केन्द्रीय अस्पतालमा मेडिकल अधिकृत : दरबन्दी ११ जना, डिउटीमा हुने एक जना मात्रै

904
Shares

काठमाडौँ, १ असोज । सरकारी रेकर्डमा प्राय सबै स्थानमा चिकित्सकको पदपूर्ति भएको देखिन्छ । तर यथार्तमा भने त्यस्तो हुँदैन् । केन्द्रीय अस्पतालको दर्जा पाएको टेकुस्थित सहिद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा अहिले देखिएको अवस्थाले नै सो कुराको पुष्ठि गरेको छ ।

एक सय बेडको सो अस्पतालमा ११ जना मेडिकल अधिकृतको दरबन्दी छ । अबको केही साता पछि सो अस्पतालमा काम गर्ने सरकारीस्तरका एक जना मात्रै मेडिकल अधिकृत बाँकी रहने देखिएको छ ।

अस्पताल प्रशासक रुपनारायण खतिवडाका अनुसार ११ वटा मेडिकल अधिकृतको दरबन्दी मध्ये ७ जनाको मात्रै पदपूर्ति भएको थियो । त्यसमध्ये ४ जना अध्ययन विदामा रहेका छन् । बाँकी ३ मध्ये २ जना पनि अध्ययन विदाको तयारी अवस्थामा छन् ।

‘उनीहरु पनि पोष्ट ग्राजुएट्सको लागि नाम निकालिसकेका छन् । अध्ययन विदाको प्रक्रिया शुरु भईसकेको छ । उता कक्षा सुरु भएपछि यता आउँदैनन् । त्यसैले एघार मध्ये एक जना मात्रै मेडिकल अधिकृत रहने अवस्था छ,’ खतिवडाले भने ।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले अध्ययन विदामा गएकाको ठाँउमा अर्को व्यक्ति ल्याउन पनि नमिल्ने, सरुवा नै गर्नुपर्ने, यसले समस्या भएको छ । उनले अध्ययन विदामा जानेहरुको पुल दरबन्दी सिर्जना गरी रिक्त भएका ठाँउमा नयाँ डाक्टर पठाउने व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।

सो अस्पतालमा ५ विशेषज्ञ दरबन्दी रहेकोमा २ वटा खाली छ । यस्तै नर्सहरु पनि ५ जनाको दरबन्दी खाली छ ।

छात्रबृत्तिका चिकित्सकले काम धान्दै
सरकारी चिकित्सक अध्ययन विदामा र काज विदामा हिडेपछि शुक्रराज अस्पतालको रिक्त दरबन्दीलाई छात्रबृत्तिका चिकित्सकले धानेका छन् । एमबीबीएस पास गरेपछि गर्नुपर्ने दुई बर्षे करार अन्तरगर्त ६ जना छात्रबृत्तिका चिकित्सकले टेकु अस्पतालमा काम गरिरहेका छन् ।

सरुवा तथा संक्रामक रोगको सेवा दिने भनेर चिनिएको यो केन्द्रीय अस्पतालमा महामारी फैलिएर ठूलो संख्यामा विरामी भर्नाहुने अवस्था आयो भने समस्या पर्न सक्ने देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *