बेनी अस्पतालमा चिकित्सक अभाव
म्याग्दी, २७ भदौ । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ ।
प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उनको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउछन्।
हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन । अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ । निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ । नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए ।
“दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।” आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन । उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिलाइ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्ले घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माधव सुवेदीका परिवारले अस्पताललाई रु २० लाखभन्दा बढी मूल्य पर्ने दुई थान डायलाइसिस उपकरण उपलब्ध गराएका छन् ।
जनशक्तिको व्यवस्था र उनीहरूलाई तालीमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योलता भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए। तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ । हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन् । दुई मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् । हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । रेडियोलोजिष्टको अत्तोपत्तो छैन । रासस
सम्पर्क इमेल : [email protected]