कर्कट पाताले ‘झण्डै छिनिएको’ हात साढे ४ घण्टाको शल्यक्रिया पछि जोडियो

4.5k
Shares

काठमाडौँ, ८ भदौँ । घर बनाउने क्रममा माथिबाट खसेको टिन (कर्कटपाता)ले लागेर झण्डै दुई टुक्रा भएको एक मजदुरको हात जोडिएको छ ।

सुर्खेत क्षेत्रीय अस्पतालका चिकित्सकहरुले साढे चार घण्टा लामो शल्यक्रिया गरी हात जोडिदिएका हुन् । उनीहरुले यति जटिल शल्यक्रिया कर्णाली प्रदेशमै पहिलो पटक भएको दावी गरेका छन् ।

घटना गत ३१ साउनको हो ।  सुर्खेत बजारमा घर बनाउने काम गर्दै आएका बर्दियाका रमेश थारु (२६) मध्यान्न १२ बजे अकल्पनिय दुर्घटनामा परे । घर छाउने टिन व्यवस्थापन गर्न एक तलामाथि चडेका उनी एक्कासी भुईमा खसे । उनीसंगै आएको टिनको धार उनको दाईने हातको कुईनो माथि पट्टी परयो । जोडले खसेको टिनको धारले भुईमा लडेका रमेशको हात करीब करीब छिनाल्यो ।

उनका सहयोगीले तत्काल नसिकैको नर्सिङ होममा पठाए । तर ह्वालह्वाली बगेको रगत देखेका नर्सिङ होमका प्यारामेडिक्स विष्णु भट्टराईले तत्कालै सुर्खेत अस्पताल रिफर गरे ।

सुर्खेत क्षेत्रीय अस्पतालमा कार्यरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक एवं अर्थोपेडिक सर्जन डा मंगल रावल भन्छन्, ‘दिउसो १२ बजे मलाई फोन आयो । एकै छिनमा चोटग्रस्त व्यक्तिलाई पनि आकस्मिक कक्षमा ल्याइपुरयाए । उनको हातका सबै नसा छिनेको थियो । पछाडीका हड्डी र सानो मासुको चौटेले हात टुक्रा हुनबाट जोगाएको थियो ।’

डा. रावलका अनुसार रमेशको एउटा धमनी दुईवटा सिरा, चारवटा नसा सबै काटिएको थियो । रगत बहने सबै बाटो छिनिएपछि शरीरको रगत सबैजसो बाहिरिएको थियो ।

शरीरबाट सबै जसो रगत बाहिरिएकाले अस्पताल पुरयाउँदा सम्म उनको शरीर कागज जस्तै सेतो भइसकेको थियो । ‘उनी विहोस भएका थिए । तर घटना भएको एक घण्टा भित्रै हाम्रो टिमले अप्रेशन शुरु गरयौँ । साढे चार घण्टा लामो अप्रेशनमा काटिएका सबै नसा र छित्रिएका मासु जोडन सफल भयौँ अर्थात भास्कुलर रिपियर सक्सेस भयो ,’ डा. रावलले भने ।

सो अप्रेशनमा सुर्खेत क्षेत्रीय अस्पतालका चिफ कन्सलटेन्ट सर्जन डा. हरि सापकोटा सहित डा. रावल, डा. हरिहर देवकोटा, डा. रमेश भट्टराईको टोली खटिएको थियो । डा. रावल, डा. देवकोटा र डा. भट्टराई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेरस हुन भने अहिले सुर्खेत क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा दिन खटिएका छन् ।

डा. रावलले त्यस्तो जटिल अप्रेशन सुर्खेत क्षेत्रीय अस्पतालमा मात्रै होइन कर्णाली प्रदेशकै पहिलो भएको दावी गरे । उनले भने, ‘काठमाडौँ, चितवन, पोखरा तिर यस्ता शल्यक्रिया भएका छन् । तर सुर्खेत र कर्णाली प्रदेशमा यो खालको शल्यक्रिया भएको थिएन ।’

उनले अप्रेशन पछि दुई दिन आइसियूमा राख्दा रमेश ७ पिन्ट रगत चडाएको बताए । आज आठ दिन भयो, ड्रेसिङ चल्दै छ घाउ सुधार हुँदैछ । त्यो दिन त्यहाँ उपचार नभई नेपालगञ्ज लैजानुपरेको भए रगत बहेरै उनको मृत्यु हुने निश्चित जस्तै भएको रावलले बताए ।

उनले विज्ञ चिकित्सकको स्थानीय तहमा उपस्थिति रहेकै कारण एक जनाको ज्यान जानबाट जोगिएको भन्दै प्रशन्नता व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *