नब्बे प्रतिशतलाई देखिने ‘प्रकार-दुई’ मधुमेह के हो ? कसरी जोगिने ?

डा. प्रिया दर्शनी योन्जन (मधुमेह रोग विशेषज्ञ)

मधुमेह भनेको के हो ?
मधुमेह (डायविटिज) भनेको एक प्रकारको दीर्घ रोग हो । यो रोग लागेको व्यक्तिहरुको रगतमा चिनीको मात्रा चाहिने भन्दा बढी हुन्छ । यसको उपचार लामो समयसम्म भएन भने यसबाट जटिलता आउने डर हुन्छ ।

विश्वव्यापी तथ्यांक हेर्दा अहिले संसारभर ४२ करोड मानिसलाई मधुमेह रोग भएको अनुमान छ । र, यहि अवस्था रहेमा सन् २०३० सम्ममा बढेर ६० करोड मानिस यसको संक्रमणमा फस्ने भविस्यवाणी गरिएको छ ।

नेपालको सन्दर्भमा इन्टरनेशनल डायविटिज फेडरेसनले करीब ४ प्रतिशत जनसंख्या मधुमेहको संक्रमणमा रहेको अनुमान गरेको छ ।

मधुमेह कति प्रकारको हुन्छ ?
मधुमेह मुख्य त चार प्रकारको हुन्छ । तर हामीकहाँ बढीमात्रामा देखिने प्रकार दुई मधुमेह हो । मधुमेहका विरामीमध्ये करीब ९० प्रतिशतमा प्रकार दुई अर्थात ‘टाइप – २’ मधुमेह देखिएको हुन्छ । टाइप – १ मधुमेह भनेको १० प्रतिशत भन्दा कमलाई देखिने हो । यस्तै गर्भवती अवस्थामा पनि मधुमेह देखिन सक्छ । यसलाई ‘जेष्टेश्नल डायविटिज’ भन्दछौँ । अरु प्रकारको मधुमेह पनि हुन्छ । जो चाहि अरु रोग र हर्मोनल गडबडीका कारण हुन्छ । अथवा प्यांक्रियाज ग्रन्थीमा समस्या भएर वा अरु किसिमको समस्याले गर्दा पनि हुन्छ ।

बढी देखिने भनिएको ‘प्रकार – २’ मधुमेह के कारणले हुन्छ ?
प्रकार २ मधुमेह दुई कारणले हुन्छ । एउटा कारण चाही सुगरलाई नियन्त्रण गर्ने हर्मोन जो इन्सुलिन भन्दछौँ त्यसले राम्ररी काम गर्दैन । त्यसलाई हामी इन्सुलिन रेसिस्टेन्स भन्दछौँ । भन्नाले कोषिकाहरुले जसरी इन्सुलिन हर्मोन लिनुपर्छ त्यसरी लिदैन । त्यो भयो भने रगतमा सुगरको मात्रा बढछ । दोस्रो कारण चाहि इन्सुलिनको मात्रा नै कम हुँदै जान्छ । जसरी इन्सुलिन बन्नु पर्ने हो त्यसरी बन्दैन । सेक्रेशनमै कम हुन्छ ।

सुरु देखिनै इन्सुलिन चलाउनुपर्ने भनेको ‘प्रकार १’ मधुमेहमा हो । किनभने यस प्रकारको मधुमेहमा शरीरमा इन्सुलिन नै बन्दैन । बाहिरबाट शरीरमा पठाउने हो । हरेक दिन इन्सुलिन सुई लगाउनु पर्छ ।

मधुमेहको जोखिम महिला पुरुष वा उमेर अनुसार कम बढी हुन्छ ?
मधुमेह महिला पुरुष दुबैलाई देखिन सक्छ । उमेर बढदै जाँदा मधुमेहको जोखिम बढदै जान्छ । तर अहिले कम उमेरमै पनि यसको संक्रमण देखिन थालेको छ । त्यसैले पहिले पहिले जस्तो मधुमेहलाई बुढ्यौलीमा देखिने रोग भनेर भन्न मिल्दैन । अहिले जुनसुकै उमेरका व्यक्तिमा पनि यो रोग लाग्न सक्छ ।

मधुमेह लाग्न नदिन कसरी सतर्कता अपनाउने ?
मधुमेह हुने अथवा नहुने अवस्था सिर्जना गर्ने जोखिम तत्व अर्थात ‘रिस्क फ्याक्टर’ भन्छौँ हामी । पहिलो ‘रिस्क फ्याक्टर’ भनेको हामी भित्रको जीन हो । यदि परिवारमा बुबा आमालाई वा बाजे बज्यैमा मधुमेह छ भने आफू र सन्तानलाई हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ ।

दोस्रो भनेको तौल अर्थात मोटोपना । यदि तपाईँको तौल बढी छ भने शारीरिक सक्रियता कम छ अर्थात व्यायम कम छ भने पनि मधुमेह हुने खतरा बढेर जान्छ ।

त्यस्तै उच्च रक्तचाप, कोलेस्टोरलको समस्या छ भने पनि मधुमेहको सम्भावना बढी हुन्छ । यस्तै धूमपान सेवनकर्ताहरुमा पनि मधुमेह हुने सम्भावना बढेर जान्छ । यो चाहि विभिन्न रिस्क फ्याक्टरको कुरा भयो ।

तर, त्यो बाहेक मधुमेह जसलाई पनि लाग्न सक्छ । तर रिस्क फ्याक्टर भएको व्यक्तिमा मधुमेहको सम्भावना बढी हुन्छ ।

गर्भवती महिलालाई मधुमेह देखिनुको कारण के हो ?
गर्भवती भएको ६ देखि ७ महिनाको बीचमा विभिन्न हर्मोनल परिवर्तनहरु भएका हुन्छन् । त्यो बेलामा इन्सुलिन भन्ने जो सुगरलाई नियन्त्रण राख्ने हर्मोन हुन्छ, रेसिष्टेन्स भइदिन्छ अर्थात त्यसले राम्ररी काम गर्दैन । त्यसबेला डायविटिज अर्थात मधुमेह हुने खतरा बढेर जान्छ । र गर्भवती महिलामा यसको जोखिम बढेर जान्छ ।

मधुमेहको लक्षणहरु के के हुन ?
हामी आज प्रकार दुई अर्थात ‘टाइप – २’ मधुमेहमा केन्द्रीत रहेरै कुरा गरिरहेका छौँ । अव लक्षणको कुरा गर्दा करीब ५० प्रतिशत मधुमेह रोग लक्षणविना नै देखा पर्दछ । त्यो परीक्षण गर्दा एक्कासी देखा पर्दछ ।

बाँकी ५० प्रतिशतमा देखिने लक्षण भनेको सुगर बढी भएर पिसाव बढी लाग्ने, तिर्खा लाग्ने, तौल घटदै जाने, घाउ निको हुन समय लाग्ने, खुट्टा झमझमाउने पोल्ने, बढी मात्रामा थकाई लाग्ने, चक्कर लाग्ने यस्तो खालको लक्षणहरु देखा पर्दछ ।

आज विश्व मधुमेह दिवस यसपटकको नारा ‘फ्यामेली एण्ड डायविटिज’ भन्ने रहेको छ, यसले दिन खोजेको सन्देश के हो ?
हरेक बर्ष १४ नोभेम्वरमा संसारभरी नै विश्व मधुमेह दिवस भनेर मनाइने गरिन्छ । यसरी दिवस मनाउनुको कारण संसारभर नै यसको जनचेतना बढाउन नै हो । यसपटक दिवसको नारा ‘फ्यामेली एण्ड डायविटिज’ अर्थात परिवार र मधुमेह भन्ने छ । मधुमेहीलाई परिवारले कसरी हेरचाह गर्छ । घर परिवारको सदस्य र मधुमेहीबीचको सम्वन्ध कस्तो हुनुपर्छ भन्ने ‘थिम’ बोकेको हुनुपर्छ । किनभने मधुमेह रोग लागेका व्यक्तिका लागि परिवारको सदस्यको रोल सकारात्मक हुनु आवश्यक छ ।

किनभने यो रोग एक पटक लागेपछि निर्मुल हुन सक्दैन तर नियन्त्रणमा भने ल्याउन सकिन्छ । अब कुनै रोग लिएर जीवन भर बाँच्न त निकै गाह्रो कुरा हो । यो कुरा अरु परिवारको सदस्यले बुझ्नु परयो । विरामी बुझ्नका लागि सर्वप्रथम मधुमेहकै बारेमा जान्नु परयो । यस सम्वन्धी भ्रमबाट मुक्त हुनुपरयो ।

यसबारे कसरी जानकारी लिने भन्दा विरामी डाक्टरकोमा ‘फलोअप’मा जाँदा परिवारको सदस्य पनि संगै जानुपरयो र बुझ्नु परयो । स्वास्थ्यकर्मीसंग सोध्नु परयो वा इन्टरनेटबाट हेर्न पनि सकियो ।

र, यो जीवन शैलीले ल्याएको रोग भएकोले त्यो पनि परिवर्तन गर्नुपरयो । त्यसका लागि परिवारको सदस्यले पनि मद्धत गर्नुपरयो । खानपानमा अरु व्यवहारमा पनि विरामीमैत्री व्यवहार देखाउनुपरयो । मिठाई खानु मन छ भने त्यो मधुमेहको विरामी भएको अगाडी गएर नखाने । आफू पनि सक्रिय जीवन शैली अपनाउने ।

मधुमेहका विरामीले के के कुरा खान हुन्छ के के हुँदैन ?
पहिले पहिले मधुमेहका विरामीको खानपानमा निकै कडा नियम थियो । यो भन्दा बढी भात खानु हुँदेन भन्ने डाइट प्लान थियो भने अहिले त्यस्तो छैन । गुलियो चिल्लो त खानु भएन । गुलियो भन्नाले चिनिजन्य पदार्थ जस्तै मह, चिनी, बजारमा पाइने जुस, कोक फेन्टा, मिठाईहरु खान भएन तर गुलियोमा फलफुल खान मिल्छ ।

फलफुल सबै खालको खान मिल्छ । कहिले खान मन छ भने थोरै मात्रामा मिठाई, कहिले कहिले एक पिस केक खाँदैमा पनि फरक पर्दैन । तर सुगर लेभल हेरेर । तर डेली ह्याविट चाँही गर्नु भएन । मासुमा चिल्लोको मात्रा कम गर्नुपर्छ । जनावर चिल्लो कम गर्नुपर्छ । घ्यू, दुधको तर, क्रिम नखाएको जाती । मासुमा रातो मासु नखाएको बेस, मासु खानै परे सेतो मासु कुखुरा तथा माछा खाएमा बेस ।

ड्रिंक (मध्यपान) नलिएको राम्रो । सूर्तिजन्य पदार्थ छोड्नु परयो ।

हाम्रो रगतमा सुगरको मात्रा कति भए ठिक कति भए खतरा ?
सुगर छ कि छैन भनेर जाँच गर्नका लागि तपाईँले नर्मल खाली पेटको सुगरबाट पनि थाह हुन्छ । खाना पछिको सुगरबाट पनि थाह हुन्छ । तीन महिनाको सुगर जाँच गरिन्छ । एचबीएनवानसी भन्ने । त्यसबाट पनि थाह हुन्छ ।

खाली पेटको सुगर साधारणतया १०० मुनिलाई हामी सामान्य मान्छौँ । १०० देखि १२५ आयो भने बढ्न थाल्यो अर्थात प्रि डायविटिज भन्छौँ । १२६ नाघे पछि डायविटिज भयो है भन्ने गर्दछौँ ।

खानापछिको सुगरमा १४० देखि १९९ प्रि डायविटिज हो । २०० कट्यो भने मधुमेह देखियो भन्दा हुन्छ ।  तर १२६ र २०० पुग्दैमा एउटै रेकडिङमा हामीले औषधि शुरु गरि हाल्दैनौँ । डायविटिजको विशेष परीक्षण गरेरमात्रै औषधि चलाउँछौँ । बाटै औषधि लिने गरेको पाइएको छ । तर अरु रोगले पनि सताएको छ भने अवस्था हेरेर निर्णय लिइन्छ ।

# काठमाडौँ डायबिटिज एण्ड थायरायड सेन्टर लगनखेलमा कार्यरत मधुमेहरोग विशेषज्ञ डा. योन्जनसंग गरिएको कुराकानीमा आधारित

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *