डडेल्धुरामा कुष्ठरोगका नयाँ बिरामी

धनबहादुर भण्डारी

डडेल्धुरा, २९ माघ । सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् ।

डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ ।

गत पुस महीनासम्ममा डडेल्धुरामा तीन जनामा कुष्ठरोग देखा परेका उपक्षेत्रीय अस्पतालका टिभी ल्याप्रोसी सुपरभाइजर तारादत्त पन्तले जानकारी गराए । गएको पुससम्ममा १२ जनामा सङ्क्रमण देखिएको थियो । सुपरभाइजर पन्त भन्छन्, “कुनै महीना पाँचजनामा पनि कुष्ठरोगको सङ्क्रमण पाइने गरेको छ ।

गत वर्ष १८ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएपछि अस्पतालमा उपचार सम्भव नभएकाले पछि विषेशज्ञ चिकित्सकीय उपचारका लागि आठ जनालाई अन्यत्र सिफारिश गरिएको पन्तले जानकारी दिए । यसवर्ष पनि तीनजनालाई उपचारका लागि अन्यत्र पठाइएको बताइएको छ ।

विगतका वर्षको तुलनमा बिरामीको सङ्ख्या घटेको भए पनि सरकारले घोषणा गरेको कुष्ठरोग भने निवारण हुन सकेको छैन । हरेकवर्ष नयाँ बिरामी आउने गरेका सुपरभाइजर पन्तले बताए । तर, पहिले र अहिलेको तुलनामा शरीरको अङ्गभङ्ग भएपछि अस्पताल पुग्ने क्रम भने रोकिएको छ । शुरुवाती लक्षण र बिरामीलाई शङ्का उत्पन्न हुने वित्तिकै अस्पताल जाँच गर्न आउने गरेको चिकित्सक बताउँछन् । जाँच गर्न अस्पताल आउँदा प्रत्येक वर्ष १८–२० को सङ्ख्यामा कुष्ठरोग देखिने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्याकङ्ले देखाएको छ ।

धेरै बिरामीको उपक्षेत्रीयमा नै उपचार हुने गरेको र कतिपयलाई विषेशज्ञ सेवा आवश्यक पर्ने भएकाले बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ । झण्डै तीन दशक अघि सुदूरपश्चिममा पहिलो पटक पोखरामा रहेको टिम अस्पतालले कुष्ठरोगको उपचार थालेको थियो । उतिबेला सयौंको सङ्ख्यामा शरीरका अङ्गभङ्ग भएका बिरामी अस्पताल पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।

केहीवर्ष आगाडि देउता रिसाउँदा कुष्ठरोग हुने अन्धविश्वासका कारण सर्वसधारण उपचार गर्न समेत डराउने गर्दथे । शिक्षाका कारण जनचेतना बढेसँगै उपचारमा पहुँच भएकाले बिरामी चाँडो अस्पताल पुग्ने गरेको उपक्षेत्रीयका मेडिकल सुपरिटेण्डेन्ट जीतेन्द्र कँडेलले बताए ।

कुष्ठरोगलाई अझै पनि कतिपयले वङ्शाणुगत रोग, पापका रुपमा लिने गरेका छन् । उनले भने, “तर, यो सत्य होइन । यो रोग छिट्टै नसर्ने रोग हो भने उपचार गरे पूर्णरुपमा निको हुन्छ ।” उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बाजुरा, अछाम, दार्चुला, बझाङ्ग, बैतडी, डोटीबाट उपचार गराउन बिरामी आउने गरेकाले धेरै बिरामी देखिएको हो । सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाबाट वर्षेनी २–३ जना कुष्ठरोगी देखिने गरेको तथ्याङ्क छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *