स्वास्थ्यका ‘हाकिम’हरुलाई एघार बुँदे कार्य सम्पादन सम्झौँता गराउँदै सरकार, यस्तो छ सम्झौँताका बुँधाहरु

विहीबार कार्य सम्पादन सम्झौँता गरिसकेपछि सामुहिक तस्विर खिचाउँदै स्वास्थ्य सचिव थपलिया सहित विभाग र मन्त्रालयका अधिकारीहरु

काठमाडौँ, ३ साउन । नयाँ आर्थिक बर्ष शुरु भएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका तीनवटा विभागका महानिर्देशकसंग एघार बुँदे कार्य सम्पादन करार सम्झौँता गरेको छ ।

विहीबार स्वास्थ्य सचिव रामप्रसाद थपलियाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल, आयुर्वेद तथा बैकल्पिक विभागका महादिर्नेशक डा बासुदेव उपाध्याय र औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पान बहादुर क्षेत्रीसंग कार्य शर्त सम्झौँता गरेका हुन् ।

सचिव थपलियासंगै मन्त्रालयका अर्का सचिव डा पुष्पा चौधरीले भने आज दिउसो उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसंग कार्य सम्पादन सम्झौँता गर्नेछन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ आर्थिक बर्ष १ साउन देखि नै हरेक सरकारी निकायका प्रमुख तथा मातहतका कर्मचारीहरुलाई एक बर्षको कार्य सम्पादन करार सम्झौँता गर्ने निर्णय गरेको थियो ।

तर १ साउनमा धेरै कार्यालयको सम्झौँता भएको रिपोर्ट नपाएपछि मुख्यसचिव लोकदर्शन रेग्मीले विहीबार सबै सचिवलाई भेला गरी कार्य सम्पादन करार सम्झौँता सम्वन्धी सरकारले यसअघि गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै स्वास्थ्यले तीन जना महानिर्देशकसंग सम्झौँता गरेको हो ।

‘हिजो विहान मुख्य सचिव ज्युले डाकेको सचिवस्तरीय बैठकमा धेरै सरकारी निकायमा कार्यसम्पादन करार सम्झौँता नगरेको पाइएको भन्दै सम्झौँता नगरेका निकायमा तत्काल यो सम्झौँता गर्ने भन्दै निर्णय भएको थियो । सोही अनुसार नै हामीले हिजो देखि नै यो कार्य शुरु गरयौँ,’ सचिव थपलियाले भने ।  उनका अनुसार सम्झौँता महानिर्देशक भन्दा मुनि सबै निकायका प्रमुख र जिम्मेवार कर्मचारीसंग गराईन्छ ।

यस्तो छ कार्य सम्पादन सम्झौँताको एघार बुँदा :

१.  यस सम्झौँताको अवधि २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्म एक आर्थिक बर्षको रहनेछ ।

२.विभागले तयार गरेको कार्य सम्पादन सूचकहरुको आधारमा कार्य सम्पादनको अवस्था पहिचान गरिनेछ । कार्य सम्पादन प्रगतिर्ला कार्य सम्पादन मूल्यांकनसंग आवद्ध गरिनेछ ।

३. स्वीकृत सूचकहरु बमोजिम आफूले गरेका कार्यहरु चौमासिक रुपमा र आव समाप्त भएको ७ दिन भित्र सचिव समक्ष निसेनि २०५० को नियम ७८ तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७१ को व्यवस्था बमोजिमकको कार्य सम्पादन मूल्यांकन फारमको साथमा कार्य सम्पादन सम्झौँताको स्व मूल्यांकन प्रतिवेदन बुझाउनु पर्नेछ ।

४. कार्य सम्पादन सूचक बमोजिम कर्मचारीले कार्य सम्पादन सम्झौतामा उल्लेखित मापन विधि र सम्वन्धित आधार प्रमाणपत्रहर समेत संलग्न राखी आफ्नो कार्य सम्पादनको स्व मूल्यांकन गर्नुपर्नेछ । ८० प्रतिशत भन्दा बढी भएमा अति उत्तम, ६५ प्रतिशत भन्दा बढी भएमा उत्तम, र सो भन्दा कम भएमा सामान्य कार्य सम्पादन स्तर जनाई सुपरीवेक्षक समक्ष पेश गर्नुपर्ने छ । कर्मचारीको स्व मूल्यांकन प्राप्त नतिजा र समग्र परिमाणात्मक एवं गुणात्मक पक्षलाई विश्लेषण गरी सुपरीवेक्षकले अन्तिम मूल्यांकन गर्नुपर्नेछ र सम्वन्धित कर्मचारीलाई पृष्ठपोषण प्रदान गर्नुपर्नेछ ।

५. सम्झौँतामा उल्लेख भएका बाहेक अन्य सिर्जनात्मक तथा नव प्रवर्तनीय कार्यहरु समेत सम्पादन गर्न सकिनेछ । त्यस्ता कार्यहरुको सूची सचिव समक्ष पेश गर्नुपर्नेछ ।

६ कार्य सम्पादन सम्झौँता अवधिमा अन्यत्र निकाय वा महाशाखामा सरुवा तथा जिम्मेवारी हेरफेर भएमा नयाँ वहाल हुने कर्मचारीलाई महाशाखाको कार्य सम्पादन प्रगति अवस्था, कार्य प्रक्रियाका बारेमा बिस्तृत जानकारी सहित दैनिक डायरी, कार्य सञ्चालन कार्यविधि लगायतका महत्वपूर्ण कागजातहरु हस्तान्तरण गर्नुपर्नेछ । सम्झौँतामा उल्लेख भए अनुसारका बाँकी कार्यहरु सम्पादन गर्ने दायित्व नयाँ वहाल हुने कर्मचारीको हुनेछ ।

७. यस सम्झौँतामा समावेश नभएका तर तत्काल कार्यसम्पादन गर्नुपर्ने अन्य कार्यहरु सचिवबाट निर्देशन भए अनुसार सम्पादन गर्नुपर्नेछ । आवश्यकता अनुसार शर्तहरुलाई थपघट गर्न सकिनेछ ।

८. विभाग मातहतका महाशाखाहरुबाट विगतमा भएका सम्झौँताहरुमा समायनुकुल परिमार्जन गर्नु पर्दा र आयन्दा दातृ संस्था निकायहरुसंग नयाँ समझदारी पत्र सम्वन्धी कृयाकलाप गर्नुपूर्व मन्त्रालयको पूर्व सहमति लिएरमात्र गर्नुपर्नेछ ।

९. एचएमआईएसलाई समय सापेक्ष बनाउन जिम्मेवारी तोकी भएको प्रणालिलाई थप व्यवस्थित बनाउने गरी कार्य योजना बनाई कार्य गराउनु हुनेछ ।

१०. चालु आवको बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखी पेश गरेको प्लान अफ एक्सनलाई समयमै सम्पन्न गर्ने गरी कार्य तालिका बनाई जिम्मेवारी तोकि कार्य गर्नु, गराउनु पर्नेछ । यसरी बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा बार्षिक नीति तथा कार्यक्रम बजेट बक्तव्य, तथा स्वीकृत कार्यक्रम, आफ्नै प्रयासमा गरिने नव प्रवर्तनका कार्यहरुका साथै नेपाल सरकारले समय समायमा गरेको निर्णयहरु कार्यान्वयन गर्न गराउन जिम्मेवारी तोकि समय सारीणी अनुरुप क्रियाकलापहरु सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

११. विभाग र मातहतको आर्थिक प्रशासनलाई सवल, सक्षम र प्रभावकारी बनाउन गर्नुपर्ने कार्यको कार्ययोजना बनाई समयमै बेरुजु फछर्यौट, जिन्सी निरीक्षण लगायतका कामलाई जिम्मेवारी तोकी व्यवस्थित गराउनुपर्नेछ । साथै कार्यालयको सरसफाईमा विशेष ध्यान दिनुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *