अछाम : उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो


अछाम, ९ भदौ । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो ।

एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन् । गाउँपालिकाको वडा नं ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती भएका मध्ये एक जना मात्रै २० वर्षमुनि रहेको पाइएको छ । वडा नं ६ दुनीमा ६१ जना गर्भवती भएका मध्ये १३ जना र वडा नं ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती भएका मध्ये ५ जनाले उमेर नपुग्दै बच्चा पाएको तथ्याङ्क छ ।

एक वर्षको अवधिमा गाउँपालिकाका पाँच स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार ४६१ गर्भवती भएका मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको देखिन्छ । स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको सङ्ख्या स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख नगरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य संयोजक कमल साउदले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकामा पनि उमेर नपुग्दै बच्चा जन्माउने महिलाको सङ्ख्या १५.०७ प्रतिशत रहेको पाइएकोे छ । नगरमा १३ स्वास्थ्य चौकी र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको तथ्याङ्कअनुसार एक हजार ५०६ गर्भवती भएका मध्ये २२७ जनाले उमेर नपुग्दै (२० वर्षमुनि) वच्चा जन्माएको नगरको स्वास्थ्य शाखा सह–संयोजक पुष्पबहादुर बुढाले जानकारी दिए ।

नगरपालिकामा उमेर नपुग्दै बच्चा पाउनेको सङ्ख्या धेरै देखिए पनि बयालपाटा अस्पतालमा अन्य स्थानीय तहका साथै छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको सह संयोजक बुढाले बताए । गत आर्थिक वर्षमा बयालपाटा अस्पतालमा मात्रै ९३१ जना गर्भवती भएका मध्ये १६७ जनाले उमेर नपुग्दै बच्चा पाएका थिए ।

नेपाल सरकारले स्वास्थ्य सुधारका लागि ‘विहेवारी बीस पारि’ नारा दिए पनि उमेर नपुग्दै बच्चा जन्माउनेको तथ्याङ्कले चुनौती दिएको छ । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको इच्छापूर्ण दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

बीस वर्ष उमेर नभई गर्भवती हुँदा जटिल खालका समस्या उत्पन्न हुने गरेको चौरपाटी गाउँपालिका स्वास्थ्य सह–संयोजक साउदले बताए । उनले भने “उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने जस्ता समस्या हुने गरेको देखिन्छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *