अब ‘ह्याण्ड स्यानिटाइटर’ पनि मेडिकल उपभोग्य सामग्रीको सूचीमा
काठमाडौँ, ८ चैत । सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीपछि सबैभन्दा बढी खोजी भएको ह्याण्ड स्यानिटाइजरलाई चिकित्सा उपभोग्य बस्तु (मेडिकल कन्जुमेवल गुड्स) को सूचीमा राख्ने निर्णय गरेको छ ।
स्वास्थ्य सामाम्री तथा उपकरणसम्वन्धी निर्देशिका २०७४ मा पहिलो संसोधन गर्दै ह्याण्ड स्यानिटाइजरलाई मेडिकल कन्जुमेवल गुड्सको सूचीमा राख्ने निर्णय गरेको हो ।
ह्याण्ड स्यानिटाइजरलाई मेडिकल कन्जुमेवल गुड्सको सूचीमा राख्नुपर्ने प्रस्ताव औषधि व्यवस्था विभागले ल्याएको थियो । शुक्रबार सोही प्रस्तावलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकाललले मन्त्रीस्तरीय निर्णय गर्दै स्वीकृति दिएका हुन् ।
मेडिकल कन्जुमेवल गुड्समा अहिलेसम्म सर्जिकल कमोडिटिज( ग्याग, व्याण्डेज, कटन, सर्जिकल ग्लोव्स, क्याथेटर, डिस्पोजेवल सुई लगायतका सामग्रीहरु राखिएको थियो ।
‘अब यो सूचीमा ह्याण्ड स्यानिटाइजर पनि थपियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने ।
उनले सूचीमा परेसंगै अब यो प्रडक्ट उत्पादन खरीद तथा विक्रीका लागि औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्ने बताए । ‘यो अव भोलि देखि नै लागू हुन्छ । तर हामीले यसको दर्ता हुन आउनका लागि तीन महिनाको समयसिमा दिनेछौँ । अब भोलिबाट नै यो डिडिएमा आएर दर्ता हुनुपर्छ,’ उनले भने ।
उनले दर्ता भएसंगै गुणस्तर नियमन तथा अनुगमन हुने समेत बताए ।
नेपालका औषधि उत्पादक कम्पनीहरुले ह्याण्ड स्यानीटाइजर उत्पादन गरेपनि अहिलेसम्म यो कहि कतै दर्ता भएको थिएन । विभागले ह्याण्ड स्यानिटाइजरमा आयातमा तत्काल रोक नलगाएपनि स्वदेशी उद्योगलाई प्रवर्धन गर्न भन्दै निकट भविस्यमै आयात रोक लगाउने तयारी गरेको छ ।
कोरोनाबाट जोगिन हात धुनु मुख्य सुरक्षात्मक उपाय हो भन्ने थाह भएपछि अहिले नेपाली बजारमा ह्याण्ड स्यानिटाइजर अभाव भएको छ । विक्री भएका ठाउँमा समेत प्रचलित मूल्यभन्दा निकै धेरै मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता छ ।
सम्पर्क इमेल : [email protected]