कुष्ठरोगको उपचारमा ढिलाइ


काठमाडौँ, १७ माघ । कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । किटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् ।

अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहका अनुसार रोगप्रतिको गलत धारणा विस्तारै कम भए पनि पूरै हट्न सकेको छैन । सामाजिकरुपमा विभेदमा परिने वा धर्मसँग जोडेर हेर्ने हुँदा बिरामी समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुग्ने उनले बताए ।

उनले भने, “त्यसैले पनि सबैभन्दा राम्रो समयमै उपचार शुरु गरेर अङ्गभङ्ग हुनबाट जोगाउने नै हो ।” कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिनेलगायत लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा कतिपय अझै ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ ।

कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा साहले बताए । उनका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रुपमा रहेको छ । उनले भने, “यसले गर्दा किटाणु फैलिएर बिरामीको अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।”

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौँ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले बताएको छ । बिरामीमा बिस्तारै हात वा खुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखापर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुन्छन् ।

सरकारले यो रोग निवारणको घोषणा गरेको नौ वर्ष बितिसक्दा गत वर्ष रोगको प्रकोप शून्य दशमलव ९९ प्रतिशत थियो । वर्षेनी कुष्ठरोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । रोग निवारण भइसकेको भन्दै सरकार र गैरसरकारी संस्थाले भने यस क्षेत्रमा लगानी कम गर्दै गएका छन् । हावाबाट सर्ने रोग भएपनि रोगको किटाणु शरीरमा प्रवेश गर्दा ९५ प्रतिशतलाई रोग प्रतिरोधी क्षमताले काम गर्ने हुँदा बाँकी पाँच प्रतिशतलाई मात्रै रोग सर्न सक्छ ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *