स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न २० जनाबीच प्रतिस्पर्धा
काठमाडौँ, ८ भदौ । रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न २० जनाले दरखास्त हालेका छन् । दरखास्त हाल्नेमा कतिपय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी छन् भने कतिपय त्यसभन्दा बाहिरका छन् ।
चार बर्षे कार्यकालका लागि खुल्ला प्रतिस्पर्धाबाट बोर्डको कार्यकारी निर्देशक छनौट गर्न मन्त्रालयले गत २८ साउनमा सूचना प्रकाशित गर्दै इच्छुक र योग्यता पुगेका व्यक्तिहरुसमक्ष दरखास्त आवहान गरेको थियो । दरखास्तका लागि त्यसबेला दिइएको एक साताको अवधीमा २० जनाले दरखास्त हालेका थिए ।
‘अब तिनैमध्येबाट उत्कृष्ठ तीन जनाको नाम छनौट गरी मन्त्रिपरिषद्मा पठाइन्छ र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गर्दछ,’ स्वास्थ्य सचिव एवं नाम सिफारिस समितिका सदस्य सचिव डा. पुष्पा चौधरीले बताइन । उनले सिफारिस समितिको पहिलो बैठक आज बस्न लागेको समेत जानकारी दिइन ।
बोर्डको निर्देशकको सेवा सुविधा सम्वन्धमा नियमावली तयार नभईसकेकोले नियुक्ति कार्य केही दिन लम्विन सक्ने समेत उनले संकेत गरिन ।
सिफारिस समितिमा को को छन् ?
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि नाम सिफारिस गर्न तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा २२ अनुसार समिति बनेको हो ।
सो दफा अनुसार संयोजकमा लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोग सदस्य संयोजक , अर्थशास्त्र, व्यवस्थापन, वित्त कानून, स्वास्थय अर्थशास्त्र तथा बीमा विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा सात बर्षको अनुभव प्राप्त व्यक्तिहरु मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना सदस्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सदस्य सचिव हुने प्रावधान छ ।
सोही अनुसार स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विज्ञ समूहबाट कानुनविद् बीरेन्द्रकुमार यादवलाई सिफारिस समितिको सदस्य नियुक्त गरिसकेका छन् । संयोजक भने लोक सेवा आयोगको अध्यक्ष वा त्यहाँबाट तोकिएको व्यक्ति हुनेछ ।
बोर्डको निर्देशक बन्न न्युनतम योग्यता के हो ?
क. मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव प्राप्त गरेको ।
ख. दफा १८ को खण्ड क. ग. र घ. बमोजिमको योग्यता पुगेको भनिएको छ । सो अनुसार क. मा नेपाली नागरिक हुनुपर्ने , ग. मा भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्वन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको व्यक्ति भनिएको छ । त्यस्तै घ. मा चार बर्ष देखि निरन्तर स्वास्थ्य बीमा गरेको उल्लेख छ ।
कार्यकारी निर्देशकका लागि ६५ बर्ष ननाघेको व्यक्ति हुुनुपर्नेछ ।
सम्पर्क इमेल : [email protected]