सुर्तीबाट उठेको राजश्व : ‘पापको धनबाट पून्य गरे जस्तो’ – पूर्व प्रधानन्यायधिस श्रेष्ठ

काठमाडौँ, १ मंसिर । पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले कानुनको निर्माण देखाउनका लागि नभई कार्यान्वयनका लागि गरिने भन्दै त्यसतर्फ राज्यका निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले बनाइएको कानुनले जनतालाई सुख र खुशी प्रदान भएको छ कि छैनन भन्नेमा समेत ख्याल गर्न समेत जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एक्सन नेपाल नामक संस्थाद्धारा शनिबार राजधानीमा आयोजित सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको प्रभावकारी कार्यान्वयनको लागि बहुपक्षिय पैरबी बैठकमा बोल्दै प्रधानन्यायधिस श्रेष्ठले जनतालाई खुशी दिने कानुन कार्यान्वयन ढिलाई गर्न नहुने बताए ।

‘अहिले पनि सुनेको छु । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन सर्बोच्चमा दायर रिट देखाउदै कार्यान्वनयमा आएको छैन् । तर कुरा त्यसो होइन । यो आम जनताको स्वास्थ्य संग जोडिएको विषय हो र अन्तरिम आदेश समेत नभएको रिटलाई देखाएर कार्यान्वनयमा नजानु नै आश्चर्यको विषय हो,’ उनले भने ।

राज्यले कुनै पनि नराम्रो कुरालाई प्रश्रय दिएर त्यसबाट आर्थिक लाभ उठाउन नहुने तर्क दिदै उनले भने ‘सुर्तिजन्य पदार्थबाट राज्यले कर उठाएको छ र आर्थिक लाभ गरेको छ भन्नु पापको धन उठाएर पुन्य गर्नु दिनु बरावर हो ।’

उनले अगाडी थपे ‘हजारौँ मानिसको मृत्यु गराउने बस्तुको पक्षमा न सरकार लाग्न सक्छ, न त न्यायलय नै लाग्छ ।’

पूर्व प्रधानन्यायाधिस श्रेष्ठले सुर्ती उद्योगहरुले कानुन कार्यन्वयन नगर्न राजनीतिक तहदेखी विभिन्न तह सम्म प्रभाव पार्ने गरेको बताए । सुर्तिजन्य पदार्थ सम्बन्धी कानुन कार्यन्वयन तत्काल बाधा उत्पन्न गराउनकै लागि सुर्ती उद्योगीहरु अदालतमा एक पछि अर्को मुद्धा हालेर पेसी लम्ब्याउने खेलमा लागेको दावि गरे ।

उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ९ ले सुर्तीजन्य पदार्थको प्याकेटमा राखिने चित्र जति पनि बढाउन सकिने व्यवस्था गरेको भन्दै यसमा राज्यका संयन्त्रहरु अल्मलिनु नपर्ने तर्क गरे ।

‘रिट परेको छ, हेर्दा हेर्दै छ वा अरु के छ भनेर तपाईँहरु अल्मलिनु पर्दैन । किनभने रिटमा अन्तरिम आदेश खारेज भइसकेको छ । त्यसैले भोलिबाट नै कार्यान्वनयमा जान बाधा पुग्दैन । ७५ प्रतिशतबाट ९० प्रतिशत पुर¥याउने निर्णय समेत ऐनको दफा ९ टेकेर भएको छ । अल्मलिने खेलामा नलाग्नुस् ,’ उनले भने ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद खगराज अधिकारीले प्रत्येक वर्ष २५ हजार भन्दा बढी नेपाली जनता मार्ने सुर्ती उद्योग नचाहिने जिकीर गरे । उनले भएको कानुनलाई कडाईका साथ लागु गर्नुको विकल्प नभएको बताए । उनले थप कानुन बनाउनुपर्ने भए आफु त्यसको नेतृत्व लिन तयार भएको बताए ।

‘एउटा नागरिक विष सेवन गर्दैछ भने त्यसलाई बचाउने काम सबैको हुन्छ । त्यसका लागि हामीले युवा तथा किशोर किशोरीहरुलाई यसको कुलतमा जाने बाताबरणबाट जोगाउनु पर्छ ।’

उनले ढिलो चाँडो नेपालका सुर्ती उद्योग बन्द गराएरै छाडने दावी गरे ।

राष्ट्रिय सभा प्रत्यारोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति एवं सांसद रामनारायण विडारीले जनताको स्वास्थ्य भन्दा ठूलो कुरा राज्यले उठाउने कर नहुने भन्दै जुनसुकै अवस्थामा सुर्तीजन्य पदार्थको नियन्त्रण जरुरी रहेको बताए । उनले अहिले पनि कानून कार्यान्वयन गर्न कुनै बाधा नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई कार्यान्वनय गर्न निर्देशन दिए । उनले भने, ‘तपाईँहरु भोलिबाटै कार्यान्वनयमा जानुस अप्टेरो परयो भने हामीलाई भन्नुस । सिंगो संसद साथ दिन तयार छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा सुशीलनाथ प्याकुरेलले नसर्ने रोग बढेको अवस्थामा त्यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नुको विकल्प नभएको भन्दै बनेको कानुन कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्न सधै प्रतिवद्ध रहेको जिकीर गरे ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्ड र कानुन विपरित कुनै पनि बस्तुको बेच विखन गर्न नपाइने भन्दै मापदण्ड नमानेका सुर्तीजन्य उद्योगहरुलाई कारवाहीको दायरामा ल्याउने आश्वासन दिए ।

महानगरीय प्रहरी परिसर टेकुका बरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले कुलतमा लाग्ने पहिलो खुडकिलो सुर्तीजन्य पदार्थको सेवन हो भन्दै यसलाई नियन्त्रण गर्न प्रहरी लागि पर्ने बताए । उनले सरोकारवाला निकायसंग हातेमालो गर्न प्रहरी सधै तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बराल र मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले सुर्तीजन्य पदार्थको कारणले कसरी क्यान्सर र मुटुजन्य समस्या बढीरहेको छ भन्नेमा प्रस्तुति दिएका थिए । डा बरालले क्यान्सरको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न नसकिए भावि पुस्तामा समेत अफ्टेरो पर्ने बताए ।

मुटुरोग विशेषज्ञ डा अनिलले अहिले उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता समस्या युवा तथा किशोरमा समेत बढदै गइरहेको भन्दै त्यसको मुख्य कारक मध्ये एक सुर्तीजन्य पदार्थ भएको बताए । उनले सुर्तीजन्य पदार्थ प्रयोग गर्न नदिन र गरिसकेकालाई समेत छुटाउनका लागि जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिवत्रय महेन्द्रप्रसाद श्रेष्ठ, डा रमेश खरेल र डा राजेन्द्र पन्तले सुर्तीजन्य पदार्थ नियन्त्रण किन आवश्यक छ भन्ने विषयमा बोलेका थिए । विश्वमा बार्षिक ७० लाख बढी मानिसको मृत्यु गराउने सुर्तीजन्य पदार्थको प्रयोग न्युनिकरणका संसारका राष्ट्रहरुले कडा नियम बनाई प्रयास गरिरहेको भन्दै उनीहरुले नेपालले बनाईसकेको कानुनको कार्यान्वनय हुन नसक्नु लाजको विषय भएको बताए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्ती नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानुन बनाएर पनि नेपालले कार्यान्वनयमा आलटाल गरिरहँदा विश्व सामु देशको शीर निहुरिएको बताए । उनले कार्यान्वनय गर्ने निकायले सर्बोच्च अदालतमा परेको रिट देखाउने र अदालतले पेशी लम्व्याउदै जाने मिलीमतो त होइन भन्दै प्रश्न गरे ।

बार्षिक २५ हजार बढी जनताको ज्यान जाने, अर्बौ खर्बौ नोक्सान हुने, समाज विगार्ने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । उनले साढे तीन बर्ष अघि नै कार्यान्वयनमा आउनुपर्ने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र सम्वन्धी व्यवस्था लागू गर्न किन ढिलाई भन्दै तत्काल कार्यान्वनयमा ल्याउन माग गरे ।

कार्यक्रममा अधिवक्ता रामचन्द्र शर्माले सर्बोच्चमा दायर रिटको बारेमा बोलेका थिए । यस्तै स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग र त्यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे आफ्नो प्रस्तुति राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *