घुससहित पक्राउ परेका उपकुलपति प्राडा रौनियारमाथि १ करोड २८ लाख विगो तोकेर मुद्धा दायर

काठमाडौँ, १९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ परेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति प्राडा राजकुमार रौनियारमाथि सहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले प्राडा राजकुमार रौनियारमाथि विशेष अदालतमा  १ करोड २८ लाख रुपैयाँ र उनका भतिजा रामहरि रौनियारमाथि ८ लाख रुपैयाँ विगो कायम गरेर मुद्धा दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्वाण सेवा प्रालिको सब कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रवन्ध निर्देशक सुशीलकुमार झासंग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ बीलको भुक्तानी दिँदा पटक पटक कमिसनबापत घुस लिएको आरोप लगाएको छ ।

हेरौँ अख्तियारले जारी गरेको विज्ञप्ती

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप-कुलपति प्रा. डा. राज कुमार रौनियारले पटक पटक कमिसन बापत घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको उजुरी मिति २०७६/०३/१६ गते आयोगमा दर्ता भएको र उक्त उजुरीको बिषयमा आयोगमा अनुसन्धान भइरहेको अवस्थामा निज उपकुलपति प्रा. डा. राज कुमार रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशिल कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप रु.८,००,०००।- कमिसन बापत घुस रिसवत माग गरेको भन्ने समेतको मिति २०७६/०३/२५ गते आयोगमा पेश गरेको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई निजले उजुरी निवेदकबाट घुस रिसवत लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवास A5 ब्लकमा राख्न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारी रितपूर्वकको कानूनी प्रक्रिया पूरा गरी निज प्रा. डा. राज कुमार रौनियारलाई नियन्त्रणमा लिइएको र निजको निवास A5 ब्लकमा रितपूर्वक खानतलासी गर्दा निजको निवास भित्र रहेको सोकेसको घर्रामा निजले रिसवत बापत लिएको रू.८,००,०००।–फेला परेकोले खानतलासी तथा बरामदी मुचुल्का गरी उल्लिखित रकम सहित निजको भतिज डा. रामहरी रौनियारलाई समेत सोही A5 ब्लकबाट नियन्त्रणमा लिई आयोगबाट थप अनुसन्धान हुँदा निज राजकुमार रौनियारले उजुरी निवेदकबाट पटक पटक गरी जम्मा रु.१,२८,००,०००।- घुस रिसवत लिएको सप्रमाण पुष्टि हुन आएकोले निज राजकुमार रौनियार र निजको भतिज डा. रामहरी रौनियारलाई देहाय अनुसारको सजायको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

क) आरोपी प्रा.डा.राज कुमार रौनियारको हकमा
———————————————-
निज प्रा. डा. राज कुमार रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी प्रा. डा. राज कुमार रौनियारलाई बिगो रू.१,२८,००,०००।– (एक करोड अठ्ठाईस लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुन र निज प्रा. डा. राज कुमार रौनियार नेपाल सरकारको बिशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी लिइएको

ख) आरोपी डा. रामहरी रौनियारको हकमा
—————————————-
निज डा. रामहरी रौनियारले रिसवत लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिमको कसुर गरेको देखिँदा निजको हकमा बिगो रू.८,००,०००।- (आठ लाख) कायम गरी सोही ऐनको दफा २२ बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) अनुसार कैद र जरिवाना हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

ग.उजुरी निवेदक सुशिल कुमार झाको हकमा
—————————————————
निज सुशिल कुमार झाले मिति २०७६/०३/२६ भन्दा अगाडिका मितिहरूमा समेत पटक पटक गरी आरोपी राज कुमार रौनियारलाई रू. १,२०,००,०००।- घुस रिसवत बापत दिएको कुरा निज स्वंमले आयोग समक्ष गरेको बयान ब्यहोरा साथै बुझिएका दिवाकर कार्कीको कागज ब्यहोराबाट समेत खुल्न आई निजले घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले आयोगको अनुसन्धान कार्यमा सहयोगी भूमिका निर्वाह गरी यस भन्दा अगाडि बुझाएको घुस रिसवत रकमहरूका सम्बन्धमा समेत उजुरी दिई अडियो भिडियो समेतको प्रमाणहरू आयोग समक्ष दाखिला गरी अनुसन्धानमा सहयोग गरेको, र उक्त बिषयको अनुसन्धानकै अवधिमा मिति २०७६/०३/२६ गते आयोगबाट उपलब्ध गराइएको रिसवत रकम आरोपीलाई बुझाई निजलाई रिसवत सहित पक्राउ गर्न सहयोग गरेको देखिँदा निज निवेदक सुशिल कुमार झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यबस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।

घ.सवारी चालक दिवाकर कार्कीको हकमा
—————————————————
निज दिवाकर कार्कीले निवेदक सुशिल कुमार झाबाट पटक पटक गरी रू. १,०६,००,०००।- बुझीउपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई दिएको भन्ने ब्यहोरा निज स्वयंको बयान र निवेदक सुशिल कुमार झाको बयान ब्यहोराबाट खुल्न आई निजले घुस रिसवत लिने दिने कार्यमा प्रत्यक्ष संलग्न भै भ्रष्टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले यस भन्दा अगाडि सुशिल कुमार झासँग लिई राज कुमार रौनियारलाई बुझाएको घुस रिसवतको सम्बन्धमा सम्पूर्ण ब्यहोरा खुलाई आयोगको अनुसन्धान कार्यमा सहयोग गरेको देखिँदा निज सवारी चालक दिवाकर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यवस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *