३० रुपैयाँमा पाइने मास्कलाई १०० रुपैयाँमा बेच्दै फार्मेसी !

944
Shares

ललितपुर, २३ फागुन । तीस रुपैयाँमा पाइने मास्कलाई १०० रुपैयाँमा बेच्ने गरेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क बेच्ने गरेको पाइएको हो ।

समितिले अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको पाइएको छ ।   सो फार्मेसीसँग खरीद बिल पनि नभएको पाइएको छ । सो पसलबाट छ थान मास्क जफत गरिएको छ ।

यसैगरी पाटन अस्पताल नजीकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेवापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ । बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे ।

अनुगमनमा समितिमा विभागका कर्मचारी रेवती ज्ञवाली, विष्णुप्रसाद शर्मा र विकल श्रेष्ठलगायत उद्योग वाणिज्य सङ्घ ललितपुरकी गीता न्यौपाने, प्रहरी प्रभाग लगनखेलका प्रहरी सहायक निरीक्षक राम शर्मा न्यौपाने थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *