पाल्पा : गर्भवतीलाई अब क्याल्सियम चक्की नि:शुल्क
पाल्पा ९ फागुन । पूर्वखोला गाँउपालिकामा अब गर्भवती महिलाले क्याल्सियम चक्की किन्नु नपर्ने भएको छ । गाँउपालिकाले स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आउने महिलालाई क्याल्सियम निशुल्क उपलव्ध गराउन शुरु गरेको छ । यसअघि स्वास्थ्य चौकीबाट गर्भवतीले आइरन चक्की मात्रै निशुल्क पाउने गर्दथे ।
गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले विहीबार बीरकोट स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आएकी रिता थापालाई निशुल्क रुपमा चक्की वितरण गर्दै यो कार्यको शुभारम्भ गरे ।
गाँउपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीमा दोस्रो पटक गर्भ परीक्षण गर्न आउने महिलालाई क्याल्सियम चक्की निशुल्क उपलव्ध गराइने बताए । ‘यो प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउपालिका हो । यसलाई निरन्तरता र आमा र शिशुको पोषणस्थितिमा सुधार ल्याउन को लागि पनि हामीले नयाँ नयाँ सुविधा थपेका हौँ,’ उनले भने ।
गर्भ चौथो महिनामा पुग्दा पहिलो पटक र छैटौँ महिना पुगेपछि दोस्रो पटक गर्भजाँच गर्नुपर्ने हुन्छ । दोस्रो पटक गर्भपरीक्षण गर्न आउने महिलालाई सुत्केरी नहुँदासम्म निशुल्क क्याल्सियम दिइने ढकालले बताए ।
गाँउपालिकामा चालु आर्थिक बर्षको पुस मसान्तसम्म ७२ जना सुत्केरी भईसकेका छन् । अहिले गाँउपालिकामा १३१ जना महिला गर्भवती छन् ।
सम्पर्क इमेल : [email protected]