‘ड्यान्जर’ बन्दै डेंगु, यस्ता छन् १७ तथ्य

काठमाडौँ, १३ भदौ । गत ३० बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगुले अहिले महामारीको रुप लिएको छ । देशका ४२ जिल्लामा फैलिएको यो रोगको संक्रमणबाट झण्डै ५ हजार व्यक्ति विरामी परेका छन् । केहीको मृत्यु समेत भएको बताइएको छ ।

सरकारले नियन्त्रणको प्रयास गरेको बताए पनि त्यो सफल हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले विहीबार डाकेको सर्वपक्षीय बैठकमा डेंगु नियन्त्रण गर्ने प्रयास भएपनि अपेक्षित सफलता प्राप्त नभएको बताएको छ । उसले महामारी नियन्त्रण गर्न आफूले मात्रै नसक्ने स्पष्ट पारेको छ ।

मनसुन शुरु भएपछि देखिनुपर्ने डेंगु तीन महिना अघि नै देखिएको र देशभर फैलिएको अवस्था भएकोले यसपटक डेंगुको खतरा थप बढी देखिएको छ ।

खासमा डेंगु के हो त हेरौँ १७ तथ्य 

१. यो लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।

२. एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मात्रै यो रोग सर्दछ ।

३. यो लामखुट्टेले बढी मात्रामा दिउसोको समयमा टोक्ने गर्दछ ।

४. यो लामखुट्टेले सामान्यत जमेको सफा पानीमा अण्डा पार्ने गर्दछ ।

५. एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ ।

६. एउटा पोथी लामखुट्टेले आफ्नो जीवनभर करीब ५०० देखि १००० वटासम्म अण्डा पार्ने गर्दछ ।

७. संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् । यसको अण्डा पानी विना पनि महिनौसम्म जीवित रहन सक्छ ।

८.यो लामखुट्टेले सामान्य त उज्यालोमा टोक्ने गर्दछ ।

९. संक्रमित पोथी लामखुट्टेले पारेको अण्डाबाट जन्मने नयाँ लामखुट्टेमा डेंगुको विषाणु बोकेको हुन्छ । र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्तिरोगबाट संक्रमित हुन्छ ।

१०. पोथी लामखुट्टेलाई अण्डा पार्नका लागि प्रचुरमात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र टोक्ने वा रगत चुस्ने गर्दछ ।  भाले जातको लामखुट्टेले बोट विरुवाको रस चुसेर जीवन यापन गर्दछ ।

११. लक्षण :

  • संक्रमण काल ३ देखि १० दिन :उच्च ज्वरो आउनु १०२ F/ १०३ F
  • टाउको दुख्ने, पेट दुख्ने
  • वाकवाकी लाग्ने
  • आँखाको गेडी दुख्ने
  • जीउ जोर्नी दुख्ने
  • रातो विमिराहरु देखा पर्नु ( सामान्यत ज्वरो आएको ३ देखि ५ दिन पछि देखा पर्नु )
  • खासगरी डेंगु रोगको लक्षण १० प्रतिशतलाई मात्रै देखिने गर्दछ ।
  • समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशत भन्दा कममा झार्न सकिन्छ ।

विश्वव्यापी अवस्था :
१२. विगतको केही दशक देखि विश्वभर नै डेंगुको संक्रमण अत्यधिक रुपले बढ्दै गएको छ । वितेको ५० बर्षमा यो रोगको संक्रमण ३० गुणाले बढेको पाइएको छ ।

१३. विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् ।

१४. संसारका १२८ भन्दा बढी मुलुकका ३.९ अर्व मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन् ।

१५. प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनाका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

१६. नेपालमा डेंगु 

  • सन् २००४ मा पहिलो पटक विरामी ( विदेशी) भेटिएको थियो ।
  • सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका विरामी भेटिएको ।
  • सन् २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लामा महामारीको रुपमा फैलिएको । देशभरमा ९१७ केशहरु देखिएको ।
  • सन् २०१६ मा चितवन, झापा र रुपन्देह िजिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा १५२७ केशहरु देखिएको ।
  • सन् २०१७ मा चितवन झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देशभरमा जम्मा २१११ केशहरु देखिएको ।
  • सन् २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको ।

१७. यसबर्ष गत ३० बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगु अहिले ४२ जिल्लामा पुगेको छ भने ४ हजार ९६२ जना संक्रमित भएका छन् ।

यसरी जोगिऔँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *