‘सोह्र प्रतिशत क्यान्सरका बिरामीको उपचारमा घरबार बेचिन्छ’

काठमाडौँ, १० जेठ ।  नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गरेको पाइएको छ । पाँच महिना लगाएर नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा एक्सन नेपाल नामक संस्थाले गरेको अनुसन्धानले यस्तो तथ्य उजागर गरेको हो ।

अनुसन्धानमा नेपालमा क्यान्सर रोगको उपचार हुने तीन ठूला अस्पताल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धमा तेस्रो तहको क्यान्सरको उपचार गराईरहेका १०३ जना विरामीलाई सहभागी गराइएको थियो । उनीहरुमध्ये १६ प्रतिशतले खर्चको अभावमा घर जग्गा बेच्न बाध्य भएको बताएका थिए ।

अनुसन्धानले नेपालमा एउटा क्यान्सरको विरामीका लागि ९ लाख ८१ हजार ३७० रुपैयाँ लाग्ने तथ्य समेत बाहिर ल्याएको छ ।

यस्तै अनुसन्धानले मुटु तथा रक्त नलिको उपचारमा एउटा विरामीका लागि औपात ७ लाख ९० हजार ९५५ रुपैयाँ खर्च लाग्ने गरेको पाइएको छ । मुटुरोगको उपचार हुने शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र नर्भिक अस्पतालमा गरिएको अनुसन्धानले सो तथ्य बाहिर ल्याएको हो ।

अनुसन्धान कार्यको नेतृत्व गरेका डा देवीप्रसाद प्रसाईँलेले कुल लागत खर्चमध्ये ६८ प्रतिशत औषधिमा खर्च हुने गरेको बताए ।

स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र द यूनियनको सहकार्यमा भएको सूर्तिजन्य पदार्थको सेवनले लाग्ने मुटु तथा क्यान्सर रोग र यसको उपचारमा लाग्ने खर्चबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिककरण कार्यक्रममा बोल्दै प्रमुख अनुसन्धानकर्ता प्रसाईले सूर्तिजन्य पदार्थको कारणले मुटु तथा क्यान्सरको उपचार भयावह अवस्था आएको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले सूर्तिजन्य पदार्थको प्रयोगले व्यक्ति परिवार र समाजलाई नै क्षति पुरयाउने भन्दै यसलाई सार्वजनिक रुपमै बहिस्कार गर्नुपर्ने बताए । सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न करको दर बढाउने, प्याकेटमा चेतावनीमुलक सन्देश छाप्ने, र सेवनकर्तालाई सामाजिक रुपमा नै बहिस्कार गर्ने बताए ।

एक प्रसंगमा उनले कतिपय मन्त्रीहरुले बन्द भएको जनकपुर चुरोट कारखाना व्युताउने खबर बेलाबेलामा उठाउने गरेको भन्दै यस्तो गल्ती नगर्न सरकारलाई चेतावनी दिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ छातिरोग विशेषज्ञ डा. रमेश चोख्यानीले सूर्तिजन्य पदार्थबाट छाती तथाफोक्सो सम्बन्धि रोग लाग्ने सम्भावना बढी भएको हुँदा यसको नियमन गर्नुपर्ने बताए । उनले गर्भवतिमहिला, बालबालिका, वृद्धा, युवाकुनै पनिवर्गका लागियसले असर गर्ने भएको हुँदा सबै नागरिकलाई प्रयोग नगर्नको लागिआग्रह गरे ।

कार्यक्रममा द यूनियनका एसिया प्यासेफिक क्षेत्रका उप निर्देशक डा तारासिंह बमले नेपालमा बर्षेनी २५ देखि ३० हजार नेपालीको मृत्युको कारक सूर्तिजन्य पदार्थ भएको भन्दै यसलाई रोक्न सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले सरकारी अधिकारीहरुलाई सूर्ति रोज्ने की स्वास्थ्य रोज्ने भन्दै प्रश्न समेत गरेका थिए ।

जनताको स्वास्थ्य हेरेर सूर्ति नियन्त्रण सम्वन्धी कानून बनाउछौँ 
यसैबीच कार्यक्रममा सहभागी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न आफ्नो र समितिको तर्फबाट पूर्ण पहल गर्ने बताइन । उनले आफू जनताको स्वास्थ्यमा अडिक रहेको भन्दै कानून बनाउँदा जनताको स्वास्थ्यलाई ध्यान दिने बताइन ।

कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न कानुनको आवश्यकता रहेको भन्दै त्यसका लागि आफ्नो समितिले पहल गर्ने बताए । ‘मलाई पनि थाह थिएन अब मैले संसद र समितिमा यसबारेमा कुरा राख्नेछु,’ उनले भने ।

महिला तथा सामाजिक समितिका सभापति नीरु देवी पालले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कानुन बलियो भएपनि कार्यान्वयनको पक्ष फितलो भएको भन्दै यसमा कडाको आवश्यकता रहेको बताइन ।

कार्यक्रममा सांसदहरु लेखराज भट्ट र अञ्जना विशंखे लगायतले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न गर्न आफूहरु लाग्ने बताए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोश भेन्डरसले सूर्तिजन्य पदार्थको प्रयोगले ज्यान लिने गरेको भन्दै यसको नियन्त्रणका लागि करको दर बढाउनुपर्ने बताए । उनले नेपालले सूर्तिजन्य पदार्थमा करको दर कम्तिमा ७५ प्रतिशत पुरयाउनुपर्ने बताए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तिजन्य पदार्थको प्रयोगले मुटु तथा क्यान्सर रोगी बढाएको र यसको नियन्त्रणका लागि कानुन कार्यान्वयन मा कडाई गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले सूर्तिजन्य पदार्थ नियन्त्रणमा मन्त्रालयले गरेको गतिविधि बारे प्रकाश पारेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *