स्वास्थ्यकर्मीका कुरा : सबैमा असन्तुष्टी कसले गर्ला माग पुरा ?

काठमाडौँ, २७ पुस । सी अहेवलाई समेत स्वास्थ्य चौकी प्रमुख हुने व्यवस्था गर्न लागेको भन्दै हेल्थ अस्सिटेन्टहरुले पछिल्लो तीन दिन देखि स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

छैटौँ तहका अनमीहरु आफूहरुको व्यवस्थापनमा त्रुटी भएको भन्दै सच्याउन मन्त्रालयका उच्च अधिकारीको ध्यानाकर्षण गराई रहेका छन् । सरकारी अस्पतालका चिकित्सकहरु समायोजन प्रक्रियामा आफूहरुमाथि अन्याय भएको भन्दै दैनिक १ घण्टा सेवा बहिस्कार गरि विरोध जनाइरहेका छन् ।

फार्मेसी, आयुर्वेद, जनस्वास्थ्य तर्फका विभिन्न समूहका त्यस्तै असन्तुष्टी छ । त्यसैले दिनहुँ जसो मन्त्री सचिवलाई भेटने ज्ञापन पत्र बुझाउने र आन्दोलनको चेतावनी दिने उनीहरुको दैनिकी बनेको छ ।

कसले सुन्ने माग ?
स्वास्थ्य सचिव र मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएका कारण माग पुरा गर्न पनि उनीहरुकै दायित्व आउँछ । तर स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयमा रहेका दुई जना सचिव आफै अस्थिर जस्ता देखिन्छन् । आफ्ना जिम्मेवारी र अधिकारका कटौती बाँडफाडमा परेपछि उनीहरुमा असन्तुष्टी देखिएको हो ।

तीन महिनासम्म जिम्मेवार विहीन भएकी डा पुष्पा चौधरीले पछिल्लो पटक उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवबाट पुन जिम्मेवारी प्राप्त गरेकी छन् । डा चौधरीले जिम्मेवारी पाउँदै गर्दा स्वास्थ्य सचिवकै रुपमा प्रधानमन्त्री कार्यालयबाट सरुवा भई आएका अर्का सचिव केदारबहादुर अधिकारीको कतिपय जिम्मेवारी कटौतीमा परेको छ ।

एउटा दरबन्दी भएको स्वास्थ्य मन्त्रालयमा मन्त्री यादवले सचिव डा चौधरीलाई स्वास्थ्य तर्फको जिम्मेवारी र अर्का सचिव अधिकारीलाई जनसंख्या तर्फको जिम्मेवारी दिएका छन् ।

‘पहिले डा पुष्पालाई पेन्डुलम बनाइयो । अब अधिकारीलाई पेन्डुलम बनाउने तरखर गरिदैछ । मन्त्रीहरुले दुई सचिवबीच खेल्ने र बार्गेनिग गर्ने अवस्था आएको छ । यसले स्वास्थ्यका तमाम समस्या र असन्तुष्टीलाई सुल्झाउने होइन कि बल्झाउन मद्धत गर्दछ । यस्तो अवस्थामा रहेका नेतृत्वले कसरी गुनासो सुन्लान र बार्ता गर्लान ?’ स्वास्थ्यका एक पूर्व सचिवले भने ।

सहसचिव र उपसचिवहरुको पनि अवस्था उस्तै

स्थिर सरकार भएपछि ढुक्क काम गर्न पाइन्छ भन्ने आशामा रहेका कर्मचारीहरुले अहिले पनि उस्तै अन्योलमा देखिन्छन् । तीन चार महिनाको अन्तरालमा मन्त्रालयका महत्वपूर्ण स्थानमा रहेका कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ र अहिले पनि हेरफेरको तयारी भईरहेको बताइएको छ ।

‘अब त ढुक्क भयो भने अर्को आएर खेलिदिन्छ । अनि सधै तनाव,’ मन्त्रालयका एक सहसचिवले भने, ‘दुई महिना अघि माहोल अर्कै थियो । अव फेरी माहोल फेरिएको छ । अब फेरी जुनसुकै अवस्थामा सरुवा हुन सक्छ । ढुक्क भएर काम गर्ने अवस्था कहिल्यै भएन । अनि तल्ला तहका कर्मचारीका माग कसरी पुरा गर्ने तर्फ लाग्ने ?’ उनले भने ।

विभाग तर्फ पनि उस्तै
स्वास्थ्य मन्त्रालयका अधिकारीहरु मात्रै होईन स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरु पनि ढुक्कसंग काम गर्न सकिरहेका छैनन् । ‘विभागका महानिर्देशक डा गुणराज लोहनीको पनि मन्त्रीहरुसंग राम्रो भइरहेको पाइदैन । त्यसैले उनी पनि अस्थिर मन लिएरै काम गरेका होलान,’  ती अधिकारीले भने ।

हुनपनि सरुवाका विषयमा डा लोहनी र राज्यमन्त्री डा सुरेन्द्र यादवबीच पटक पटक असझदारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । समायोजन अध्यादेश आइसकेपछि पनि मन्त्रीहरुले आफ्ना कार्यकर्तालाई जबरजस्ती सरुवा गर्न विभागमा दवाव दिदा सम्वन्धमा खलल उत्पन्न भएको बताइएको छ ।

यस्तै अस्थिर मन आयुर्वेद विभाग, औषधि व्यवस्था विभागका अधिकारीहरु पनि छन् । ‘जे भनेपनि हस भन्नुको विकल्प छैन् । नत्र त के हो के हो ?’ मन्त्रालयका एक सहसचिवले भने ।

संघीयता कार्यान्वनयमा जटिलता
स्वास्थ्यका संरचना, दरबन्दी संरचना, कर्मचारीको अधिकार तथा समायोजन सम्वन्धी व्यवस्था पटक पटक फेरिइसके । तर स्वास्थ्यकर्मीहरु सन्तुष्ट हुन सकिरहेका छैनन् ।

अहिले स्वास्थ्य चौकी देखि केन्द्रीय अस्पतालसम्मका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्य संस्था छाडेर राजधानी भित्रनेकाम भइरहेको छ । तर त्यसलाई सम्वोधन गर्ने कुरामा मन्त्रालय आफै अन्योलमा परेको देखिन्छ ।

‘मन्त्रीहरुलाई खासै चासो देखिदैन । सचिवहरु आफ्नै तनावमा, सहसचिवहरु सरुवा हुने हो कि भन्ने डरमा यस्तो अवस्थामा स्थायी समाधान कसरी होला ?’ सेवा निवृत्त स्वास्थ्यका एक अधिकारीले बताए ।

यता स्वास्थ्यकर्मीहरुले आफ्ना माग सम्वोधन नगरे सेवा बहिस्कार मात्रै होइन सामुहिक राजिनामा समेत दिने चेतावनी दिइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *