स्वास्थ्यका संरचना मात्रै होइन अधिकार समेत प्रदेश सरकारलाई हस्तान्तरण
काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि संघ अन्तरतर्गत रहेका स्वास्थ्यका विभिन्न निकायहरु प्रदेश सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सातवटै प्रदेशका सामाजिक विकास मन्त्री, सामाजिक विकास सचिवलाई ती निकायहरु हस्तान्तरण गरेको हो ।
प्रदेशमा हस्तान्तरण भएका निकायहरुमा सातवटै प्रदेशका क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरू, क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रहरू, क्षेत्रीय मेडिकल स्टोरहरू ,उप क्षेत्रिय स्वास्थ्य तालीम केन्द्रहरू, जिल्ला जनस्वास्थ्य कार्यालयहरू, तोकिएका क्षेत्रिय अस्पतालहरू छन् ।
यस्तै तोकिएका उपक्षेत्रिय अस्पतालहरू ,तोकिएका अञ्चल अस्पतालहरू ,जिल्ला अस्तालहरू ,क्षेत्रिय आयुर्वेद चिकित्सालयहरू, अञ्चल आयुर्वेद औषधालयहरू र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू पनि आज हस्तान्तरण गरिएको छ ।
सोही समारोहमा मन्त्रालयले नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ नियम १२९ को उपनियम (२) बमोजिम सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई केही अधिकार प्रत्यायोजन गरिएको जनाएको छ ।
एघार बुँदामा समेटिएका ती अधिकारहरु यसप्रकार छन् :
१. प्रत्येक प्रदेश मातहतका प्रदेश स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्यरस्वास्थ्य कार्यालय, प्रदेश मेडिकल स्टोर, प्रदेश स्वास्थ्य तालीम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आवश्यकता अनुसार स्वीकृत दरबन्दी पदपूर्ति गर्ने ।
२. प्रदेश मातहत रहेका कार्यालयहरुमा कार्यालय प्रमुखलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित जिम्मेवारी दिने।
३ . प्रदेश मातहतको कार्यालयको पद, तह, समूह, उपसमूह मिलाई रिक्त स्थानमा स्वास्थ्य सेवा तर्फ दशौं तह सम्मका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ को अधिनमा रही सरुवारकामकाज गर्न खटाउने ।
४. लोक सेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्य सेवा तर्फ दशौं तह सम्मका उम्मेदवारहरुलाई पदस्थापना गर्ने।
५. स्वास्थ्य सेवा तर्फको अत्यावश्यक कामको लागि आवश्यक पर्ने स्वीकृत दरवन्दी अनुसारको रिक्त स्थानमा चौथो, पाँचौं, सातौं, आठौं तह सम्मको पदमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ ख. को प्रतिबन्धात्मक बाक्याँश अनुसार स्वास्थ्य सेवाको कुनै पदमा योग्यता प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ ख. को खण्ड (क) मा कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण विदामा रहेको अवस्थामा अध्ययन वा असाधारण विदामा बसेको अविधभर र खण्ड (ख) मा सेवाको कुनै पद कुनै कारणवश रिक्त हुन गई सोको मागको आकृति फाराम भरी लोक सेवा आयोगमा पठाइसकिएको तर पदपूर्ति भई नसकेको अवधिभर करार सेवामा नियुक्ति गर्न सकिने व्यवस्था अनुसार करार नियुक्ति गर्ने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।
६. प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५१ को उपनियम (२) बमोजिमको बेतलवी प्रसूति विदा स्वीकृत गर्ने।
७. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५३ को उपनियम (५) बमोजिम सम्बन्धित समूह उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा दशौं तह सम्मको नियमावलीमा व्यवस्था भए बमोजिम अध्ययन पूर्व स्वीकृति दिने ।
८. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार अध्ययन बिदा र असाधारण बिदा स्वीकृति गरी सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।
९. यस मन्त्रालयबाट करार सेवामा नियुक्ति भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेपाल स्वास्थ्य सेवाको चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा करार नियुक्ति सम्वन्धी कार्यविधि, २०७२ बमोजिम म्याद थप गर्ने ।
१०. प्रदेश मातहतमा सरकारी स्वास्थ्य संस्था, अस्पतालहरुको चल अचल सरकारी सम्पतिको संरक्षण, संभार, परिचालन गरी सो को अद्यावधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने ।
११. प्रदेश मातहतका कार्यालयमा कार्यरत दशौं तह सम्मको कर्मचारीहरुको राजीनामा स्वीकृत गर्ने र अनिवार्य अवकाश दिने व्यवस्था मिलाउने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।
सम्पर्क इमेल : [email protected]