कोरोना उपचारको तयारी सहित राष्ट्रिय ट्रमा सेन्टरको सेवा निरन्तर
काठमाडौँ, ४ बैशाख । कोरोना भाइरसको संक्रमणको प्रकोप बढ्दो क्रममा रहँदा कतिपय अस्पतालले आफ्ना नियमित सेवामा भारी कटौती गरेका छन् । तर महावौद्धको राष्ट्रिय ट्रमा सेन्टर भने सो मामिला अपवात देखिएको छ । उसले आफूकहाँबाट हुँदै आएको सेवालाई जारी राखेको छ ।
ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलका अनुसार, ट्रमा सेन्टरमा अहिले पनि दैनिक एक दर्जन अत्यावश्यक शल्यक्रिया भइनै रहेका छन् । दुई चार महिनापछि शल्यक्रिया गर्दा पनि हुने जोर्नी, नशा च्याप्पिएका, ट्युमरलगायत ‘केस’ बाहेक ‘इमर्जेन्सी’ सेवा समेत चालु रहेको छ । बहिरंग सेवाचाहिँ बन्द रहेको छ ।
डा. पौडेल भन्छन्, ‘घरका छत, रुख, भीरबाट खसेर घाइते भएकाहरुको ‘केस’ इमर्जेन्सीमा दैनिकजसो आइनै रहेका छन् । विगतको तुलनामा ८० प्रतिशत विरामी इमर्जेन्सीमा आइनै रहेको अवस्था छ । उनीहरुको उपचार त गर्नुपरयो ।’
ट्रमामा जनरल वार्ड सहित, आइसीयू, पोस्ट अपरेटिभ वार्ड, इमर्जेन्सीगरी दुई सय बेड छन् । अस्पतालमा अहिले पनि ९१ विरामी उपचारका क्रममा रहेका छन् । अस्पतालमा ३० वटा इमर्जेन्सी छ । नौ वटा पोस्ट अपरेटिभ वार्ड रहेको छ । अहिले पनि दैनिक ३० वटा बेडमा इमर्जेन्सीका विरामी आउने गरेको डा. पौडेलले जानकारी दिए ।
दैनिक चार सयले सेवा लिंदैआएको बहिरंग सेवा अहिले बन्द अवस्थामा छ । ११ वटा आइसीयू कक्ष रहेका छन् । आवश्यक परेमा ‘हाई डिपेन्डेन्सी’ आठ वार्डलाई आइसीयूमा बदल्न सकिने डा।पौडेलले जानकारी दिए ।
कोरोनाविरुद्धको तयारी कस्तो छ ?
कोरोना भाइरस सङ्क्रमणको महामारी अवस्था आएमा ट्रमा सेन्टरलाई पनि कोरोना उपचारका गर्ने ‘डेडिकेटेड’ अस्पतालमा रुपान्तर गर्ने योजना सरकारको छ । सो अनुसार अस्पतालले तयारी र योजना बनाएको छ ।
अस्पतालले ‘स्क्रिनिङ’ सेवा सुरु गरिसकेको छ । अस्पतालमा आएकाको ‘ट्राभल हिस्ट्री’ लिने, ज्वरो नाप्ने, कोरोना सम्बन्धी फर्म भराउने कार्य थालिएको छ । डा. पौडेलका अनुसार, अस्पतालको इमर्जेन्सीमा छ वेडको आइसोलेसन समेत तयार पारिएको छ ।
वार्डमा समेत चार वेडको आइसोलेसन बनाइएको छ । तत्कालको लागि स्वाब परीक्षण पोजेटिभ देखिएमा ‘डेडिकेटेड’ अस्पतालमा पठाइने जनाइएको छ ।
ट्रमाका प्रमुख डा. पौडेलले ट्रमा सेन्टरलाई कोरोना उपचार गर्ने ‘डेडिकेटेड’ अस्पतालमा तत्कालै रुपान्तरण गर्न सकिने गरी तयारी गरिसकिएको बताए ।
उनका अनुसार, उपचारका लागि चिकित्सकको ‘रोष्टर’ तयार गरिसकिएको छ । तत्कालै ५० वेड कोरोना उपचारमा रुपान्तरण गर्न सकिन्छ । अस्पतालले १५ वटा भेन्टिलेटरको जोहो समेत गरिसकेको छ ।
डा. पौडेलले केही स्वास्थ्य सामग्री र उपकरण सरकारबाट प्राप्त भएको र केही आफैँले जोहो गरेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


