कांग्रेस नेताको नाम हटाउने सहमति भएपछि एम्बुलेन्स चलाउन गाँउपालिका राजी

352
Shares
विष्टले गत १३ पुसमा जोरायल गाउँपालिकालाई यसरी हस्तान्तरण गरेका थिए एम्वुलेन्स

डोटी, ८ असार । जिल्लाको जोरायल गाउँपालिकामा साढे पाँच महिनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ । ‘कांग्रेस नेताको नाम लेखिएको भन्दै गाँउपालिकाले चलाएन एम्बुलेन्स’ भन्ने समाचार यही असार ६ गते प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले साढे पाँच महिनादेखि सञ्चालन गर्न मानेको थिएन । समाचार प्रकाशित भएपछि काङ्ग्रेस नेताको नाम हटाइने सहमति भई एम्बुलेन्स सञ्चालनमा आएको स्थानीय विजयप्रकाश मल्लले बताए । उनले भने, “राजनीतिक खिचातानीका कारण एम्बुलेन्स थन्किएको थियो, समाचार प्रकाशित भएपछि सबै ठाउँबाट दबाब आयो, अब एम्बुलेन्स चल्ने सहमति भएको हो ।”

थन्किएको एम्बुलेन्स चलाउने सहमति भएपछि अहिले गाउँपालिकाले एम्बुलेन्स चलाउन लोकेन्द्र छेडाल नाम गरेका चालकलाई नियुक्त गरेर मर्मतका लागि कैलालीस्थित गाडी मर्मत ग्यारेजमा पठाएको गाउँपालिकाका कार्यकारी प्रमुख समीर भण्डारीले बताए ।

उनले भने, “आपसी विवादले एम्बुलेन्स थन्किएको थियो, अहिले सहमति भएपछि मर्मतका लागि एम्बुलेन्स कैलाली पठाएका छौँ, अब निरन्तर सञ्चालन हुनेछ ।” उक्त एम्बुलेन्समा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरीद गरेको उल्लेख गरिएको थियो । नेपाली काङ्ग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएको थियो ।

थन्किएको एम्बुलेन्स चल्ने भएपछि सुविधा पाउने भन्दै जोरायलका स्थानीय खुशी भएको गाउँपालिका–२ बुडरका स्थानीय भरत कुँवरले बताए । उनले भने, “एम्बुलेन्स थन्किँदा हामीलाई साह्रै समस्या भएको थियो, बिरामी लैजान बाहिरबाट गाडी मगाउनुपथ्र्यो, अब आफ्नै एम्बुलेन्स चल्ने भयो खुशी छौँ हामी ।” उक्त एम्बुलेन्स गएको पुसको दोस्रो साता काङ्ग्रेस नेता विष्टले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।

बडिकेदार गाउँपालिकामा भने एम्बुलेन्स सेवा पहिलेदेखि नै शुरु भइसकेको थियो । अमेरिका–नेपाल सम्पर्क समितिका सभापतिसमेत रहेका नेता विष्ट जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी पनि छन् । नेता विष्टले गाउँपालिकालाई विभिन्न दाता तथा अमेरिकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रतिएम्बुलेन्स रु ११ लाख पर्ने दुई एम्बुलेन्स खरीद गरेको बताइएको छ । ती एम्बुलेन्स खरीद गर्दा नेपाल सरकारले गाउँपालिकाको सिफारिशमा कर मिनाहा गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *