अब तापक्रम जाँचेर मात्रै सिंहदरबार !
काठमाडौँ, २ चैत । सरकारले सिंहदरबार छिर्ने हरेक व्यक्तिको तापक्रम लिने भएको छ । देशकै मुख्य प्रशासनिक क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम नहोस भन्नका लागि हरेक व्यक्तिको तापक्रम लिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले दिएको निर्देशन अनुसार सिंहदरबारका मुल गेटमा तापक्रम परीक्षण गर्ने व्यवस्था हुन लागेको बताए ।
‘अब सिंहदरबार छिर्नका लागि प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारी र सर्वसाधारण अर्थात जो सुकैले स्वास्थ्य परीक्षण (तापक्रम जाँच) गरेर मात्रै अनुमति पाइने भयो । समन्वय समितिले तत्काल त्यसको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ । हामी अहिले त्यसैको तयारीमा लागेका छौँ । सकैसम्म आजैबाट सो कार्यको तयारी गर्दैछौँ,’श्रेष्ठले भने । उनका सिंहदरबार छिर्ने मुल गेटहरु (दक्षिण, पश्चिम र उत्तर) मा रहने स्वास्थ्यकर्मीले इन्फाइराईड थर्ममिटरबाट ज्वरो जाँच गर्नेछन् ।
भित्र गईसकेपछि हरेक मन्त्रालयको गेटमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था हुने र हात सफा गरी भित्र छिर्ने व्यवस्था मिलाउन लागिएको समेत जानकारी दिए ।
आफ्नो स्वास्थ्य आफैले पनि ख्याल गरौँ : प्रवक्ता
यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आफ्नो स्वास्थ्य आफैले ख्याल गर्न आम सर्वसाधारणसंग आवहान गरेका छन् । उनले भने, ‘ कोरोनाबारे व्यक्ति व्यक्ति सचेत हुन जरुरी छ । विशेषगरी कोरोना प्रकोप भएका मुलुकबाट फर्किएको व्यक्तिका लागि हामीले सेल्फ क्वारेन्टाइनमा रहने कुरा भनिसकेका छौँ । त्यस्ता व्यक्ति र त्यस्ता व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको आफ्नो तापक्रम बढेको, ज्वरो आएको, सुख्खा खोकी लागेको, तथा स्वास फेर्न गाह्रो भएको अवस्था छ भने आफै सचेत बनौँ र स्वास्थ्यकर्मीको सम्पर्कमा जाऔँ ।’
उनले स्वास्थ्य मन्त्रालयमा छिर्ने सबैको तापक्रम लिने भन्ने निर्णय भइनसकेको जानकारी दिए ।
कोरोनाको जोखिम पछि स्वास्थ्य मन्त्रालयको धारामा पानी आउन थाल्यो
यसैबीच स्वास्थ्य मन्त्रालयको गेटको दाँया तर्फ तीन बर्ष अघि बनाएको खानेपानीको धारामा पानी आउन थालेको छ । मन्त्रालयले कर्मचारी र सेवा ग्राहीलाई सो धारामा सावुन पानीले हात धोएर मात्रै भित्र छिर्न भनेको छ । यद्धपी धारामा सावुन भने राखिएको छैन् ।
‘कोरोनाको हल्लाले वेवारिसे बनेको धारामा पानी आउन थाल्यो । यो पनि ठूलो उपलव्धी हो,’ मन्त्रालयका एक कर्मचारीले व्यंग्यात्मक शैलीमा भने, ‘अब एउटा सावुन पनि राखिदिए गज्जब हुने थियो ।’
सम्पर्क इमेल : [email protected]