दृष्टि जाँच अभियान शुभारम्भ, एक महिना भित्र एक लाख जनाको परीक्षण गरिने

2.7k
Shares

काठमाडौँ, १९ फागुन । मार्च महिनालाई भिजन स्क्रिनिङ मन्थको रुपमा अघि सार्दै नेपाल दृष्टि विशेषज्ञ संघले बृहत दृष्टि जाँच अभियान शुरु गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको दृष्टि परीक्षण गरी संघले अभियान शुरु गरेको हो ।

अभियानका नेशनल कोअर्डिनेटर डा दीपक शाहका अनुसार यो अभियान सातवटै प्रदेशका विद्यालय तथा समुदायमा लगिनेछ । अभियान अन्तरगर्त मार्च महिनाभर एक लाख जनाको दृष्टि परीक्षण हुनेछ । त्यसका लागि संघले दृष्टि विशेषज्ञ, मेडिकल विद्यार्थी तथा स्वास्थ्य स्वयंसेवक गरी ६० जना भन्दा बढी खटिनेछन् ।

‘यो अभियानबाट खासमा दृष्टि (भिजन) जाँच त हुने नै भयो । अर्को महत्वपूर्ण उद्धेश्य भनेको जनचेतना फैलाउनु हो । हामीले स्थानीय तहका विद्यालय तथा समुदायमा गएर दृष्टि जाँच कसरी गर्ने ? किन गर्ने ? भन्ने बारेमा समेत सिकाउने छौँ,’ डा शाहले अगाडी थपे, ‘जव समयमै आफ्नो दृष्टिको अवस्था थाह हुन्छ , समयमै उपचार हुन्छ र दृष्टि गुम हुने सम्भावनाबाट समेत जोगिन सकिन्छ ।’

उनले विद्यालय तथा समुदायमा गएर दृष्टि परीक्षण गर्न सिकाउने बताए । हामीसंग भिजन चार्ट हुन्छ, त्यसले आफैले आफ्नो भिजनको अवस्था थाह पाउन सकिन्छ । तीन तीन महिनामा आफ्नो भिजनको अवस्था हेरेर आवश्यकताका आधारमा थप उपचारमा जान सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले यहि अवस्था रहे सन् २०५० सम्ममा संसारका ५० प्रतिशत मानिसहरुमा मायोपिया अर्थात टाढाको कम देख्ने समस्या हुने चेतावनी दिएको छ । नेपालमा अहिले करीब २० प्रतिशत बालबालिकामा दृष्टि दोष रहेको अनुमान गरिएको छ ।

यसैबीच आइतबार अभियानको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री ढकालले संघले शुरु गरेको यो अभियानमा सरकारको पूर्ण सहयोग हुने बताए । उनले जनताको स्वास्थ्य र जनचेतना अभिबृद्धिका लागि संघले चालेको कदमको प्रसंशा समेत गरे । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सचिव खगराज बराल, प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंह, डा रोशन पोखरेल लगायतको दृष्टि परीक्षण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *