एक सय छ वर्षीयको मोतियाविन्दुको शल्यक्रिया

चितवन, २९ पुस । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थे । एक सय छ वर्षको उमेरमा एक साताअघि आफ्नो देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेसँगै उनमा खुशी थपिएको हो ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी पुननारायण श्रेष्ठको यो उमेरमा सफल शल्यक्रिया भएपछि उनी निकै खुशी भएका छन् । मान्छे चिन्नुहुन्छ भन्न नपाउँदै उनले भने, “तपाईंले लगाएको जकेट कालो रहेछ, पर बसेकाहरुलाई पनि देखेको छु ।” एक वर्षअघिदेखि धमिलो हुँदै गएको आँखाले पछिल्लो समय देख्न छाडेपछि उनी चिन्तित थिए ।

उनलाई आँखाको शल्यक्रिया गर्न नजिकै घर भएकी भरतपुर आँखा अस्पतालमा कार्यरत छायाँ श्रेष्ठले सुझाव दिइन् । त्यतिमात्रै होइन, छायाँले अस्पतालका डा मारिया गौतमसँग परामर्श गरेर शल्यक्रियाको प्रबन्ध पनि मिलाइदिइन् । सफल शल्यक्रियापछि निकै उत्साहित हुँदै वृद्ध श्रेष्ठले आफूले जीवनमा पुनः आँखा देख्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, “उपचार गरे हुँदोरहेछ ।” उनीसँगै रहेका जेठा छोरा नारद श्रेष्ठले डोराएर हिँड्नुपर्ने बुबा आफँै हिँड्न थालेपछि निकै खुशी भएको बताए । अस्पतालका चिकित्सक डा गौतमले वृद्धहरुको शल्यक्रिया कठिन हुने भए पनि बिरामीले चाहेमा सफल शल्यक्रिया गर्न सकिने बताए । आफ्नो जीवनमा यति धेरै उमेरका व्यक्तिको शल्यक्रिया गरेको भने पहिलो भएको उनले बताए ।

उपचारमा उमेरले नछेक्ने भएकाले आत्मबल उच्च गरेर उपचार गर्न आउन गौतमले आग्रह गरे । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको थियो । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ बिरामीको आँखाको उपचार गरिएको हो । नौ आँखा उपचार केन्द्रमार्फत पनि अस्पतालले सेवा दिइरहेको छ । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको थियो । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ । वृद्धहरुको पनि सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको बताउँदै उहाँले त्यस्ता व्यक्तिको उपचारमा अस्पतालले प्राथमिकता दिएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *