वैकल्पिक चिकित्साबाट स्वास्थ्य पर्यटनको प्रवद्र्धनमा जोड


काठमाडौँ, २८ पुस । नेपालमा प्रचलनमा रहेका विभिन्न वैकल्पिक उपचार पद्धतिको प्रवद्र्धन र प्रचारप्रसारबाट नेपाल भ्रमण वर्ष २०२० मा स्वास्थ्य पर्यटनलाई उजागर गर्न सकिने आज यहाँ आयोजित वैकल्पिक चिकित्सा सुदृढीकरण गोष्ठीमा सहभागीले जोड दिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयोजनामा भएको गोष्ठीका सहभागी वक्ताले आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्साका क्षेत्रमा नेपाल विश्वमा निकै अग्रस्थानमा रहेकाले त्यसलाई ‘ब्रान्डिङ’ गर्न सकिएमा स्वास्थ्य पर्यटनका माध्यमबाट बढीभन्दा बढी पर्यटन भित्र्याउन सकिने धारणा राखे ।

गोष्ठीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले सबै वैकल्पिक उपचारका विधालाई अगाडि बढाउन नीतिगत र कानूनी व्यवस्था गर्न लागेको बताउँदै यसमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकले पनि इमान्दारीपूर्वक जनतालाई स्वास्थ्य सेवा दिन सक्नुपर्ने धारणा राखे । विभागअन्तर्गत वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा श्यामबाबु यादवले आम जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य पूरा गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिको संरक्षण र सम्वद्र्धनमा जोड दिइएको बताए ।

राष्ट्रिय आयुर्वेद तथा तालीम अनुसन्धान केन्द्रका महानिर्देशक रामाधार यादवले आयुर्वेदलगायत विभिन्न वैकल्पिक उपचार विधिमा नेपालले हासिल गरेका उपलब्धिलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउनसके स्वास्थ्य पर्यटनका माध्यमबाट विश्वका पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राखे । आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा देवबहादुर रोकाले सबै चिकित्सा विधिका आआफ्नो विशेषता भएकाले सबैलाई समानरुपमा प्रवद्र्धन गर्नुपर्दछ भने । नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा प्रदीप केसीले पनि वैकल्पिक चिकित्सा विधि नेपालका लागि उत्तिकै आवश्यक रहेको बताए ।

आजको प्राविधिक सत्रमा नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले आयुर्वेद तथा वैकल्पिक उपचार विधिमा सरकारका नीति तथा कानून र आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा प्रस्तुतिकरण दिएका थिए । हिमालयन आम्ची एशोसिएशनका अध्यक्ष घ्याछो विष्टले भगवान् गौतमबुद्धको समयदेखि प्रवद्र्धित हुँदै आएको सोवारिग्पा उपचार पद्धति नेपालको मौलिक विधा भए पनि यसलाई राज्यले प्राथमिकता दिन नसकेको गुनासो गरे। नेपाल चाइनिज मेडिसिन डाक्टर एशोसिएशनका अध्यक्ष डा झुलाराम अधिकारीले चीनबाट शुरु भएको अक्युपञ्चर विधि पछिल्लो समय नेपालमा निकै प्रचलनमा रहेको र यससम्बन्धी कानूनी व्यवस्था नहुँदा व्यवस्थितरुपमा सञ्चालन गर्न नसकिएको धारणा राखे ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यशालामा आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ । कार्यशालामा सोवारिग्पा एशोसिएशनलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र चिकित्सक एवं स्वास्थ्यकर्मी गरी २८ जनाको सहभागिता रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *