मानसिक स्वास्थ्य सम्वन्धी उपचारमा सस्कृति र अध्यात्म मिसाउन जोड
काठमाडौँ, १२ कात्तिक । धर्म संस्कृति र अध्यात्मसंग जोडेर गरिने उपचार मानसिक स्वास्थ्यसंग सम्वन्धित विरामीका लागि प्रभावकारी हुने विज्ञहरुले बताएका छन् । उनीहरुले यस्ता विरामीको उपचारका लागि ‘हिस्ट्री’ लिदै गर्दा उसको बानी व्यवहार, धर्म संस्कृति र अध्यात्मलाई समेत जोडेर लिन मानसिक रोगको उपचारमा खटिने चिकित्सकहरुलाई सल्लाह दिएका छन् ।
राजधानीमा आज देखि शुरु भएको दुई दिने अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनमा बोल्ने बक्ताहरुले मानसिक स्वास्थ्यको उपचारमा धर्म संस्कति र अध्यात्मले सकारात्मक प्रभाव पार्ने दावि गरे । ‘ त्यसका बारेमा हामी कहाँ अनुसन्धान त भईसकेको छैन । तर हाम्रो अनुभवले धर्म, संस्कृति र अध्यात्ममा विश्वास गर्ने व्यक्तिहरुलाई सोही अनुसार उपचार गर्दा छिटो प्रभाव पर्ने देखिएको छ,’ आयोजक मध्येका एक त्रिवि आइओएम डिपार्टमेन्ट अफ साइक्याट्रिका प्रमुख प्राडा सरोज ओझाले बताए ।
उनले जप, ध्यान, योगा लगायतका सस्कृति र अध्यात्म मात्रै कतिपय विरामीलाई पुजाआजाहरुमा समेत रमाउने गरेको र त्यसको प्रभाव तिब्र रुपमा देखिने गरेको बताए । ‘त्यसैले अबको उपचारपद्धती संस्कृति र अध्यात्मसंग जोडेर लैजानुपर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै आइओएमका डीन प्राडा जगदीशप्रसाद अग्रवालले पहिलेको जमानामा हरेक उपचार अध्यात्म र धर्मसंस्कृतिसंग जोडिएको हुन्थ्यो भन्दै त्यसमा केही रहस्य भएको बताए । उनले हिन्दुहरुको ग्रन्थ वेदमा उल्लेखित कुराहरु अहिले पनि उत्तिकै प्रभावकारी रहेको भन्दै त्यसमा भएका महत्वपूर्ण शव्दको सहि अर्थ लगाई व्यवहारिक बन्नु अहिलेको आवश्यकता रहेको बताए ।
कार्यक्रममा चाइल्ड साइक्र्याटिक्स डा अरुणराज कुवरले मानसिक स्वास्थ्य र संस्कृतिलाई जोडेर आफूले धेरै विरामीको सहज ढंगले उपचार गरिरहेको बताए ।
त्रिवि आइओएमको डिमाटमेन्ट अफ साइक्याट्रिक, युनिभर्सिटी अफ ओस्लो नर्वे, र म्याक्गिल युनिभर्सिटी क्यानडाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल, नर्वे र क्यानडा सहित, अमेरिका, टर्की, इन्डोनेसिया, भारत लगायतका देशका गरी ८० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ । उनीहरुले सो कार्यक्रममा आफ्ना देशमा रहेको मेन्टल हेल्थ समस्या समाधान गरेका र गर्न खोजेका प्रयासका बारेमा प्रस्तुति दिनेछन् ।
‘कल्चर, स्प्रीच्युयल एण्ड मेन्टल हेल्थ’ नाम दिइएको सो सम्मेलन भोलि समापन हुनेछ । सम्मेलनको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारका करीब १ अर्व २० करोड मानिसहरु मानसिक स्वास्थ्य समस्यासंग जुधिरहेका छन् । हरेक ४० सेकेण्डमा हुने आत्महत्याको मुख्य कारण पनि मानसिक स्वास्थ्य समस्या नै बताइएको छ । नेपालमा कुनै अध्ययन् नभएपनि कुल जनसंख्याको करीब २० प्रतिशत मानसिक स्वास्थ्य समस्यामा फसेको अनुमान छ ।
सम्पर्क इमेल : [email protected]