेको अवस्थामा डव्लुएचओले निर्दिष्ट गरे अनुरुप सूर्तिजन्य पदार्थमा कम्तिमा ७५ प्रतिशत कर पुरयाउन समेत सुझाव दिइएको छ ।

यस्तै सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानूनको पूर्ण कार्यान्वय गर्न गराउन भनिएको छ । यस्तै कोभिड १९ नियन्त्रणका लागि सूर्ति उद्योग र त्यससंग सम्वन्धित व्यक्तिसंग कुनै प्रकारको चन्दा सहयोग र साझेदारी गर्ने कार्यलाई निषेध गर्न भनिएको छ ।

ध्यानाकषर्णण गराउने संस्थाहरुमा स्वास्थ्य सम्वन्धी अनलाइन न्युज पोर्टल नेपालीहेल्थ डटकम, स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, क्यान्सर सोसाइटी नेपाल, बोस्टन कलेज लगायतका २३ वटा संस्था छन् ।

यस्तो छ पत्र

वैशाख २८, २०७७

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : ध्यानाकर्षण सम्बन्धमा ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेको प्रयासको उच्च प्रशंसा गर्दै हामी यो महामारीबाट चाँडै छुटकारा पाउने आशा गर्दछौँ ।

समाजको सचेत सदस्य र देशको जिम्मेवार नागरिक हुनुका नाताले कोभिड– १९ नियन्त्रणमा हामी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने बोध छ । त्यसैले नागरिक समाज, शिक्षाविद्, बुद्धिजीवी तथा पेसागत संस्थाहरूको प्रतिनिधित्व गर्दै कोभिड– १९ नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुग्ने केही उपायहरू प्रस्तुत गर्न चाहन्छौँ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण तीव्र गतिले फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा कोभिड– १९ लाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । आज १० मे २०२० सम्म यो भाइरस दुई सय १२ देशमा फैलिसकेको छ । विश्वभर यो भाइरसबाट ४१ लाख १ हजार ८ सय ८९ जना संक्रमित भइसकेका छन् भने दुई लाख ८० हजार ४ सय ४३ जनाको मृत्यु भइसकेको छ । २८ वैशाख ०७७ सम्म नेपालमा कोभिड– १९ बाट ११० जना संक्रमित भएका छन् भने ३१ जना निको भएर घर फर्किसकेका छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

नसर्ने रोगहरूका प्रमुख कारक विश्वमा झैँ नेपालमा पनि सुर्तीजन्य पदार्थ तथा धूम्रपान हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नसर्ने रोग सम्बन्धी जोखिम तत्व सर्वेक्षण’ (NCDs Step Survey-2019) ले २८.९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोे देखाएको छ । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् । चुरोट सेवन गर्नेको संख्या १७.१ प्रतिशत छ भने धुँवारहित सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको छ ।

नेपालमा हरेक वर्ष करिब २७ हजार एक सय ३७ जनाकोे मृत्यु धूम्रपान सेवनका कारण हुने गरेको WHO Nepal Fact Sheet 2018 मा उल्लेख छ । नेपालमा प्रमुख नसर्ने रोगहरू क्यान्सर, हृदयघात, मिर्गौला रोग, मधुमेह तथा उच्च रक्तचाप आदि हुन् र यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो भन्ने WHO NCD’s Country Profile 2018 ले देखाएको छ ।

नसर्ने रोगका बिरामीहरू कोभिड– १९ को संक्रमणको उच्च जोखिममा रहने र संक्रमित भइसकेपछि गम्भीर बिरामी पर्ने वा मृत्यु नै हुने विभिन्न देशमा भएका अध्ययनले देखाउँछ । कोभिड– १९ सँग सम्बन्धित WHO China joint mission ले गरेको अध्ययनले पनि नसर्ने रोग लागेका मान्छेहरूको मृत्युदर अरूको भन्दा बढी भएको आँैल्याएको छ । त्यसैगरी इटालीको राष्ट्रिय स्वास्थ्य संस्थान (Italy’s National Institute of Health) को प्रतिवेदनमा कोभिड– १९ को संक्रमणबाट मृत्यु भएकामध्ये ९९ प्रतिशत मानिस नसर्ने रोगबाट पहिले नै ग्रसित भएको उल्लेख छ । चिकित्सा सम्बन्धी ‘न्यु इंग्ल्यान्ड जर्नल’ (New England Journal of Medicine) मा प्रकाशित अर्को अध्ययन अनुसार कोभिड– १९ को गम्भीर लक्षणहरू धूम्रपान नगर्नेको तुलनामा धूम्रपान गर्नेहरूमा २.४ गुणाले बढी हुने देखाएको छ ।

यी सबै अध्ययन अनुसार सुर्तीजन्य पदार्थले नसर्र्नेे रोग निम्त्याउने, नसर्र्नेे रोग लागेका मान्छेहरूमा कोभिड– १९ को संक्रमणको जोखिम उच्च बनाउने, संक्रमित भइसकेपछि सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्ने र अन्तमा मृत्युको दर पनि बढी रहने निष्कर्ष निकालेको छ ।

कोरोना भाइरस हावाबाट सर्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित नभए पनि धुँवाबाट सर्ने सम्भावना भने उच्च छ । धूम्रपान गर्ने व्यक्तिले फालेको धुँवा धेरै परसम्म जान्छ र धेरैबेरसम्म हावामा अडिन्छ । धुँवा फाल्ने व्यक्ति संक्रमित भएमा उनले फालेको धुँवाबाट वरिपरि बस्नेलाई सजिलै संक्रमित बनाउन सक्छ । तसर्थ धूम्रपान नगर्न सार्वजनिक आह्वान गर्न आवश्यक छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
उपरोक्त तथ्य तथा प्रमाणको आधारमा हामी तपसिल बमोजिमका उपायहरू तत्काल अवलम्बन गर्न- गराउनुहुन हार्दिक आग्रह गर्दछौँ ।

१. धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुन्छन्, त्यसैले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थ त्याग्न प्रेरित गरेर कोभिड– १९ बाट हुने गम्भीर जोखिम न्यूनीकरण गर्न सकिन्छ, एक व्यक्तिबाट अर्कोमा संक्रमणको दर पनि कम हुन्छ तथा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत पुग्छ । यी विषय समेटेर सन्देशमूलक सूचनाहरू टेलिभिजन, रेडियो तथा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रकाशन र प्रसारण गर्ने ।

२. कोभिड– १९ संक्रमितहरूको अभिलेख राख्दा सुर्तीजन्य पदार्थ तथा धूम्रपान गर्ने गरेको वा नगरेको अभिलेख राख्न व्यवस्था मिलाउने ।

३. कोभिड– १९ को बढी जोखिममा रहेका उच्च रक्तचाप, मुटुरोग, मधुमेह, क्षयरोग, मिर्गाैला रोग, क्यान्सर आदि रोगका बिरामीले नियमित सेवन गर्ने औषधि तथा स्वास्थ्य सेवाहरूको निरन्तर आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्ने ।

४. कोभिड– १९ को संकटसँग लड्न बारम्बार साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, शारीरिक व्यायाम तथा योग गर्ने, पोषिलो आहार सेवन गर्ने, मद्यपान त्याग्ने र बन्दाबन्दी अवधिभर मानसिक स्वास्थ्य सुरक्षा सम्बन्धी शिक्षामूलक सूचनाहरू विभिन्न सञ्चार माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने ।

५. सुर्तीजन्य पदार्थ जस्तै गुट्खा, पानमसला, सुपारीका प्रयोगकर्ताले जथाभावी थुक्ने हँुदा समुदायमा कोभिड– १९ को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले भारतका बिहार, झारखण्ड, तेलंगाना, उत्तराखण्ड, हरियाणा, नागाल्यान्ड, आसाम, उत्तर प्रदेश तथा महाराष्ट्र लगायतका राज्यले लकडाउन अवधिभर यस्ता सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तो उदाहरण तत्काल नेपालमा पनि लागू गर्न आवश्यक छ ।

६. नेपाल सरकारले कोभिड– १९ रोकथाम गर्न गरेको लकडाउनको मौका छोपी अतिआवश्यक सामग्रीहरू जस्तै– दूध, फलफूल तथा खाद्यान्नका सवारीसाधनमा चुरोट, खैनी, गुट्खा पनि आपूर्ति गर्ने तथा आपूर्तिका अन्य उपायहरू अवलम्बन गर्न सक्ने हुँदा सुर्तीजन्य पदार्थ आपूर्ति र बिक्रीमा पूर्ण रूपमा बन्देज लगाउने तथा नियमित रूपमा बजार अनुगमन गर्ने ।

७. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा सुर्तीजन्य पदार्थ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन तथा प्रवद्र्धन कार्य गर्न नपाइने स्पष्ट उल्लेख भए पनि धेरैजसो सुर्तीजन्य पदार्थहरू (जस्तै– ई–सिगरेट, भेप, सिसा, वाटर पाइप इत्यादि) को विज्ञापन तथा बिक्री–वितरण विभिन्न अनलाइन पोर्टलहरूमा अझै पनि विद्यमान छ । त्यस्ता विज्ञापनले लकडाउनको बेला लामो समयसम्म घरैमा बसेका युवा, विद्यार्थी र बच्चाहरूमा सुर्तीजन्य पदार्थ सेवनको लत बसाउन उत्प्रेरित गर्न सक्ने हुँदा यस्ता विज्ञापन तथा प्रवद्र्धनमा प्रतिबन्ध लगाउने ।

८. सुर्ती उद्योग र उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट कोभिड– १९ नियन्त्रण सम्बन्धी कुनै प्रकारको चन्दा, सहयोग र साझेदारी गर्ने कार्यलाई निषेध गर्ने ।

९. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन शतप्रतिशत कार्यान्वयन गर्दै सार्वजनिक स्थानहरूलाई तत्काल र पूर्ण रूपमा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने ।

१०. नेपाल सरकार कोभिड– १९ विरुद्ध लडाइँमा मात्र छैन, आगामी वर्षका लागि बजेट निर्माणमा पनि जुटिरहेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरे अनुसार सुर्तीजन्य पदार्थमा करको दायरा यही बजेटमा आउने गरी ७५ प्रतिशत पु¥याउने ।

कोभिड– १९ महामारी नियन्त्रणमा सरकारको प्रयासलाई थप सहयोग पुगोस् भन्ने हेतुले उपरोक्त उपाय लागू गर्न आग्रह गरेका छौँ । साथै, सबै पक्षको आपसी सहयोग र अथक प्रयासद्वारा यो विश्वव्यापी महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

भवदीय,

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *