गाँउ सेवा परिवारद्धारा स्याङजाको चण्डीभन्ज्याङमा बृहत नि:शुल्क स्वास्थ्य शिविर

304
Shares

स्याङ्जा, ३ चैत ।  कालिगण्डकी गाँउपालिका – १ चण्डीभन्ज्याङ स्याङ्जामा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाँउ सेवा परिवार विर्घा  स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा सिविर सञ्चालन भएको हो ।

गत शनिबार भएको उक्त शिविरमा ४२६ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको गाउँ सेवा परिवारका अध्यक्ष एवं सिविर संयोजक डा धनबहादुर रानाले जानकारी दिए ।

शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिईएको थियो । यस्तै शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाव जाँचको व्यवस्था समेत गरिएको थियो ।

शिविरका लागि बीपी स्मृति अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा ८ जना, पाल्पास्थित युनाइटेड मिसन अस्पतालबाट ५ जना, लुम्बिनी मेडिकल कलेजबाट ३ जना र चापाकोट नगरपालिकाबाट ३ जना गरी १९ जना चिकित्सक खटिएका थिए । यस्तै नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका गरी २१ जना स्वास्थ्यकर्मीको टोली पनि खटिएको थियो ।

परीक्षण गर्न आएकाहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण समेत गरिएको थियो ।

‘चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी शिविरमा ४० जना स्वास्थ्य प्राविधिक टोली खटिएको थियो । यति बृहत शिविर त्यस क्षेत्रमा यसअघि भएकै थिएन,’ डा रानाले बताए ।

उनका अनुसार परीक्षणका क्रममा गाँउमा मधुमेह, उच्च रक्तचाप साथै पाठेघर खसेका विरामीहरुको संख्या धेरै नै देखिएको थियो । यस्तै मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या भएका, छालारोग सम्वन्धी समस्या भएका विरामीको सख्या समेत उल्लेख्य थियो । ‘यो शिविरले गाँउमा सेवा त भयो नै, कतिपय व्यक्तिमा रोग र त्यसविरुद्ध सचेतना जागरुक समेत गराएको छ,’ डा रानाले भने ।

गाँउ सेवा परिवार विर्घाद्धारा एम्बुलेन्स हस्तान्तरण


गाँउ सेवा परिवार  विर्घाले आफ्नो पहलमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स विर्घा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । शिविरकै अवसरमा शनिबार आयोजित विशेष समारोहमा गाँउपालिका अध्यक्ष खिमबहादुर थापा, विर्घा स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणी पाण्डे र स्वास्थ्यचौकी प्रमुख एकबहादुर थापालाई परिवारका अध्यक्ष डा राना तथा महासचिव राजेन्द्रप्रसाद पाण्डेले संयुक्त रुपमा साँचो हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै डा रानाले एम्बुलेन्स भएपछि अब गाँउका विरामीलाई सेवा लिन जान सहज हुने बताए ।

गाँउ सेवा परिवार  विर्घाका महासचिव राजेन्द्र पाण्डेले एम्बुलेन्स आएपछि त्यस क्षेत्रका विरामीका लागि ठूलो मद्धत पुग्ने बताए ।  उनले भने, ‘विर्घामा एम्बुलेन्स भएपछि यहाँका लागि मात्रै होइन सिमा जोडिएका छिमेकी जिल्ला पाल्पा र गुल्मीका स्थानीयहरुका लागि समेत लाभ हुनेछ ।’ उनले  गाँउ सेवा परिवारले आफ्नो जन्मभुमीलाई केही गरौँ भन्ने उद्धेश्यका साथ आफ्ना गतिविधि अघि बढाएको भन्दै शिविर सञ्चालन गर्नु, एम्बुलेन्स उपलव्ध गराउनु त्यसैको निरन्तरता हो भने ।

कोरोना भाइरस तथा महिनावारी सम्वन्धी सचेतना कक्षा सञ्चालन

शनिबार शिविरका लागि चण्डीभन्ज्याङ पुगेको टोलीले आइतबार विर्घास्थित जनता उमाविमा कोरोना भाइरस तथा महिनावारी सम्वन्धी सचेतना कक्षा सञ्चालन गरेको छ । सचेतना कक्षा डा रानाको अगुवाईमा भएको थियो ।

‘खासगरी जनता माविका शिक्षक विद्यार्थी सहित ४ नम्बर वडा क्षेत्रमा पर्ने अन्य स्कुलका स्वास्थ्य शिक्षक तथा स्थानीय अभिभावकको भेला गरी अहिले देखिएको कोरोना भाइरसबारे सचेतना कार्यक्रम गरियो । यस्तै स्कुलका शिक्षक तथा छात्राहरुलाई महिनावारी सम्वन्धी कक्षा समेत लिइयो त्यसको नेतृत्व मैले लिएको थिएँ,’ डा रानाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *