अवकाश भइसकेका चिकित्सकलाई पुन: सेवामा फर्कन आव्हान गरिदै
काठमाडौँ, २७ चैत । सरकारले अवकाशमा रहेका चिकित्सकलाई पुन : सेवामा बोलाउने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड – १९)को सम्भावित जोखिम न्युनिकरण तथा नियन्त्रणमा परिचालन गर्न अवकाश भईसकेका चिकित्सकलाई सेवामा बोलाउन लागेको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही दिन भित्रै अपिल गरी अवकाशमा रहेका बरिष्ठ तथा अनुभवी चिकित्सकलाई कोरोना विरुद्धको अभियानमा लाग्नका लागि आवहान गर्न लागेको बताए । उनले त्यसरी बोलाउँदा राज्यका तर्फबाट निश्चित सुविधा उपलव्ध गराउने समेत जानकारी दिए ।
‘उहाँहरुको अनुभव र विशेषज्ञता छ । काममा फर्काएर उहाँहरुको सल्लाह सुझाव र सहयोग लिन सकिन्छ । त्यसका लागि सरकारले सार्वजनिक रुपमा आवहान गर्नेछ,’ मन्त्री ढकालले भने ।
यस्तै सरकारले मेडिकल कलेजमा छात्रबृत्तिमा अध्ययन्रत विशेषज्ञ चिकित्सकलाई समेत कोरोना नियन्त्रणमा खटाउने योजना अघि सारेको छ । यसरी कोरोना नियन्त्रणको अभियानमा खटाइने अध्ययनरत चिकित्सकलाई पनि विशेष सुविधा उपलव्ध गराउने सरकारको तयारी छ ।
मन्त्रालयले अवकाश पाएका र अध्ययन गर्दै गरेका चिकित्सकलाई सुविधा सहित तीन महिनाका लागि छुट्टै सम्झौँता गरी खटाउने योजना गरेको छ ।
यसअघि सरकारले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सरकारी सेवामा आउन वा निजी अस्पतालमै कोरोना नियन्त्रणको लागि खटिने व्यवस्था मिलाएर भत्ता लिन आग्रह गरिसकेको छ ।
विश्वव्यापी महामारी रुपमा देखा परेको कोरोनाको संक्रमण रोकिने छाँट नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तयारी अघि बढाएको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

