भक्तपुरको दुवाकोटमै बन्ने भयो वीर अस्पताल

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वीर अस्पतालको दुवाकोट परियोजनालाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रालय स्तरीय विकास समाधान समिति (एमड्याक) बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र वीर अस्पतालका अधिकारीहरुलाई दुवाकोट परियोजना तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

यसअघि प्राविधिकहरुले अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निस्कर्ष निकालेको भन्दै तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परियोजना अघि बढाउन रोक लगाएका थिए ।

‘यो राष्ट्रिय गौरवको आयोजना हो । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठ केन्द्रको रुपमा विस्तार गर्न सरकारले यो जग्गा छुट्टयाएको हो । त्यसैले यसमा अल्मलिनु हुँदैन । तत्काल परियोजनाको काम अघि बढाउनु,’ मन्त्री ढकालले न्याम्सका पदाधिकारीहरुलाई निर्देशन दिए ।

स्वास्थ्य सचिव खगराज बरालले भौगोलिक बनावट अनुसार डिजाइन गर्न सकिने भन्दै परियोजना रोक्न नहुने बताए । ‘नगरकोटमा पनि भवन बनेका छन् । ककनीमा पनि बनेका छन् । माटो र जमिन अनुसारको डिजाइन र लगानी भएका छन् । दुवाकोटमा के के अफ्ट्यारा छन्, त्यो खुलाएर ल्याउनुस तर काम शुरु गरिहाल्नुस’ सचिव बरालले भने ।

सरकारले चार वर्षअघि वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर १ हजार ५ सय शैय्याको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने निर्णय गरेको थियो । कुल ५० अर्व लागतमा निर्माण गरिने सो अस्पतालका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो ।

दुवाकोटको सो परियोजनाका लागि सरकारले चालु आर्थिक बर्षको बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । गत वर्ष सोही परियोजनाका लागि १५ करोड छुट्याएको थियो । तर काम अघि नबढ्दा बजेट फ्रिज भएको थियो ।
उता चागु नारायण नगरपालिकाले वीर अस्पतालको दुवाकोट परियोजनाका लागि सडक विस्तार गर्न २५ करोड रुपैयाँ छुट्याइसकेको छ ।

त्यसो त न्याम्सका तत्कालिन उपकुलपति प्राडा गणेश गुरुङको पालामा नै दुवाकोटमा १ हजार ५ सय शैय्याको अस्पतालसहित विभिन्न प्राज्ञिक तथा प्रशासनिक संरचना बनाउने गरी बृहत् गुरुयोजना बनिसकेको थियो ।

गुरु योजनामा अस्पताल सहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन, विज्ञान भवन, आवास, नर्सिङ क्याम्पसलगायतका संरचना बनाउने तयारी गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “भक्तपुरको दुवाकोटमै बन्ने भयो वीर अस्पताल

  1. हरेक जिल्ला र हरेक निर्वाचन क्षेत्रमा जन शंख्या अनुसारको बेड (सैंया) भएको एक एक बीर अस्पताल र एक टीचिंग अस्पताल हुनु पर्यो, किनकी सिक्षा र स्वास्थ्य राज्यको दायित्व हो, नत्र कर मात्र लीने सरकार हामिलाइ किन चाहियो ? हामी कर दाता र मत दाता मात्र होईनौ ।

Leave a Reply to मीन बहादुर Cancel reply

Your email address will not be published. Required fields are marked *