डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली

120
Shares


डोल्पा, २१ फागुन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, ¥याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ ।

रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा पुग्नुभएको हो । नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ ।

त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट जानुभएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए ।

हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरललगायतका आवश्यक औषधिसमेत बोकेर लगेको रावलले बताए । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् ।

पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् । डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगका विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *