चिसो मौसममा मुटुका बिरामीले यसरी अपनाउँ सावधानी

उपत्यका सहित देशका सबै भागमा चिसो बढेको छ ।  यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कले प्रष्ट पार्छ ।

कसरी गर्छ असर ?

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, चिसोले सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलिलाई असर पार्छ । चिसो बढदै जादा बाहिरी रक्तनलिहरू खुम्चिन्छन् । रक्तनलि खुम्चिएपछि त्यहाँका रगतहरू भित्री नलितिर जान्छन् । अथवा बाहिरी नलिमा प्रवाह हुने रगतहरू भित्री नलिमै जम्मा भई बस्छन् ।

यसले रगत जम्नसक्ने खतरा पनि हुन्छ । उता बाहिरी नसाका रगतहरू भित्री नसामा प्रवेश गर्दा त्यसको चाप बढछ । भित्री नसामा रगतको बाडी जस्तो हुन्छ यसको प्रत्यक्ष असर मुटुमा पर्न जान्छ । मुटुका धमनीहरूले काम गर्न सक्दैनन् । मुटुमा रक्तप्रवाह अनन्तुलित हुनासाथ त्यसले रक्तचाप बढाउने काम गर्छ ।

त्यतिमात्रै होइन चिसोकै मौसममा रगत जम्ने सम्भावना हुन्छ । किनभने चिसो बढेका बेला रगत जमाउन मद्धत गर्ने (कार्टिसोल )प्रोटिनको स्तर समेत बढछ । शरीरमा तापको मात्रा मिलाउन मुटु बढी क्रियाशिल हुनुपर्छ । यसले पनि प्रेसर बढाउछ ।

जाडोका बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यसबाट समेत व्लड प्रेसर बढन सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसोकै बेला बाथ मुटु समेत हुनसक्छ । चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु हुने समस्या देखापर्छ ।

त्यसैगरी चिसोले फोक्सोमा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसोको कारणले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सोको असरले मुटुमा समेत अप्ठेरो पार्न सक्छ ।

चिसोको कारण दिनहु मान्छेको मृत्युहुनुमा मुटुको समस्या प्रमुख हुन सक्छ । मुटुमा रगतप्रवाह असन्तुलित हुदा यस्तो हुने गर्छ । त्यसैले जाडो बढेका बेला मुटुरोगी, वृद्ध तथा बच्चाहरूले विशेष सावधानी अपनाउनु पर्छ ।

उसो भए के गर्ने त ?
–मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने
–मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने
–व्यायम गर्न परे घरभित्रै गर्ने
–शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।
–छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने
–खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने
–खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने
–तेल तताएर पैतालामा विशेष मालिस गर्ने
–विहानको घाममा ढाड फर्काएर बस्ने
–शरीरमा बाक्ला कपडा लगाउने
–बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के खाने ?
डा.  रेग्मीकै सुझाव यस्तो छ :

–तातो सुपहरू प्रसस्त खाने
–तातो पानी प्रसस्त खाने
–कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।
–गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।
–ज्वानोको झोल बनाई खान पनि सकिन्छ
–गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।
–लसुन तथा अदुवाले पनि फाइदा गर्छ

यति हुदा हुदै पनि मुटुजन्य रोगी बालक तथा वृद्धहरूमा यसको समस्याहरू देखिन थाल्यो भने तत्कालै अस्पतालमा गई सम्वन्धीत चिकित्सकलाई देखाउनु पर्दछ । समयमै सही उपचार हुन सकेन भने चिसोले छिटै ज्यान लिन पनि बेर लाग्दैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *