क्वारेन्टाइनबाट विदाई भएको तीन दिनपछि कोरोना रिपोर्ट पोजेटिभ, संक्रमितलाई लगियो सेती अस्पताल
काठमाडौँ, १ बैशाख । कोरोना संक्रमणको सम्भावना नरहेको भन्दै क्वारेन्टाइनबाट विदाई भएकी महिलाको घर पुगेको तीन दिन पछि रिपोर्ट पोजेटिभ आएको पाइएको छ । कैलालीमा आज थपिएको १३ औँ संक्रमित लम्की चुहा नगरपालिका – १ भरुवाकी ६५ बर्षीया महिला हुन् ।
उनी गत २८ चैतमा लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट विदाई भएकी थिइन । ‘दुई हप्ते क्वारेन्टाइनपछि गरिएको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)मा समेत रिपोर्ट नेगेटिभ रिपोर्ट आएपछि उनी विदाई भएकी हुन् तर उनी घर गएको ३ दिन पछि पीसीआर रिपोर्ट भने पोजेटिभ देखियो,’ स्थानीय हेल्थ असिस्टेन्ट तप्त भण्डारीले भने ।
विहानै रिपोर्ट पोजेटिभ आएको थाह पाएपछि सेती प्रादेशिक अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले एम्बुलेन्समा हालेर उनलाई अस्पतालको आइसोलेसनमा पुरयाइसकेका छन् ।
वीरगञ्जमा सामान्य चिया पसल गर्ने उनी गत ९ चैतमा लम्की पुगेकी थिइन । उनीमात्रै होइन त्यसबेला उनको समूहमा अरु १७ जना पनि थिए । सुरुमा उनलाई क्वारेन्टाइनमा राख्न पनि समस्या थियो । तर पछि सबैलाई सम्झाई बुझाई गरेपछि उनीहरु क्वारेन्टाइनमा बस्न राझी भएका थिए ।
राष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको टोलीले गत २५ चैतमा नै उनीहरुको कोरोना परीक्षण गर्न आरडीटी र पीसीआरका लागि नमूना संकलन गरिएको थियो । आरडीटीको नतिजा उतीखेरै आएपनि पीसीआरको भने नतिजा आउन ढिलाई भयो । स्थानीय जनप्रतिनिधिले गत २८ चैतमा उनलाई संक्रमण हुन नसक्ने भन्दै क्वारेन्टाइन मुक्त गरिदियो । तर त्यसको तीन दिनपछि रिपोर्ट आयो पोजेटिभ ।
‘उहाँ घर गईसक्नु भएको अवस्था थियो । अब पोजेटिभ आएपछि कन्टयाक ट्रेसिङको काम अघि बढाउनुपर्ने देखिएको छ । यसको तयारी हुँदैछ,’ हे अ भण्डारीले भने ।
यी महिलासंगै अब सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएर उपचाररतको संख्या ५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


