‘र्यापिड टेष्ट किट’ २०० जनामा परीक्षण गरिदै
काठमाडौँ, २४ चैत । सरकारले कैलाली, कंचनपुर र बाग्लुङमा र्यापिड टेष्ट किटबाट समुदायस्तरमा कोरोना भाइरस (कोभिड – १९)को परीक्षण गर्ने निर्णय गरे लगत्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले किट परीक्षणलाई तिब्रता दिएको छ ।
प्रयोगशालाले शुरुमा र्यापिड टेष्ट किटको परीक्षण गर्ने र त्यसपछि समुदायस्तरमा परीक्षणमा जाने तयारी गरेको हो ।
प्रयोगशालाले पहिलो चरणमा कैलालीका विभिन्न क्वारेन्टाइनमा रहेका २०० जनाको व्लड स्याम्पल लिएर र्यापिड टेष्ट किटबाट परीक्षण गर्ने र उनीहरुकै थ्रोट स्वाव लिएर पीसीआर विधिबाट परीक्षण गर्ने बताएको छ ।
‘दुई सय जनाको २०० जनाको परीक्षण गर्दा र्यापिड टेष्ट किटको ‘भ्यालिडिटेसन’ कस्तो छ भन्ने देखिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले भनिन् । उनले सो किटको विश्वसनीयता र गुणस्तर जाँच भइसकेपछि अरु धेरै ठाँउमा यसको प्रयोग गरिने बताइन ।
डा झाले परीक्षणका लागि चीनबाट यसै साता खरीद गरेर ल्याएको ७५ हजार र्यापिड टेष्ट किट र यहिका बजारमा पाइएका फरक कम्पनीका किटहरु प्रयोग गरिने जानकारी दिइन ।
यता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले र्यापिड टेष्ट किट र पीसीआर कीटले दिने नतिजाको भेरिएसन गरी प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने सुझाव दिनेछ ।
एनएचाआरसीका अनुसन्धानविद डा. मेघनाथ धिमालले र्यापिड टेष्ट किटको गुणस्तर र प्रयोगको बारेमा अनुसन्धान शुरु गरिएको बताए । उनले नेपालमा ल्याइएका र्यापिड टेष्ट किट गुणस्तर तथा प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा अनुसन्धान एनएचआरसीले गरेको र त्यसको प्राविधिक तहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघाएको बताए ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले कैलाली र कंचनपुरका क्वारेन्टाइनमा रहेका सबै, बाग्लुङका कोरोना संक्रमित व्यक्तिहरुको वासस्थान वरपर र तिनिहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड टेष्टकिट प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्ने निर्णय गरेको थियो । यस्तै सो बैठकले चैत महिनामा नेपाल प्रवेश गरेका र तिनीहरुको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको समेत र्यापिड किटबाट परीक्षण गर्ने गराउने निर्णय गरेको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

