दीर्घ दमखोकी (सीओपीडी) के हो ? कसरी जोगिने ?

डा. निरज बम

श्वासनली तथा फोक्सोका कोषहरु नष्ट भएर श्वासप्रश्वास प्रणालीको कार्यक्षमता घट्न गई श्वास प्रश्वास प्रक्रियामा अवरोध उत्पन्न भई सास फेर्न अति कठिन हुने दीर्घ प्रकृतिको रोगलाई दीर्घ दमखोकी (क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज) अर्थात सीओपीडी भनिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्वेक्षणले करीब १२ प्रतिशत नेपालीलाई सीओपीडीको समस्या रहेको देखाएको छ । यो रोग नेपालमा नसर्ने खालका रोगहरु मध्येबाट मृत्यु हुने मध्ये एक प्रमुख रोग पनि हो ।

फोक्सोका श्वासप्रश्वास नलीहरुमा लामो समयसम्म धूमपान, वायूप्रदुषण तथा भान्साबाट निस्कने धूवाँ, धूलोको दीर्घ रुपमा असर भई श्वास प्रश्वास नलीका भित्री भित्ताहरुमा क्रोनिक इन्फ्लामेसनका साथै फाइब्रोटिक प्रक्रिया भई श्वासप्रश्वास नली स्थायी रुपमा साँघुरिने र श्वास प्रश्वास तथा प्रवाह प्रक्रियामा गतिरोध उत्पन्न भई सास फेर्न कठिन हुन थाल्छ । समयमा उपचार भएन भने यो रोग क्रमिक रुपमा बढ्दै गई अन्य अंगहरुमा पनि असर गर्दछ । प्राय ४० बर्षको उमेर पछि कतिपय व्यक्तिमा सीओपीडीको समस्या देखा पर्दछ ।

फोक्सो त्यस्तो अंग हो जसले रगतलाई ताजा राख्न बाहिरी हावाबाट अक्सिजन लिने र शरीरमा जम्मा भएको कार्वनडाईअक्साइडलाई बाहिर फाल्ने गर्छ ।

फोक्सोमा अंगुरको गुच्छा आकारमा स – साना हावाका थैलीहरु हुन्छन् जसलाई एल्भीओली भनिन्छ ।  बाहिरको हावा श्वास नली मार्फत एल्भीओलीमा प्रवेश गर्दछ जहाँ हावामा भएको अक्सिजन रगतमा जान्छ र रगतमा भएको कार्वनडाईअक्साइड बाहिर निस्कन्छ ।

फोक्सोले सास फेर्नका लागि श्वास प्रश्वासमा संलग्न मांसपेशीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । दम रोग दीर्घ रुपमा बढ्दै गएपछि सास फेर्न गाह्रो हुँदै गएपछि शरीरमा अक्सिजनको मात्रा पनि घट्दै जान्छ र केही पछि फोक्सोले कार्वनडाईअक्साइड पर्याप्त मात्रामा फाल्न नसकी शरीरमा समस्या बढ्न सक्छ । साथै सीओपीडी रोग बढदै गएमा श्वासप्रश्वासमा संम्लग्न मांशपेशी कमजोर हुने र शरीरको तौल घट्दै जान सक्छ ।

सीओपीडी रोग विशेषगरी क्रोनिक ब्रोङकाइटिस र इन्फाईसेमा भन्ने दुई  रोगहरु संलग्न हुन्छन् ।

  • क्रोनिक ब्रोङ्काइटीसमा दुई बर्षसम्म प्रत्येक बर्ष तीनमहिना भन्दा लगातार खोकी लागिरहने हुन्छ ।
  • इम्फाईसेमामा फोक्सोका साना साना श्वास नली एवं नलिकाहरु सुन्निने तथा फाइब्रोसिस भई स्थायी रुपमा बिग्रिन जान्छन् ।

सीओपीडी रोगले स्नायू प्रणाली, मुटु, हाडजोर्नी, रगतमा असर गर्दछ । यो रोगले मानसिक स्वास्थ्य समस्या डिप्रेसनसमेत गराउन सक्छ । अत्यधिक धूमपान गर्ने व्यक्तिलाई सीओपीडीका साथै फोक्सोको क्यान्सर हुन सक्छ ।

यस्तै  शरीरका मांसपेशीहरु कमजोर भएर जाने, पाचनप्रणाली कमजोर हुँदै जाने, शरीर सुन्निने समस्याहरु आउन सक्छन् ।

सीओपीडी रोगमा फोक्सोको अक्सिजन शरीरमा लिने र कार्वनडाईअक्साइड ग्याँस शरीरबाट श्वास प्रश्वासको माध्यमबाट बाहिर फाल्ने क्षमता घटदै जान्छ । फोक्सोका श्वासप्रश्वास नलिहरु स्थायी रुपमा साँघुरिएर जान्छन् र श्वास प्रश्वास नलीक भित्री भित्ताहरु इन्फ्लामेसन भई सुन्निएर जान्छन् र विभिन्न ग्रन्थिहरु बढी खोकीका साथै प्रशस्त फोहर खकार निस्कन थाल्छ ।

के कारणले हुन्छ सीओपीडी ?

  • अधिकांश पुरुषका साथै महिलामा अत्यधिक धूमपानको सेवन ।
  • भान्सामा खाना पकाउन प्रयोग हुने इन्धनबाट निस्केको अत्यधिक धूँवाको फोक्सोमा असर ।
  • औद्योगिक क्षेत्र तथा कलकारखानाबाट निस्केको धूँवाका साथै सिलिका, कोइला, एस्वेस्टोसको असर श्वास नलीमा दीर्घ रुपमा पर्नु ।
  • गर्भवती महिलाले धूमपानको सेवन गरी रहेमा विकसित भई रहेको भ्रुणको फोक्सो तथा श्वासप्रश्वास नलीको जन्मेपछि उपयुक्त विकास नहुनु ।
  • जन्मिदै कम तौल भएका शिशुको फोक्सोको विकास यथेष्ट नभएमा ।
  • बालबालिकामा छिटो छिटो संक्रमण भई रहेमा पछि यो समस्या देखा पर्न सक्छ ।
  • बायू प्रदुषणको असर फोक्सोमा दीर्घ रुपमा रहेमा पनि यो रोग लाग्न सक्छ ।
  •  एल्फा १ एन्टिट्रिप्सिन इन्जाइमको अभावमा हुने सीओपीडी परिवारमा बंशाणुगत हुनसक्छ ।

लक्षणहरु :
प्राय: ४० बर्ष माथिका उमेरलाई शुरु हुने सीओपीडी रोगमा निम्न अनुसारका लक्षण देखा पर्न सक्छ :

  •  तारन्तार खोकी लागिरहने ।
  • छाती गह्रौँ हुँदै जाने ।
  • खकार बढ्दै जाने, खकारमा रगत पनि देखिन सक्छ ।
  • श्वास फेन कठिनाई बढ्दै जाने ।
  • छातीमा घ्यार घ्यार आवाज आउने ।
  • शरीर तथा खुट्टा सुन्निने ।
  • कार्वनडाई अक्साइड शरीरमा जम्मा भई विहानी पख टाउको दुख्ने ।
  • तौल घट्दै जाने छाला चाउरिने ।

ब्रोङ्किएल आज्मा, क्षयरोग, ब्रोङ्कियाक्टासीस, कन्जेस्टिभ हार्ट फेलरका विरामीहरुको पनि लक्षण सीओपीडीसंग मिल्न सक्छ । तर उपचार विधि फरक छ ।

परीक्षण :
माथि उल्लेखित लक्षणहरु देखा परेमा विरामीहरुले चिकित्सक संघ परामर्श लिनु उपयुक्त हुन्छ । लामो समयसम्म धूलो, धूवाँको सम्पर्कमा रहेका मानिसहरुमा माथिका लक्षणहरु देखिए निम्न परीक्षण गराउन उपयुक्त हुन्छ ।

  •  छातीको एक्सरे ।
  • रगतको परीक्षणबाट रक्त अल्पता साथै पोलिसाइथेमिया पत्ता लाग्दछ ।
  • स्पाइरोमेट्री परीक्षण (पल्मोनरी फङसन टेष्ट) ।
  • खकार परीक्षण ररगतको बायोकेमिकल परीक्षण ।
  • सीओपीडी बाहेक अन्य रारेगको शंका लागेमा सीटीस्क्यान परीक्षण पनि गर्नु पर्ने हुनसक्छ ।

उपचार  :
सीओपीडी रोगको पहिचान भएमा विभिन्न किसिमका ब्राङ्कोडाएलेटरर औषधि लगायतका औषधिहरु शुरु गरिन्छ ।
यस्तै श्वास नलीलाई खुलाउने औषधिहरु उपलव्ध छन् । जसमा इन्हेलेन्ट (सुँघेर लिईने औषधि) एक प्रमुख औषधि हो ।
विटा १ एगोनिष्ट तथा स्टेराइड रहेका इन्हेलेन्टहरुले श्वास नलीलाई खुलाई श्वास प्रश्वासमा सहज बनाउँछ । फोक्सोमा संक्रमण भएमा विभिन्न एन्टीबायोटिक्स प्रयोग गरिन्छन् । जस्तै :

  • शरीरमा अक्सिन कम भईरहेमा र SpO2 स्थिर नरहेमा अस्पताल तथा घररमै अस्किजन लिएर बस्नु पर्ने हुन्छ ।
  • सीओपीडीका विरामीहरुले पोषिलो र प्रोटिनयुक्त खाना खानु पर्दछ ।
  • न्यूमोनिया तथा एन्टी इन्फ्लुन्जा खोपले रोग बिग्रिएर जाने समस्यालाई रोकथाम गर्न मद्धत पु¥याउँछ ।

दीर्घ दमखोकी विरामीका लागि श्वास प्रश्वास व्यायाम :
श्वास प्रश्वास व्यायमको उद्धेश्य दीर्घ दम खोकीका बिरामीहरुलाई सास फेर्न सहज बनाउनु तथा विरामीहरुको दैनिकीलाई आरामदायी बनाउनु हो । यस अन्तरगर्त निम्न क्रियाकलापहरु पर्दछन् ।

  • आरामदायी अवस्थामा बस्ने
  • श्वाप्रश्वास व्यायम
  • खकार निकल्ने विधी
  • मांसपेशीको व्यायम
  • अक्सिजन थेरापी
  • उच्च प्रोटिन तथा पोषणुक्त खाना

रोकथाम :

  • धूमपान र मदिरापान त्याग्ने ।
  • व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
  • जीवनयापन गर्ने बाताबरण स्वच्छता ।
  • दाउरा गुईठाबाट भन्दा धूवारहित चुलोको भान्सा प्रयोग गर्ने ।
  • बाताबरणीय प्रदूषण न्युनिकरणमा सहयोग पु¥याउने ।
  • धूमपान तथा चुरोट त्यागेमा फोक्सोको श्वासनली साँघुरिने क्रम नबढ्ने र फोक्सोको तीब्र गतिमा घटी रहेको क्षमता ह्रास हुनबाट बचाउन सकिन्छ ।

# चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का सह प्राध्यापक डा. बम त्रिवि शिक्षण अस्पताल पल्मानोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *