क्यान्सर जितेकाहरु भन्छन्, ‘उपचारको साथसाथै मनोवल उच्च राख्न जरुरी छ’
ललितपुर, २ भदौ । हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा शुक्रबार एक दिने क्यान्सर सर्भाइभरशिप इभेन्ट भएको छ ।नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको उक्त इभेन्टमा क्यान्सर रोगबाट निको भएका ब्यक्तिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।
स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा क्यान्सर बाट निको भएका र क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुका साथमा क्यान्सर रोग विशेषज्ञ डाक्टरहरु, क्यान्सर प्रभावितका परिवार, समाजसेवी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
क्यान्सर रोग लाई जितेका व्यक्तिहरुको अनुभव तथा सुझाव तथा विशेषज्ञ डाक्टरहरुको उचित परामर्शबाट क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुको मनोबल बढाउन, उपचार प्रकियामा सहजता ल्याउन तथा प्रभावितको दैनिकीमा सुधार ल्याउने उद्देश्यले यस इभेन्टको आयोजना गरेको नेपाल क्यान्सर सपोर्ट गु्रपका कोअर्डिनेटर स्वरुपा श्रेष्ठले बताइन । साथै यस इभेन्ट मासिक रुपमा आयोजना गर्ने पनि उनले जानकारी दिइन ।
सो कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुसँग क्यान्सरबाट निको भएका तथा उपचार गराईरहेका व्यक्तिहरुले क्यान्सर सम्बन्धि बिभिन्न विषयमा अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाबाट क्यान्सर सम्बन्धि धेरै खालका भ्रमहरुको अन्त्य भएको प्रभावितहरुले बताएका थिए ।
क्यान्सर धेरै प्रकारका हुने तर नेपालमा क्यान्सर भन्ने बित्तिकै आत्तिने र हतोत्साहित हुने गरेकोले यस बारे ब्यापक जनचेतना फैलाउन आवश्यक रहेको नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्य मन्त्री डा. यादवले नेपालमा कुल जनसंख्याको अनुपातमा अस्पताल तथा बेडसंख्या धेरै कम भएको भन्दै त्यसमा सुधार गर्ने बताए । उनले क्यान्सर प्रभावितहरुलाई राज्यले दिने अनुदान समेत अत्यन्त कम रहेको धारणा राख्दै क्यान्सर लगायतका गम्भिर रोगको उपचारका लागि राज्यले दिने अनुदान रकम बढाउन प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।
नियमित स्वास्थ्य परिक्षण गरे कुनै पनि रोग शुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ र सामान्य औषधि उपचारबाट पनि निको हुन सकिन्छ तर नेपालमा वेवास्ता वा गरिबिका कारण कुनै पनि रोगले सताएपछि मात्र उपचार गर्न जाने अवस्था धेरै छ ।
बिभिन्न गम्भिर रोग मध्य क्यान्सर पनि एक हो तर सुरुमै पत्ता लागे थोरै पैसामा पनि यसको उपचार सहज सँग गर्न सकिन्छ तर जटिल अवस्थामा पुगि सकेपछिआर्थिक भार पनि धेरै पर्ने र निको हुन पनि गाह्रो हुने गर्दछ । तर उच्च मनोबलले क्यान्सरलाई जितेका धेरै उदाहरण हरु समेत छन् जुन यसक्यान्सर सर्भाइभरशिप इभेन्टमा देखियो ।
नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले भदौ २ गते शनिबार ललितपुरको लगनखेलमा पाठेघर तथा स्तन क्यान्सर परिक्षणका लागिनिशुल्क शिविरको पनि आयोजना गर्दै छ । यस शिविरमा सहभागि भइ लाभ लिन बिवाहित तथा अबिवाहित महिलाहरुलाई आग्रह गरिएको छ ।
सम्पर्क इमेल : [email protected]