नारायणी अस्पतालका अन्य बिरामीलाई नेशनल मेडिकल कलेजमा सारिदै

592
Shares

काठमाडौँ, २ बैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा परेका तीन जना भारतीय सहित चार जनालाई राखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई नजिकैको नेशनल मेडिकल कलेजमा सारिने भएको छ ।

संक्रमित विरामी र अन्य विरामीलाई एकै ठाँउमा राखेर उपचार गर्दा खतरा हुने भएपछि उनीहरुलाई अर्को अस्पतालमा सार्न लागिएको हो । अहिले नारायणी अस्पतालमा करीब ८० जना भर्ना भएका विरामी छन् ।

स्वास्थ्य तजा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाई प्रमुख डा गुणराज लोहनीले नारायणी अस्पतालमा संक्रमित बिरामीको उपचार हुने भएपछि अन्य बिरामीको त्यहाँ उपचार गर्न असुरक्षित हुने भन्दै मेडिकल कलेजमा सार्न निर्देशन दिइएको बताए । उनले निजी अस्पतालमा उपचार गर्दा लाग्ने खर्च सरकारले बनाएको अन्तरिम कार्यविधि अनुसार हुने समेत स्पष्ट पारे । सो कार्यविधिमा सेवाग्राहीले निजी अस्पतालमा सिफ्ट हुँदा तिर्ने शुल्क स्वास्थ्य बीमाले तोकेको भन्दा बढी नहुने उल्लेख छ ।

नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बिरामी सिफ्ट गर्न मन्त्रालयबाट पत्र पाएको भन्दै अब सोही अनुसार गर्न लागेको बताए । उनले अस्पतालका सबै विभागमा गरेर ८० – ९० जना विरामी सिफ्ट गर्नुपर्न सक्ने बताए ।

संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई होटलमा बस्ने व्यवस्था

यसैबीच अस्पतालले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक नर्स तथा प्यारामेडिक्स तथा सहयोगीहरुलाई होटलमा बसोबासको व्यवस्था मिलाएको छ । ‘आदर्श नगरमा रहेको होटल कन्ट्री इनमा बस्ने व्यवस्था मिलाएका छौँ ,’ मेसु डा उपाध्यायले भने ।

स्थानीय व्यवसायी हरि पन्तले ३० बेडको सो होटल स्वास्थ्यकर्मीका लागि दिएका हुन् । ‘उहाँले न्युनतम शुल्क वा आवश्यक परे शुल्क नै नलिन सक्ने समेत आश्वासन दिनु भएको छ । यो बेलामा हाम्रा लागि होटल उपलव्ध गराउनु आफैमा राम्रो कुरा हो,’ डा उपाध्यायले भने ।

सात दिन चौविस घण्टे डिउटी त्यसपछि २१ दिन क्वारेन्टाइन
संक्रमितको उपचार गर्न अस्पतालले चिकित्सक तथा स्वासथ्यकर्मीको टोली चार समूहमा विभाजन गरेको छ । ‘एउटा समूहले सात दिन लगातार उपचार गरेपछि उनीहरु २१ दिन सेल्फ क्वारेन्टाइनमा रहन्छन् । त्यो क्वारेन्टाइन पनि होटल नै हुन्छ,’ डा उपाध्यायले भने ।

संक्रमितको उपचार गर्न एउटा समूहमा ३ जना डाक्टर, ४ जना नर्स, २ जना प्यारामेडिक्स, २ जना सहयोगी गरी ११ जनाको टीम रहेको छ । त्यो ११ जनाको टीमले विहान दिउसो र राती गरी तीन समूहमा बाढिएर २४ घण्टा डिउटी गर्नेछन् ।

एउटा समूहले सात दिन लगातार डिउटी गरेपछि उनीहरु क्वारेन्टाइनमा जाने र अर्को समूह उपचारका लागि आउने व्यवस्था भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *